२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

हर्मोसाको चौथो तीज विशेष सांगीतिक कार्यक्रम सेप्टेम्बर १२ मा हुने

Nada
तिलु शर्मा पौडेल
२०८३ साउन २७ गते १८:४३
Shares
हर्मोसाको चौथो तीज विशेष सांगीतिक कार्यक्रम सेप्टेम्बर १२ मा हुने

दोहा, कतार : नेपाली नारीहरूको महान् पर्व हरितालिका तिज नजिकिँदै गर्दा कतारमा विभिन्न तिज विशेष कार्यक्रमहरू आयोजना हुने क्रम सुरु भएको छ । यसैक्रममा नेपाली व्यवसायी राकेश श्रेष्ठ र पूर्णबहादुर पोखरियाद्वारा सञ्चालित हर्मोसा ब्युटी सेन्टरले यस वर्ष पनि तिज विशेष सांगीतिक तथा दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ ।

ncell

हर्मोसाको चौथो प्रस्तुतिका रूपमा आयोजना हुन लागेको कार्यक्रम आगामी सेप्टेम्बर १२ तारिख शनिवार सनैयास्थित अलतियामा रहेको फूलबारी  रेस्टुरेन्टमा साँझ ६ बजेदेखि सञ्चालन हुने जनाइएको छ ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि कतारमा रहेका नेपाली चेलीबेटीहरूलाई माइतीको झल्को दिने उद्देश्यले हर्मोसाले दर खुवाउने तथा सांगीतिक मनोरञ्जन प्रदान गर्ने कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुति रहनेछ तिजलाई केवल धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई परदेशमा रहेका नेपाली महिलाहरूबिच आपसी भेटघाट, चिनजान, आत्मीयता र भाइचाराको सम्बन्ध थप मजबुत बनाउने अवसरका रूपमा कार्यक्रमलाई अघि बढाइने आयोजकले जनाएको छ ।

हर्मोसाकी व्यवस्थापक प्रभा श्रेष्ठले कतारमा रहेका सम्पूर्ण नेपाली महिलाहरूलाई कार्यक्रममा सहभागी भएर दर खानुका साथै परदेशको व्यस्तता र दुःख–सुख केही समय भुलेर सांगीतिक वातावरणमा रमाउन आग्रह गरेकी छन् ।

उनका अनुसार विगतका वर्षहरूमा पनि कलाकारहरूको सहभागितामा कार्यक्रम आयोजना गर्दै तिजलाई उल्लासमय र स्मरणीय बनाउने प्रयास गरिँदै आएको छ । नेपाली कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा निरन्तरतासँगै महिलाहरूलाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गरिँदै आएको उनले बताइन् ।

पार्लरका सञ्चालक राकेश श्रेष्ठका अनुसार तिज कार्यक्रम पूर्ण रूपमा निःशुल्क रहनेछ । नेपाली महिलाहरूलाई एकै ठाउँमा भेला गराई तिजको सांस्कृतिक महत्वलाई निरन्तरता दिने, आपसी सम्बन्ध विस्तार गर्ने तथा मनोरञ्जनसँगै नेपालीपनको अनुभूति गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको श्रेष्ठले बताए ।

ताजा खबर

सम्बन्धित खबर