२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

जेमिनी रिसाइकल नेपालले आईपीओ ल्याउने, ईभी ब्याट्री रिसाइकल गर्ने लक्ष्य

Nada
२०८३ साउन ३१ गते १९:५६
Shares
जेमिनी रिसाइकल नेपालले आईपीओ ल्याउने, ईभी ब्याट्री रिसाइकल गर्ने लक्ष्य

विराटनगर : व्यवसायिक घराना दिवाकर राठी र आकाश गोल्छासहित संस्थागत लगानीकर्ताको लगानी रहेको जेमिनी रिसाइकल नेपाल कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । 

ncell

कम्पनीको विशेष साधारण सभाले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्दै भविष्यमा विद्युतीय सवारीसाधन (ईभी) का ब्याट्री रिसाइकल गर्ने महत्वाकांक्षी योजना समेत अघि सारेको छ ।

कम्पनीको रजिष्ट्रड कार्यालय बुढीगंगा गाउँपालिका–५, हात्तीमुढा, मोरङमा सम्पन्न विशेष साधारण सभाले कम्पनीको जारी पूँजी  ५० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १० लाख कित्ता शेयर सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) मार्फत निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । 

सभाले कम्पनीको संस्थापक शेयरको मूल्यसमेत निर्धारण गरेको छ । रु. १०० अंकित मूल्यमा रु. ९० प्रिमियम थप गरी प्रति कित्ता रु. १९० कायम गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । हाल पुराना ब्याट्री तथा प्लास्टिकजन्य सामग्री रिसाइकल गर्दै आएको जेमिनीले अब ईभी ब्याट्री रिसाइकलिङलाई आफ्नो भविष्यको नयाँ व्यवसायका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढ्दै गइरहेको अवस्थामा आगामी वर्षहरूमा प्रयोग भइसकेका ईभी ब्याट्रीको व्यवस्थापन महत्वपूर्ण चुनौती बन्न सक्ने देखिन्छ । यही सम्भावनालाई अवसरका रूपमा उपयोग गर्दै कम्पनीले प्रयोग भइसकेका ईभी ब्याट्रीलाई पुनः प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्ने व्यवसायमा प्रवेश गर्ने योजना बनाएको हो । ईभी ब्याट्री रिसाइकलिङलाई कम्पनीको नयाँ व्यवसायका रूपमा अघि बढाइने बताइएको छ ।
 

सम्बन्धित खबर