
काठमाडौं : रोयल इन्फिल्डले नेपालको गोरखा परम्परा, वीरता र पहिचानलाई सम्मान गर्दै क्लासिक ३५० गोरखा एडिसन नेपाली बजारमा सार्वजनिक गरेको छ । गोरखा समुदायको साहस, दृढता र अदम्य भावनाबाट प्रेरित यो विशेष संस्करणलाई नेपालको गौरवपूर्ण इतिहाससँग जोडेर तयार गरिएको कम्पनीले जनाएको छ ।
विशेष गोरखा ग्रीन रङमा उपलब्ध क्लासिक ३५० गोरखा एडिसनमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिन्ह राखिएको छ । क्लासिक ३५० को मौलिक डिजाइनलाई कायम राख्दै यस संस्करणमा गोरखा विरासत झल्काउने विशेष डिजाइन तथा फिचर थप गरिएको छ ।
मोटरसाइकलमा क्लासिक सिरिजकै परिचित अपराइट राइडिङ पोस्चर र जे–सिरिज इन्जिन दिइएको छ । सहज गियर सिफ्टिङका लागि असिस्ट एन्ड स्लिपर क्लच समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यादविन्दर सिंह गुलेरियाले क्लासिक ३५० नेपाली राइडरमाझ लामो समयदेखि लोकप्रिय रहेको बताए । गोरखा एडिसनमार्फत नेपालको पहिचानसँग गहिरो रूपमा जोडिएको गोरखा विरासतलाई सम्मान गर्न पाएको उनले बताए ।
नेपालका लागि रोयल इन्फिल्डका आधिकारिक वितरक अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्षवर्धन संघाईले क्लासिक ३५० ले नेपाली मोटरसाइकल पारखीमाझ विशेष स्थान बनाइसकेको बताए । उनका अनुसार गोरखा एडिसनले नेपालको इतिहास र पहिचानलाई नयाँ ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ ।
गोरखा कलेक्सन पनि सार्वजनिक
क्लासिक ३५० गोरखा एडिसनसँगै रोयल इन्फिल्डले गोरखा कलेक्सन पनि सार्वजनिक गरेको छ । गोरखा विरासतबाट प्रेरित यस कलेक्सनमा प्रिमियम राइडिङ गियर, छालाका बुट, हेल्मेट, हेडगियर, लाइफस्टाइल अपारेललगायत सामग्री समावेश छन् ।
कलेक्सनको डिजाइनमा क्रस खुकुरी, परम्परागत नेपाली ढाका बुनाइ तथा नेपाली हस्तकलाबाट प्रेरित तत्व प्रयोग गरिएको छ। गोरखा एडिसन ग्रीनसँगै रेजिमेन्टल क्रिमसन, ट्याक्टिकल ओलिभ ग्रीन, म्याट ब्ल्याक र वार्म ब्रन्जजस्ता रङलाई कलेक्सनमा प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।
मूल्य ५ लाख ९९ हजार
रोयल इन्फिल्ड क्लासिक ३५० गोरखा एडिसन नेपालभरका आधिकारिक डिलरमार्फत उपलब्ध हुनेछ। यसको मूल्य ५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
सन् १९०१ देखि मोटरसाइकल उत्पादन गर्दै आएको रोयल इन्फिल्डले हाल भारतसहित विश्वका ८० भन्दा बढी देशमा आफ्नो उपस्थिति विस्तार गरेको छ । आइशर मोटर्स लिमिटेडअन्तर्गत रहेको कम्पनीले क्लासिक, बुलेट, हन्टर, मिटियर, हिमालयन, इन्टरसेप्टर, कन्टिनेन्टल जीटी, सुपर मिटियर, गुरिल्ला र शटगनलगायत मोडल बिक्री गर्दै आएको छ ।