२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

कतारमा नेपाली महिला भलिबल टोलीको ऐतिहासिक जित

Nada
तिलु शर्मा पौडेल
२०८३ भदौ ५ गते २२:२२
Shares
कतारमा नेपाली महिला भलिबल टोलीको ऐतिहासिक जित

दोहा, कतार– कतारमा श्रमिक सहयोग तथा बीमा कोषको आयोजनामा सञ्चालित महिला च्याम्पियनसिप कप–२०२६ को उपाधि नेपाली महिला भलिबल टोलीले जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा नेपाली टोलीले फिलिपिन्स ‘बी’ लाई लगातार तीन सेटमा पराजित गर्दै ऐतिहासिक रूपमा उपाधि आफ्नो नाममा लेखाएको हो ।

ncell

कोसेली मगरको कप्तानीमा नेपाली टोली मैदानमा उत्रिएको थियो भने नेपाली टोलीका प्रशिक्षकका रूपमा सागर बिक रहेका थिए । फाइनलमा नेपालले फिलिपिन्स ‘बी’ लाई २५–२३, २५–२१ र २५–१० को सोझो सेटमा पराजित गर्दै शानदार जित दर्ता ग¥यो। उपाधिसँगै नेपाली टोलीले कप, मेडल र पाँच हजार कतारी रियाल पुरस्कार प्राप्त गरेको छ । विदेशी भूमिमा नेपाली महिला खेलाडीहरूले देखाएको उत्कृष्ट प्रदर्शनले नेपाली खेलकुदसँगै राष्ट्रिय गौरवलाई समेत थप उचाइ दिएको छ । 

कतारको अन्तर्राष्ट्रिय खेल मैदानमा नेपाली टोलीले राष्ट्रिय झण्डा फहराउँदै नेपाली महिला खेलाडीहरू अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने सशक्त सन्देश दिएको छ । फाइनलमा नेपालले सुरुआतदेखि नै आत्मविश्वासपूर्ण खेल प्रदर्शन गरेको थियो। पहिलो सेटमा २५–२३ को रोमाञ्चक जित निकालेको नेपालले दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो। तेस्रो सेटमा भने नेपाली खेलाडीले थप आक्रामक र संयमित खेल प्रदर्शन गर्दै फिलिपिन्स ‘बी’ लाई २५–१० ले पराजित गरे। लगातार तीन सेट आफ्नो पक्षमा पार्दै नेपालले उपाधि चुमेको हो ।

फाइनलअघि नेपालले सेमिफाइनलमा फिलिपिन्स ‘ए’ लाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। अर्को सेमिफाइनलमा फिलिपिन्स ‘बी’ ले ट्युनिसियालाई पराजित गरेपछि नेपाल र फिलिपिन्स ‘बी’ बीच उपाधिका लागि प्रतिस्पर्धा भएको थियो । फाइनलपछि नेपाली खेलाडीहरूले हातमा कप उचाल्दै र मैदानमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै गरेको दृश्य कतारमा रहेका नेपालीका लागि भावुक र गौरवपूर्ण क्षण बनेको थियो । विदेशी भूमिमा नेपाली चेलीहरूले देखाएको यो प्रदर्शनले नेपाली महिला भलिबलको सम्भावनालाई नयाँ उचाइमा पु¥याएको छ । आजको खेलमा करीब हजारको हाराहारीमा नेपाली समर्थक ग्राउन्डमा पुगेको थिए ।

कतारमा नेपाली महिला भलिबल टोलीको उपस्थिति करिब शून्यको अवस्थाबाट सुरु भएको थियो। नियमित रूपमा खेल्ने संगठित टोली थिएन, खेलाडीहरू एकै ठाउँमा थिएनन् र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने तयारीसमेत थिएन । तर गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारले जुलाईको दोस्रो साता अन्तरसामुदायिक अन्तरदेशीय महिला भलिबल प्रतियोगितामा सहभागी हुने निर्णय गरेपछि नेपाली महिला टोली निर्माणको अभियान सुरु भयो ।

शून्यबाट टोली निर्माण गर्ने जिम्मेवारी एनआरएनए एनसीसी कतारको खेलकुद विभागले लियो। खेलकुद विभागका संयोजक राजन चापागाईंले सामाजिक सञ्जाल, फोन सम्पर्क तथा कतारमा रहेका नेपाली संघसंस्थासँग समन्वय गर्दै कतारभरि छरिएर रहेका नेपाली महिला खेलाडीहरूको खोजी थाले। क्रमशः खेलाडीहरू सम्पर्कमा आउन थाले र सबैलाई जोडेर एउटा साझा ह्वाट्सएप समूह निर्माण गरियो। त्यसपछि अनौपचारिक रूपमा सुरु भएको अभियानले विस्तारै औपचारिक टोलीको स्वरूप लिन थाल्यो ।

टोली निर्माण भएपछि अर्को चुनौती थियो—अभ्यासका लागि मैदान, खेलाडीहरूको आवतजावत, जर्सी, खाजा, पानी र प्रतियोगिताका लागि आवश्यक अन्य खर्चको व्यवस्थापन। सीमित समय र स्रोतकाबीच एनआरएनए एनसीसी कतारको कार्यसमिति सहित थुप्रै नेपालीहरुले व्यवस्थापन र समन्वयमा साथ दिए। टोलीलाई प्रतियोगितामा सहभागी गराउन कतारमा रहेका नेपाली व्यवसायी, समाजसेवी तथा शुभेच्छुकहरूसँग सहयोगको अपिल गरिएको थियो । नेपाली महिला खेलाडीलाई अन्तर्राष्ट्रिय मञ्चमा पु¥याउने अभियानप्रति विश्वास गर्दै विभिन्न व्यक्तित्व तथा व्यवसायीहरूले आर्थिक र भौतिक सहयोग गरे ।

