
रौतहट : जिल्लाको देवाही गोनाही नगरपालिका–५ स्थित नारायण चोकमा विगत चार वर्षदेखि मोटरसाइकल मर्मत व्यवसाय सञ्चालन गर्दै आएका एक युवा आफ्नै पसलभित्र शंकास्पद अवस्थामा मृत फेला परेका छन् ।
मृत्यु हुनेमा बारा जिल्लाको कलैया उपमहानगरपालिका–१, देवकोटा टोल निवासी करिब ३५ वर्षीय सुमित पटेल रहेका छन् । प्रहरीका अनुसार पटेल शुक्रबार राति करिब ११ बजे नारायण चोकस्थित आफ्नै मर्मत पसलभित्र झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
प्रहरीद्वारा अनुसन्धान तीव्र
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देवाही गोनाहीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनास्थल सुरक्षित राख्दै प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय देवाही गोनाहीका इन्चार्ज तेजप्रसाद भट्टराईका अनुसार घटनाको प्रकृति शंकास्पद देखिएकाले सम्भावित सबै कोणबाट अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीले घटनास्थलको कानुनी मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाएको छ। पोस्टमार्टम प्रतिवेदन तथा थप प्राविधिक अनुसन्धानबाट मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ ।
निष्पक्ष छानबिनको माग
विगत चार वर्षदेखि नारायण चोकमा व्यवसाय गर्दै आएका पटेल शान्त स्वभावका रहेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार उनको कसैसँग प्रत्यक्ष शत्रुता वा विवाद रहेको जानकारी आफूहरूलाई थिएन ।
पसलभित्रै शंकास्पद अवस्थामा शव फेला परेपछि स्थानीय तथा छिमेकी व्यापारीहरू स्तब्ध भएका छन् । घटनाको प्रकृतिबारे विभिन्न आशंका उत्पन्न भएपछि स्थानीयले निष्पक्ष र गहन अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्न माग गरेका छन् ।
मृतकका परिवार तथा आफन्तलाई घटनाबारे जानकारी गराइसकिएको प्रहरीले जनाएको छ । उनीहरूको उपस्थितिमा आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
पोस्टमार्टम प्रतिवेदन र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा मात्रै मृत्यु आत्महत्या हो वा अन्य कुनै कारणबाट भएको हो भन्ने यकिन हुने प्रहरीले स्पष्ट पारेको छ ।