२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

‘मिसेस ब्युटिफुल नेपाल’को ग्रान्ड फिनाले भदौ ६ गते हुने

Nada
२०८३ साउन २४ गते १६:४६
Shares
‘मिसेस ब्युटिफुल नेपाल’को ग्रान्ड फिनाले भदौ ६ गते हुने

काठमाडौं : सौन्दर्य, व्यक्तित्व, आत्मविश्वास र प्रतिभाको समिश्रणका रूपमा परिचित ‘मिस ब्युटिफुल नेपाल’को ११औं तथा ‘मिसेस ब्युटिफुल नेपाल’को १०औं संस्करणको ग्रान्ड फिनाले आगामी भदौ ६ गते काठमाडौंस्थित राष्ट्रिय नाचघरमा भव्य रूपमा आयोजना हुने भएको छ ।

ncell

अडिसन चरण पार गर्दै छनोट भएका प्रतियोगीहरू यतिबेला ग्रान्ड फिनालेको तयारीमा व्यस्त छन् । आयोजकका अनुसार प्रतियोगीहरूलाई व्यक्तित्व विकास तथा पेजेन्टसम्बन्धी विविध पक्षमा विशेष प्रशिक्षण प्रदान गरिँदै आएको छ । प्रशिक्षण अन्तर्गत मिडिया कम्युनिकेसन, सार्वजनिक वक्तृत्वकला, एमसीइङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, फिटनेस, योग, सेल्फ–मेकअप तथा फेसनका विषयमा दक्ष प्रशिक्षकहरूले प्रशिक्षण दिइरहेका छन् ।

यस संस्करणमा सहभागी प्रतियोगीहरूमा मन्दिरा आचार्य, सृजना घिमिरे, समीक्षा शर्मा, रिता कटुवाल, गीता बुढाथोकी, रिता तामाङ, रेखा श्रेष्ठ, निशा राजभण्डारी, सञ्जिना चौधरी, तारा कुमारी दुलाल र सुनिता श्रेष्ठ आचार्य रहेका छन् । यी सबै प्रतियोगीहरू अहिले अन्तिम चरणको तयारीमा केन्द्रित हुँदै आफ्नो प्रस्तुति निखार्ने अभ्यासमा जुटेका छन् ।

आयोजक समितिका अध्यक्ष तथा दक्ष इन्टरनेशनलका प्रमुख टेकराज पाण्डेका अनुसार प्रतियोगिताको उद्देश्य केवल बाह्य सौन्दर्य प्रदर्शनमा सीमित नभई महिलाको व्यक्तित्व, प्रतिभा, आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वलाई उजागर गर्नु हो । उनका अनुसार प्रशिक्षणमार्फत प्रतियोगीहरूलाई मञ्चमा आत्मविश्वासका साथ प्रस्तुत हुने कला, आफ्नो क्षमता प्रभावकारी रूपमा देखाउने सीप तथा समाजमा सकारात्मक भूमिका निर्वाह गर्न आवश्यक ज्ञान प्रदान गरिँदैछ ।

ग्रान्ड फिनाले नजिकिँदै जाँदा प्रतियोगीहरूले र्‍याम्प वाक, स्टेज प्रेजेन्स, प्रश्नोत्तर र समग्र प्रस्तुति सुधारमा विशेष ध्यान दिएका छन् । आयोजकका अनुसार भदौ ६ गते हुने अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीहरूमध्येबाट ‘मिस ब्युटिफुल नेपाल २०२६’ र ‘मिसेस ब्युटिफुल नेपाल २०२६’ का विजेता चयन गरिनेछ ।

कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, कलाकार, सञ्चारकर्मी, फेसन तथा सौन्दर्य क्षेत्रका प्रतिनिधि तथा सामाजिक अभियन्ताहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ । आयोजकले यो कार्यक्रमले नेपाली सौन्दर्य तथा पेजेन्ट क्षेत्रलाई नयाँ ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।

अहिलेका केही दिन प्रतियोगीहरूको कडा प्रशिक्षण, अन्तिम तयारी र उत्कृष्ट प्रस्तुति निर्माणमै केन्द्रित रहनेछन्, जसले ग्रान्ड फिनालेलाई अझ आकर्षक र प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर