
काठमाडौं : काठमाडौं प्रहरी परिसरले गुन्डागर्दीमा संलग्न एक हजार ९७ जनाको व्यक्तिगत विवरण (प्रोफाइल तयार पारेको छ । गुन्डागर्दीविरुद्ध आक्रमक अभियान चलाएको प्रहरीले अनुसन्धान र पक्राउका लागि यो प्रोफाइलले सहयोग पुग्ने दाबी गरेको छ ।
काठमाडौं प्रहरी परिसरले चैतको तेस्रो साता रात्रिकालीन खोजी अभियान सञ्चालन गर्दै गुन्डागर्दी, ठगी र बिचौलिया गतिविधिमा संलग्न १९५ जना पक्राउ गर्यो । उपत्यका अपराध अनुसन्धान कार्यालयसमेतको सहयोगमा एकैदिन सेफ्टी काठमाडौं अभियानअन्तर्गत ठुलो संख्यामा पक्राउ गरेको थियो । समातिएकामध्ये २४ जना गुन्डागर्दी पृष्ठभूमिका व्यक्ति थिए ।
गृह प्रशासनको जिम्मेवारीमा गृहमन्त्री सुधन गुरुङ आएपछि प्रहरीले कारबाहीलाई तीव्र बनाएको हो । ठमेलमा पर्यटकको सास्ती र विमानस्थलमा बिचौलियाको लुटपाट रोक्न प्रशासनले विशेष खोजी अभियान चलाएको प्रहरीको दाबी छ ।
गत भदौ २३ र २४को जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट प्रहरीका बर्दी र हतियार लुटिए । फिल्डमा खटिएका तीन प्रहरीको मृत्यु भयो भने सयौं घाइते भए । कर्तव्यपालनाका क्रममा ज्यान गुमाएका प्रहरीको रगत सुक्न नपाउँदै, चौकी जलाइएका ठाउँका खरानी चिसो नहुँदै, पक्राउ परेकालाई सरकारका मन्त्रीले ‘छोडिदे’ भनेर आदेश दिँदा प्रहरीको मनोबल मात्र होइन कानुन र न्यायको अस्तित्व नै जलेको प्रहरी अधिकारीहरूले बताएका छन् ।
यद्यपि अहिले त्यो परिस्थितिबाट केही सुधार भएको उनीहरूको दाबी छ । हिंसात्मक घटनाले भौतिक र मानसिक रूपमा गिरेको नेपाल प्रहरीको मनोबल बढ्दै जाँदा सक्रियता पनि बढ्न थालेको छ ।
‘करिब साढे सात दशकको इतिहास बोकेको यो संस्था कहिल्यै यति नाजुक अवस्थामा पुगेको थिएन,’ प्रहरीका एक अधिकारीले भने, जेनजी आन्दोलनले सिंगो प्रहरी संगठनको मोरल डाउन गरिदियो । यद्यपि बिस्तारै हामी लयमा फर्किएका छौं ।’
नागरिकको जिउधनको रक्षा गर्ने मुख्य जिम्मेवारी रहेको प्रहरीको मनोबल गिर्दा समाजमा नै त्रासको वातावरण बनेको थियो । ‘सहकर्मीको हत्या, चौकी र कार्यालयमा तोडफोड र आगजनी, बर्दी र हतियारको लुट र ठुलो संख्यामा कैदीबन्दी फरारले प्रहरी संगठनको मनोबल गिराएको थियो,’ नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले भने, ‘अहिले प्रहरी संगठनको मनोबल बढेको छ । कुनै पनि अवाञ्छित गतिविधिलाई प्रहरीले नजिकबाट नियाल्ने र कारबाहीको प्रक्रिया अघि बढाउन प्रहरी सक्रियतापूर्वक लागेको छ ।’
नयाँ सरकारका गृहमन्त्रीले प्रहरी संगठनमा हस्तक्षेप नगर्ने र सेवासुविधासहित थप क्षमतावान् बनाउन सरकार लागिपरेको बताएका छन् । प्रहरीको मनोबल बढेसँगै कारबाहीको दरसमेत बढेको प्रहरीको भनाइ छ ।
गृहमन्त्री गुरुङको निर्देशन र आश्वासनपछि प्रहरी संगठनमा सकारात्मक ऊर्जा थपिएको प्रवक्ता काफ्लेले बताए । पछिल्लो समय प्रहरीले लागूऔषध, चोरी, गुन्डागर्दी र आपराधिक क्रियाकलापमा संलग्नमाथिको कारबाही बढाएको उनको दाबी छ । ‘अनुसन्धानका क्रममा अपराधसँग ‘कनेक्सन’ देखिएका र आशंका गरिएका व्यक्तिहरूको आपराधिक पृष्ठभूमिसहितको प्रोफाइलिङ गर्ने काम देशभर सञ्चालन गरिएको छ,’ उनले भने, ‘यसले पक्राउ र कारबाही अघि बढाउन प्रहरीलाई ठुलो सहयोग पुग्नेछ ।’
आन्दोलनकै क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेता र उच्च तहका व्यक्तिका २३५ निजी निवासमा आगजनी र तोडफोड भएका थिए । आन्दोलबाट हुन सक्ने सम्भावित हिंसाको पूर्वानुमान गर्न नसक्दा ठुलो क्षति भएको पूर्वप्रहरी अधिकारीहरू बताउँछन् । यसले आम रूपमा प्रहरीलाई हेर्ने दृष्टिकोण समेत बदलिएको थियो । इतिहासमै पहिलोपटक नेपाल प्रहरीको मनोबल सबैभन्दा कमजोर भएको सुरक्षा विश्लेषण छ । तर, नयाँ सरकारका गृहमन्त्री सुधनको सक्रियतासँगै प्रहरीको पनि सक्रियता बढेको पाइएको छ । यद्यपि गृहमन्त्रीको सक्रियताले कतिपय प्रहरीहरू अनावश्यक हैरानीमा समेत परेका छन् । प्रहरीलाई थाहै नदिई अनुगमनका नाममा गृहमन्त्री विभिन्न जिल्ला तथा प्रहरी कार्यालय पुग्दा हैरानी हुने गरेको गुनासा आइरहेका छन् ।
पछिल्लोपटक काठमाडौं प्रहरीले हिरासतबाट भागेकाहरूको विवरणसमेत डिजिटल माध्यममा अद्यावधिक गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता पवनकुमार भट्टराईले बताए । ‘भागेकाहरू कागजात छैन भनेर खुला हिँडेका सूचना पाएका छौं,’ एसपी भट्टराईले भने, ‘जेनजी प्रदर्शनमा आगजनी गरिएको ३ हजार २७२ फाइललाई हामीले डिजिटाइजेसन गरेका छौं,’ उनले भने ।