मैदानको व्यवस्था भएपछि नियमित अभ्यास सुरु भयो। छोटो समयमै नयाँ खेलाडीबीच तालमेल मिलाउने, कमजोरी सुधार्ने, खेल कौशल निखार्ने र प्रतियोगिताका लागि मानसिक तथा शारीरिक रूपमा तयार हुने चुनौती खेलाडीहरूसामु थियो । कतिपय खेलाडी आफ्नो रोजगारी र व्यक्तिगत जिम्मेवारी पूरा गरेर अभ्यासमा पुग्थे। थकान, समयको अभाव र विभिन्न व्यस्तताबीच पनि उनीहरूले अभ्यासलाई निरन्तरता दिए ।

शून्यबाट सुरु भएको त्यो टोली क्रमशः बलियो बन्दै गयो । खेलाडीको मेहनत, प्रशिक्षकको मार्गदर्शन, व्यवस्थापनको निरन्तर खटाइ र कतारमा रहेका नेपाली समुदायको साथले टोलीमा आत्मविश्वास बढ्दै गयो। अन्ततः मैदानमा उत्रिएपछि त्यही मेहनत प्रदर्शनमा परिणत भयो। यसरी केही समयअघि मात्रै ‘टोली कसरी बनाउने?’ भन्ने अवस्थाबाट सुरु भएको नेपाली महिला भलिबल टोली आज ‘च्याम्पियन’ बनेको छ । त्यसैले कतारमा नेपाली महिला भलिबलको यो यात्रा साँच्चिकै जिरोदेखि हिरोसम्मको यात्रा बनेको छ ।

उपाधिसँगै नेपाली खेलाडीहरूले व्यक्तिगत विधामा समेत उत्कृष्ट प्रदर्शन गरेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी (एमभीपी) को पुरस्कार नेपाली टोलीकी कप्तान कोसेली मगर ले जितेकी छन्। त्यस्तै उत्कृष्ट स्पाइकर को पुरस्कार नेपाली टोलीकी पुष्पा शाही ले प्राप्त गरेकी छन् । नेपाली टोलीले उत्कृष्ट युनिफर्म को पुरस्कारसमेत जितेको छ । पुरस्कारसँगै २ हजार कतारी रियाल पुरस्कार समेत प्राप्त गर्यो । 

 भलिबल टोलीको यो सफलतामा खेलाडीहरूको मेहनतसँगै प्रशिक्षक, व्यवस्थापन, समन्वयकर्ता तथा सहयोगीहरूको महत्वपूर्ण योगदान रहेको छ । एनसीसी कतारले नेपाली महिला भलिबल टोलीको ऐतिहासिक सफलतामा योगदान पु¥याउने सम्पूर्ण खेलाडी, प्रशिक्षक, व्यवस्थापन टोली, समन्वयकर्ता, सहयोगी संस्था, व्यवसायी तथा शुभेच्छुकहरूलाई धन्यवाद दिँदै बधाई व्यक्त गरेको छ ।

रोजगारीका लागि विदेशिएका नेपालीहरू केवल श्रम बेच्न विदेशिएका नागरिक मात्र होइनन्, अवसर पाए आफ्नो प्रतिभा र क्षमतामार्फत देशको नाम विश्वमाझ चिनाउन सक्ने सामथ्र्य राख्छन् भन्ने सन्देश नेपाली महिला भलिबल टोलीको सफलताले दिएको छ । 

कतारको मैदानमा नेपाली चेलीहरू बल लिएर उत्रिँदा उनीहरूको लक्ष्य केवल खेल जित्नु थिएन, नेपाल जिताउनु थियो । हरेक अंकका लागि गरेको संघर्षमा मेहनत थियो, हरेक जितमा आत्मविश्वास थियो र उपाधि उचाल्दा फहरिएको नेपाली झण्डामा सम्पूर्ण नेपालीको गौरव जोडिएको थियो । यो जित केवल कप, मेडल र पाँच हजार कतारी रियाल पुरस्कारमा सीमित छैन । यो विदेशको भूमिमा नेपाली क्षमता, साहस, एकता र आत्मविश्वासको जित हो। अन्तर्राष्ट्रिय मैदानमा नेपाली महिला खेलाडी कमजोर छैनन्, अवसर र साथ पाए उनीहरूले जुनसुकै टोलीसँग प्रतिस्पर्धा गर्न सक्छन् भन्ने प्रमाण पनि हो ।

कतारमा शून्यबाट सुरु भएको नेपाली महिला भलिबल टोलीको यो यात्रा आज उपाधिसँगै इतिहास बनेर टुंगिएको छ । विदेशी भूमिमा नेपालको झण्डा उचाल्ने यी नेपाली चेलीहरू नेपाली खेलकुदका लागि प्रेरणाका पात्र बनेका छन् । फाइनल खेलमा एनआरएनए एनसीसी कतारका अध्यक्ष, कतारका विभिन्न क्षेत्रका गण्यमान्य व्यक्ति, समाजसेवी तथा विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिसहित हजारौं नेपाली समर्थकहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर