२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

सरकारलाई रास्वपा महामन्त्रीको प्रश्न : ‘पुनर्निर्माणको गति सुस्त हुँदा बाढीपीडितले कसरी विश्वास गर्ने ?

Nada
२०८३ भदौ २५ गते १५:०४
Shares
सरकारलाई रास्वपा महामन्त्रीको प्रश्न : ‘पुनर्निर्माणको गति सुस्त हुँदा बाढीपीडितले कसरी विश्वास गर्ने ?

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले सिंहदरबार र संघीय संसद्को पुनर्निर्माणमा देखिएको सुस्त गतिप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

ncell

उनले राज्यका प्रमुख संरचनाकै पुनर्निर्माण अपेक्षित गतिमा अघि बढ्न नसकेको अवस्थामा रसुवा र नुवाकोटका बाढी प्रभावित नागरिकले आफ्नो क्षेत्रको पुनर्निर्माणप्रति कसरी भरोसा गर्ने भन्ने प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले निजी क्षेत्रले जेन जेड आन्दोलनका क्रममा क्षति पुगेका व्यापारिक तथा निजी संरचना तुलनात्मक रूपमा तीव्र गतिमा पुन:निर्माण गरिरहेको उल्लेख गरे । महाराजगन्ज र नक्साल हुँदै संसद् आउने क्रममा आफूले निजी क्षेत्रको पुन:उत्थान देख्ने गरेको भन्दै उनले त्यसबाट निजी क्षेत्रको क्षमता र तत्परता देखिएको बताए ।

तर, सिंहदरबार प्रवेश गरेपछि भने आन्दोलनका क्रममा क्षति पुगेका सरकारी संरचना अझै उस्तै अवस्थामा देखिने गरेको उनको भनाइ थियो । गृह मन्त्रालयलगायतका संरचनाको पुनर्निर्माणमा भएको ढिलाइप्रति उनले असन्तुष्टि व्यक्त गरे ।

आचार्यले नयाँ संसद् भवनबाट बजेट अधिवेशन सञ्चालन हुने अपेक्षा गरिए पनि अझै अस्थायी संरचनाबाटै प्रतिनिधिसभाको बैठक सञ्चालन भइरहेको उल्लेख गरे । उनका अनुसार राज्यको प्रशासनिक केन्द्र सिंहदरबार र सार्वभौम संसद्को पुनर्निर्माणमै गति देखिन नसक्नु गम्भीर विषय हो ।

यही अवस्थालाई आधार बनाएर उनले बाढी तथा पहिरोबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकलाई सरकारले पुनर्निर्माण प्रभावकारी रूपमा अघि बढाउँछ भन्ने विश्वास दिलाउन चुनौती रहेको बताए ।

उनले पुनर्निर्माणमा ढिलाइ हुनुका नीतिगत तथा व्यावहारिक कारण पहिचान गर्न सरकारलाई आग्रह गरे। पुनर्निर्माण प्रक्रियामा देखिएका कमजोरी पहिल्याएर कार्यान्वयनको गति बढाउनुपर्नेमा उनले जोड दिए ।

आचार्यले निजी क्षेत्रको पुन:निर्माणमा देखिएको सक्रियता र सरकारी संरचनाको पुनर्निर्माणबीच देखिएको अन्तरले राज्यको पुनर्निर्माण व्यवस्थापनमाथि प्रश्न उठाएको संकेत गर्दै आगामी पुनर्निर्माणका कामलाई प्रभावकारी, तीव्र र परिणाममुखी बनाउनुपर्ने बताएका छन् ।

सम्बन्धित खबर