
दोहा कतार : श्रमिक सहयोग तथा बिमा कोष कतारको आयोजनामा सञ्चालित ‘मैत्रीपूर्ण महिला भलिबल प्रतियोगिता’मा नेपाली महिला टोली ट्युनिसियामाथि रोमाञ्चक जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।
अल–सादस्थित अलि बिन हमाद अल–अतिया एरिना (इनडोर हल)मा शुक्रबार भएको खेलमा नेपाल र ट्युनिसियाबीच कडा प्रतिस्पर्धा भएको थियो । दुवै टोलीले एक-एक सेट जितेपछि निर्णायक तेस्रो सेटमा नेपालले १५-१३ को जित निकाल्दै आगामी यात्रा तय गरेको हो ।
कोशेली मगरको कप्तानीमा मैदानमा उत्रिएको टोलीले सोहीदिन नेपालले कतार फाउन्डेसनलाई २५-४ र २५-६ को सहज नतिजासहित २-० सेटले पराजित गरेको थियो । लगातार दुई खेल जितेपछि नेपाली टोलीले प्रतियोगिताको अघिल्लो चरणमा स्थान सुरक्षित गरेको हो ।
नेपाली टोलीको जितपछि एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले खुसी व्यक्त गर्दै खेलाडी तथा टोलीलाई धन्यवाद र आभार प्रकट गरे । नेपाली टोलीको हौसलाका लागि खेल स्थलमा सयौं नेपाली दर्शक उपस्थित थिए ।
एनआरएनए एनसिसी कतारका खेल संयोजक राजन चापॉगाईले नेपाली टोलीले आगामी चरणमा अझ सशक्त र निखारिएको प्रदर्शन गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे । खेलपछि नेपाली दर्शकहरूले पनि टोलीको प्रदर्शनको प्रशंसा गर्दै नेपाली खेलाडीले उत्कृष्ट र प्रतिस्पर्धात्मक खेल खेलेको प्रतिक्रिया दिएका थिए ।
नेपाली टोलीको आगामी खेल शुक्रबार हुने जनाइएको छ । खेल हुने १६ स्टेडियम तथा खेल तालिका केही दिनभित्र सार्वजनिक गरिने आयोजक पक्षले जनाएको छ ।