
दोहा, कतार : कतारमा श्रमिक सहयोग तथा बिमा कोषको आयोजनामा सञ्चालित ‘महिला भलिबल च्याम्पियनसिप-२०२६’ को सेमिफाइनलमा नेपाली महिला भलिबल टोलीले आगामी शुक्रबार फिलिपिन्स ए सँग प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगितामा पहिलो पटक सहभागी नेपाली टोली क्वार्टरफाइनलमा फिलिपिन्स ‘सी’लाई लगातार दुई सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । नेपाली टोलीको सहभागिता तथा खेलको समन्वय गैरआवासीय नेपाली संघ (एनसिसी) कतारले गरेको हो ।
शुक्रबार बिहान ९ बजे अल–सादस्थित अलि बिन हमाद अल–अतिया एरिना (इनडोर हल) मा हुने सेमिफाइनल खेललाई निकै प्रतिस्पर्धात्मक रूपमा हेरिएको छ । अघिल्लो जितबाट उत्साहित नेपाली टोली सोही लय कायम राख्दै फाइनल प्रवेश गर्ने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छ । एनसीसी कतारका खेलकुद संयोजक राजन चापागाईँले पहिलो पटक प्रतियोगितामा सहभागी नेपाली टोलीले अपेक्षाकृत राम्रो प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको बताए । क्वार्टरफाइनलको जितपछि खेलाडीको मनोबल र आत्मविश्वास थप बढेको उल्लेख गर्दै उनले सेमिफाइनलमा पनि उत्कृष्ट प्रदर्शनका लागि टोली तयार रहेको जानकारी दिए ।
एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले प्रतियोगिताले कतारमा विभिन्न समुदायबिच महिला भलिबलमार्फत मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्नुका साथै नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय वातावरणमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको बताए । प्रतियोगिताको तालिकाअनुसार शुक्रवार दुवै सेमिफाइनलपछि तेस्रो स्थानका लागि खेल हुनेछ भने त्यसपछि फाइनल प्रतिस्पर्धा हुनेछ । नेपालले फिलिपिन्स ए लाई पराजित गर्न सके सोही दिन उपाधिका लागि फाइनल खेल्नेछ । नेपाली महिला टोलीले प्रतियोगिताको अन्तिम चरणसम्म तय गरेको यात्राले कतारमा रहेका नेपाली खेल प्रेमीमा उत्साह बढाएको छ ।
