
काठमाडौ : यात्रुहरूको उच्च माग तथा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नेपाल वायुसेवा निगमले जापानका लागि उडान सेवा थप गर्ने भएको छ ।
आगामी असोज २ देखि जापानसम्मको नियमित उडान हप्ताको चार पटक सञ्चालन गर्ने गरी नयाँ उडान तालिका तयार गरेको निगमले जनाएको छ । नयाँ तालिका अनुसार काठमाडौं–नारिता–काठमाडौं उडान मंगलबार, बिहीबार, शुक्रबार र आइतबार सञ्चालन हुनेछन् । हाल सो उडान हप्तामा तीनवटा सञ्चालन हुँदै आएको छ ।
साथै, निगमको एयरबस (ए३३०–२००) वाइडबडी अन्नपूर्ण विमान (९एन–एएलवाई) समयानुसार नियमित गर्नुपर्ने चौथो सी–चेक सम्पन्न गरी स्वदेश फर्किएको छ । सी–चेक विमानको निर्धारित अवधिमा गरिने महत्वपूर्ण र विस्तृत प्राविधिक मर्मत प्रक्रिया हो ।
काठमाडौं–दुबईको नियमित उडानमा गत असार २३ गते इटालीमा गएको सो विमान सी–चेक पुरा गरी गत साउन २१ गते काठमाडौं फर्केको हो । उक्त जहाज नियमित उडानमा आइसकेको निगमले जनाएको छ । त्यसैगरी आगामी सेप्टेम्बरदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने फ्लाई दुबईको नियमित उडानका लागि निगमले पुर्याउने स्थलगत सेवाको तयारी पनि पूरा भएको निगमले जनाएको छ ।