
दुबई : देवदह सेवा समाज यूएईले नेपाली कला, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ‘तीज मिलन कार्यक्रम–२०२६’ आयोजना गर्ने भएको छ ।
हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रममा नेपाली समुदायबीच भेटघाट, शुभकामना आदानप्रदान, सांस्कृतिक प्रस्तुति तथा नेपाली मौलिक खानाका परिकारहरू रहने आयोजकले जनाएको छ ।
प्रवासमा रहेर नेपाली कला, संस्कृति र परम्परालाई निरन्तरता दिनुका साथै देवदहवासी तथा नेपाली समुदायबीच आपसी सद्भाव र सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा यूएईमा रहेका देवदहवासीसहित नेपाली समुदायका दाजुभाइ तथा दिदीबहिनीलाई परिवारसहित सहभागी हुन आयोजकले आग्रह गरेको छ ।
कार्यक्रम आगामी १३ सेप्टेम्बर २०२६ मा दुबईको बुर दुबईस्थित निजाम्स (ग्रान्ड एम्बेसडर होटल) को भुइँतलामा आयोजना हुनेछ । कार्यक्रम दिउँसो १२:३० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।
कार्यक्रममार्फत प्रवासमा नेपाली संस्कृति र परम्पराको संरक्षणसँगै नयाँ पुस्तालाई समेत आफ्नो मौलिक पहिचानसँग जोड्ने अपेक्षा आयोजकले गरेको छ ।