
नेपाली समाजमा विद्यमान सामाजिक सद्भाव अत्यन्तै बलियो, विश्वासिलो साथै गार्विलोसमेत छ । हामी भूगोलमा सानो छौं, तर हाम्रो भूगोलमा अटाएको जातीय सद्भाव र धार्मिक सांस्कृतिक सद्भावलाई विश्वले सकारात्मक रूपमा नियालिरहेको छ । नेपालको यो विविधताबीच अनेकतामा वर्षौंदेखि एकता छ । यो नै नेपालको मौलिक पहिचान हो भन्न कत्ति पनि हिच्किचाउनुपर्दैन ।
पछिल्ला केही दशकदेखि नेपालले परिवर्तनको गति बढाएको छ । यो जहानियाँ राणा शासनदेखि लोकतान्त्रिक गणतन्त्रको यात्रासम्म अनेकन आरोह÷अवरोह चिर्दै अगाडि बढेको छ । बढको मात्र हैन, आगामी दिन पनि बढी नै रहनेछ । परिवर्तनले विभिन्न अवरोध पनि झेलिरहेको छ । हुन त समस्या हिजो पनि नआएका होइनन् । कहिले धर्मका नाममा त कहिले जातीय विभेदका रूपमा अझै पनि देशका कुनाकाप्चामा कतै न कतै, हाम्रा यी मुद्दाले टाउको उठाउने गरेकै छन् ।
बाह्य शक्तिहरूले पनि बेलाबखतमा हाम्रो समाजको परीक्षा लिइरहेकै छन् । तर, त्यो परीक्षामा पनि नेपाली समाजले देखाएको सद्भाव र सहिष्णुता अलौकिक छ । अस्थिर राजनीतिले पक्कै पनि यसलाई कमजोर बनाएकै हो । राजनीतिका द्रुत खेलाडीहरू कहिलेकाहीँ समुदाय समुदायका बीचमा आफ्नो स्वार्थ पूरा गर्न हिजो पनि खेलेकै हुन् । त्यस्ता तत्त्त्व अहिले पनि सक्रिय रहिरहेकै छन् । तर, पनि हामी नेपालीको सुझबुझपूर्ण व्यवहारका कारण अहिलेसम्म छिटफुटबाहेक असफल हुँदै आएका छन् ।
यसरी हेर्दा हाम्रो स्वाभिमानको आधार भनेकै सामाजिक सद्भाव नै हो । यदि कुनै दिन हामी हाम्रो सामाजिक सद्भावबाट विचलित भयौं भने न यो देश रहला न त नेपाली भनेर हामी छाती फुलाएर दाबी गर्नै सकौंला । पछिल्लो कप्तानगन्ज घटनाले फेरि हाम्रो समाजमा रहेका ती तत्त्त्वलाई सतहमा खडा गर्न खोज्यो । सरकारी लापरबाहीका कारण केही नागरिकले जीवन गुमाउनुप¥यो । यस किसिमका घटना फेरि नदोहोरियून् भन्नका लागि सरकार सचेत रहनुपर्छ । तर विडम्बना, सरकारी सतर्कता पर्याप्त देखिन सकेको छैन ।
यस्ता घटना दोहोरिइरहनु र अवाञ्छित तत्त्वहरूले टाउको उठाउन खोजिरहनुका केही आधारभूमि पक्कै छन् । त्यसमध्ये हाम्रो अस्तित्त्वका केही खम्बा कमजोर बनाइनु पनि एउटा हो । अस्थिर राजनीति, भ्रष्टाचार, बेथिति, अथाहा सम्पत्ति आर्जन, समाजमा जेलिएको नातावाद, कृपावादले पनि यसमा मलजल गरिरहेका छन् । यसैका कारण हो कि हाम्रो विकासको गति पनि मन्द छ । आमनागरिक रोजगारीका लागि विश्व बजारमा भर पर्नुपरेको छ । निराशाको बादलले सिङ्गो मुलुक मडारिएको छ ।
तथापि हामीलाई एक सूत्रमा यदि कसैले बाँधेको छ भने त्यो हो– हाम्रो सामाजिक सद्भाव र सहिष्णुता । यो देश आज यति धेरै संक्रमणबाट गुज्रिरहँदा पनि खासै ठूला दुर्घटना नहुनुको कारण पनि नेपाली समाजमा विद्यमान सद्भाव नै हो । जसप्रति नेपालीमा गर्व छ । हाम्रो फरक भाषा र फरक संस्कृतिप्रति पनि नेपालीमा गर्व छ । एक–अर्काप्रतिको सांस्कृतिक परम्परा र धार्मिक आस्थाप्रति बिस्तारै हुन थालेको बाहिरी प्रहारबाट भने नेपाली समाज चनाखो हुन जरुरी छ ।
