
रौतहट : रौतहट इँटा उद्योग व्यवसायी संघले आठौं साधारण सभा सम्पन्न गरेको छ ।
संघका अध्यक्ष राम विनोद जयसवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश सरकारका उद्योग, पर्यटनमन्त्री कनिश पटेल प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय रौतहटकी प्रमुख रिन्की जयसवालले इँटा उद्योगसँग सम्बन्धित कर, उद्योग नवीकरणलगायतका विषयमा जानकारी गराए ।
साधारण सभामा संघको सांगठनिक गतिविधि, इँटा उद्योग व्यवसायीले भोग्दै आएका समस्या, आगामी कार्ययोजना तथा समसामयिक विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा रौतहट, बारा, पर्सा, सर्लाही र जनकपुरका इँटा उद्योग व्यवसायी संघका अध्यक्ष तथा वरिष्ठ उपाध्यक्षहरूले इँटा उद्योगीहरूले भोग्दै आएका विभिन्न समस्या, चुनौती तथा समाधानका उपायबारे धारणा राखेका थिए ।
इँटा उद्योग सञ्चालनमा देखिएका सरकारी नीति, कर तथा नवीकरण, उद्योग व्यवसायमा आइपर्ने समस्या र व्यवसायीका हकहितका विषयमा समेत सहभागीहरूले चर्चा गरेका थिए ।
कार्यक्रममा विभिन्न जिल्लाका उद्योगी–व्यवसायी, संघका पदाधिकारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।