
काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियाको फरेन वर्कर सेन्टर म्यानेजमेन्ट सिष्टम (एसडब्लूसिएमएस) पोर्टलको ‘रिक्रूटमेन्ट एजेन्सी’मार्फत मलेसिया जाने नेपाली श्रमिकका लागि २५ वटा नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थाहरूको सूची मान्य नहुने बताएको छ ।
शनिबार विज्ञप्ति प्रकाशित गर्दै मन्त्रालयले २५ वटा इजाजतपत्र प्राप्त संस्थाबाट मात्र श्रमिक पठाउने गरी एकाधिकार वा सिन्डिकेट गर्न लागेको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको भन्दै उक्त सूची मान्य नहुने स्पष्ट पारेको हो ।
शनिबार मन्त्री रामजी यादवले मलेसियाका लागि नेपालका कार्यवाहक राजदूत मोहम्मद फिर्दोस अजमानसँग भेट, छलफल तथा परामर्श गरेको भन्दै मन्त्रालयले यस विषयमा चासो व्यक्त गरेको जनाएको छ ।
उक्त द्विपक्षीय छलफलमा श्रम आप्रवासनसम्बन्धी दुई देशका मुद्दाहरू आपसी द्विपक्षीय छलफल, परामर्श र सहमतिका आधारमा मात्र अगाडि बढाउन सकिने विषय मलेसिया सरकारलाई अवगत गराइदिन अनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।
द्विपक्षीय श्रम सम्झौतामा भएको व्यवस्थाअनुसार यस प्रकारका विषय संयुक्त प्राविधिक समितिमार्फत छलफल तथा वार्ताका माध्यमबाट टुंग्याउन सकिने विषयमा समेत समझदारी भएको मन्त्रालयले मलेसियालाई स्मरण गराएको छ ।
२५ म्यानपावर कम्पनी सूचीकरण भएको विषयमा शनिबार नै परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई विद्यमान प्रणालीलाई नै निरन्तरता दिन अनुरोध गर्दै पत्राचारसमेत भइसकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले उल्लिखित सन्दर्भमा नेपालले अवलम्बन गरेको श्रम तथा रोजगारसम्बन्धी नीति, वैदेशिक रोजगार ऐन तथा नियमावली, द्विपक्षीय सन्धि–सम्झौता र अन्तर्राष्ट्रिय कानुनको परिधिभित्र रही दुई देशबीचको आपसी सहमतिमा उपयुक्त निष्कर्षमा पुग्नुपर्ने जनाएको छ । नेपाली श्रमिकको हकहित सुरक्षित हुने गरी आवश्यक कूटनीतिक पहल गरिने मन्त्रालयले स्पष्ट पारेको छ ।