खासगरी पछिल्लोपटक सुनसरी, धनुषालगायत ठाउँमा भएका घटनाले यस्ता बाहिरी प्रहारको संकेत गरेका छन् । फेरि पनि नेपाली समाजको सहनशीलता, सहिष्णुता र सद्भावले नेपाल र नेपालीको एकतामा विचलन ल्याउने प्रयास असफल भएको छ । नेपालीबीचको एकता र सद्भाव हिजो थियो, आज छ र भोलि पनि रहनेछ । तथापि हालसाल देखिएका जातीय÷धार्मिक आवरणका घटनाले भने सरकार, नागरिक समाज र सुरक्षा निकायहरू चनाखो बन्नुपर्ने अपरिहार्यता बढेको छ ।
यसरी नेपाली एकताको सूत्रका रूपमा कायम सामाजिक सद्भाव वृद्धिका लागि विभिन्न निकायको आ–आफ्नै विशिष्टखाले भूमिका छ । राजनीतिक दलहरूले आफ्ना कार्यकर्ता, शुभचिन्तक र आमजनतालाई सामाजिक सद्भावको मार्गमा डोहोर्याउन उल्लेखनीय भूमिका निर्वाह गर्न सक्छन् । उनीहरूका राजनीतिक दस्ताबेज, भाषण र गतिविधि यसका लागि सहायक सिद्ध हुन सक्छन् । त्यति मात्र हैन, यसका नेताहरूको शैली, व्यवहार र आचरणले पनि सद्भाव फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ सक्छन् ।
नागरिक समाज सामाजिक सद्भाव वृद्धिका लागि अर्को महत्त्वपूर्ण निकाय हो । यिनीहरूले समाजमा गर्ने गतिविधि, जनतालाई प्रदान गर्ने सूचना, विकृतिविरुद्ध गर्ने खबरदारी र आफ्नै आचरण पनि सद्भाव खल्बल्याउन नदिने अचुक औषधि साबित हुन सक्छन् । नागरिक समाजको सम्पर्क र सम्बन्ध तल्लो तहसम्म छरिएकाले यिनीहरूका गतिविधि प्रभावकारी हुने सम्भावना बढी हुने गर्छ ।
सरकार सामाजिक सद्भाव कायम राख्ने मुख्य कर्ता हो । यसले अपनाउने सुशासन, गर्ने व्यवहार, कानुन पालनामा देखाउने अग्रसरता र शान्ति÷अमनचयनमा देखाउने खरोपनले सामाजिक सद्भाव कायम राख्न निकै मद्दत गर्छ । आफ्ना सबै तह, वर्ग, लिंग, वर्ण, जाति र सम्प्रदायका जनताबीच पक्षपातविहीन व्यवहार, उत्तिकै स्नेहपूर्ण गतिविधि तथा समान दृष्टिकोणले समाजलाई सन्तुलनमा राख्न सघाउँछ । यति मात्र होइन, यस्तो सरकारी व्यवहारले आमजनतामा हाम्रो अभिभावक असल छ भन्ने सन्देश प्रवाह हुने भएकाले निराशा, विद्रोह र असन्तुष्टि स्वतः पाखा लाग्छन् । यस्तो अवस्थामा सामाजिक सद्भावले दीर्घायु प्राप्त गर्छ र हाम्रो नेपाली विशेषता जुगौंजुग कायम रहने निश्चित हुन्छ ।
नेपालमा विद्यमान विभिन्नखाले जातीय÷धार्मिक÷भौगोलिक आदि संगठनको भूमिका पनि सामाजिक सद्भाव कायम राख्न उत्तिकै जरुरी छ । यस्ता संगठनको सकारात्मक कदमले आफ्नो परिधिभित्रका मानिस÷सदस्यलाई नकारात्मक हुनबाट जोगाउँछ । जसका कारण एकअर्काप्रति रिस, राग, द्वेष उत्पन्न हुनै पाउँदैन । कुनै पनि समस्यालाई नकारात्मक दृष्टिकोणबाट पनि हेर्ने नजर परिवर्तन हुन्छ । प्रत्येक समस्याको समाधान सम्भव छ भन्ने वातावरण सिर्जना हुन्छ र त्यस्ता समस्या रचनात्मक सोच र व्यवहारबाट हल गर्ने उपायहरू सिर्जना हुन्छन् । त्यसैले यस्ता संगठनले आफ्ना सदस्य/समर्थक/शुभेच्छुकलाई रचनात्मक र सकारात्मक भएर सोच्न मार्गदर्शन गर्न सक्ने भएकाले समाजमा सनातनदेखि कायम सामाजिक सद्भाव वृद्धि गर्न महत्त्वपूर्ण कदम चाल्न सक्छन् ।
(लेखक बराल मानव अधिकार तथा शान्ति समाजका निवर्तमान सभापति हुन् ।)