२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

लागूऔषध कारोबारको ट्रान्जिट बन्दै नेपाल

Nada
सपना बोहरा
२०८२ चैत २३ गते ०६:२५
Shares
लागूऔषध कारोबारको ट्रान्जिट बन्दै नेपाल

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा रहेको रेड च्यानल एरियाको एक्सरे मेसिनअगाडि गत साउन १८ गते एक भारतीय नागरिक प्रवेश गरे । थाई एयरको उडान नम्बर टिजी ३१९ मार्फत उनी नेपाल भित्रिएका थिए । थाइल्यान्डबाट नेपाल आएका उनी थिए, डब्लु ०४४५५४३ नं.को राहदानीवाहक ३२ वर्षीय मौलेसवार्न नानजुनदामुर्थी कुरानी भेल । 

ncell

भन्सार कार्यालयमा चेकजाँचका क्रममा उनको कालो रङको सुटकेसभित्र शंकास्पद वस्तु फेला प¥यो । थरीथरी रङका प्लास्टिकका १४ वटा प्याकेटमा लुकाएर राखेको अवस्थामा उनको साथबाट ३ केजी ८ सय ग्राम परिमाणको खैरो हिरोइन फेला परेको थियो । उनको साथबाट प्रहरीले विदेशी सिम भएको एक थान नोकिया मोबाइल र तीनवटा बोर्डिङ पास पनि बरामद गरेको थियो । प्रहरीले तत्काल पक्राउ पुर्जी जारी गरी उनीमाथि काठमाडौं जिल्ला अदालतमार्फत अनुसन्धान सुरु ग¥यो । थाइल्यान्डबाट ल्याइएको उक्त लागूपदार्थ नेपाललाई ट्रान्जिन्ट प्वाइन्ट बनाएर भारत लैजान लागेको प्रहरीको अनुसन्धानमा खुलेको छ । गत कार्तिक १४ गते उनलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको छ । 

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाटै कतार एयरवेजको उडान क्युआर ६४८को उडानबाट नेपाल आई भुटान जान लागेकी ब्राजिलियन नागरिक एमिली मिकाले सान्तोस फेर्रिरा पक्राउ परिन् । उनको साथबाट प्रहरीले १ केजी ९ सय ५० ग्राम ठोस र १ लिटर ६ सय ५० मिलिलिटर तरल कोकिन फेला पा¥यो । ती महिलाले दाहिनेतर्फको स्तनको भागमा तरल अवस्थामा रहेको लागूऔषध कोकिनलाई कण्डमभित्र राखी रबरले बाँधी प्याक गरेर लाम्चो आकारका ५ वटा पोका र बायाँतर्फको स्तनको भागमा ५ वटा पोका बनाएर राखेकी थिइन् । उनी ब्राजिलबाट नेपाल हुँदै ती सामान भुटान लैजाने क्रममा पक्राउ परेकी हुन् । 

भन्सार कार्यालयमा खटिएको प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालतमार्फत लागूऔषध कोकिन कारोबार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको थियो । तर, गत भदौ महिनामा भएको जेनजी आन्दोलनका क्रममा ती महिला फरार भइन् । 

त्यस्तै, साउन १६ गते थाई एयरलाइन्सको उडान नम्बर टिजी ३१९ बाट नेपाल आएका भारतीय नागरिक ४ केजी सेतो हिरोइनसहित पक्राउ परे । प्रहरी अनुसन्धानका क्रममा थाइल्यान्डबाट ल्याएको सेतोे हिरोइन भारत लैजान उनी नेपाल आएका आएका थिए । सी ७६९५६७९ नं.को राहदानीवाहक भारतीय नागरिक फिरोज अहमदको साथबाट आधार कार्ड र केही नगद रकम पनि बरामद भएको थियो । काठमाडौं जिल्ला अदालतबाट थप अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको आदेशमा उनलाई पुर्पक्षका लागि कार्तिक २६ गते कारागार चलान गरिएको छ । 

कारागार व्यवस्थापन विभागका अनुसार यसरी लागूऔषध कारोबारको आरोपमा जेलमा रहेका विदेशी नागरिकको संख्या ६ सय ३७ छ । विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार चीन, बंगलादेश, तानजानिया, रसिया, भियतनाम, युक्रेन, म्यानमार, ब्राजिल, साउथ अफ्रिका, उज्वेकिस्तानलगायत देशका नागरिक नेपाल आएर लागूऔषध कारोबार गरेको आरोपमा कारागार चलान भएका छन् । त्यस्तै लागूऔषध नियन्त्रण ब्युरोले पछिल्लो ९ महिनाको अवधिमा लागूऔषधसम्बन्धी कारोबारमा ८१ जना विदेशी नागरिकलाई मुद्दा चलाएको छ । जसमा ७१ जना पुरुष र १० जना विदेशी महिला छन् । त्यस्तै, ब्युरोले १ सय ५८ जना स्वदेशी नागरिकलाई मुद्दा चलाएको छ । आर्थिक वर्ष २०८१/०८२मा ७९, २०८०/०८१मा ३४ जना विदेशी नागरिकलाई लागूऔषध कारोबारमा मुद्दा चलाएको थियो । लागूऔषध नियन्त्रण ब्युरोले विशेष रूपमा निगरानी गर्दै आएको छ । ब्युरोले मध्यान्हलाई उपलब्ध गराएको तथ्यांकअनुसार, पछिल्लो तीन वर्षमा नेपालमा आएर लागूऔषध कारोबार गर्नेको संख्या पनि बढ्दै गएको देखिन्छ । प्रायःजसो विदेशी नागरिक लागूऔषध लिएर नेपाल प्रवेश गर्ने क्रममा र नेपाल आएर अन्य देशमा प्रवेश गर्ने क्रममा अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ पर्ने गरेका छन् । 

यसअघि देशभित्र मात्रै लागूऔषध कारोबार हुने गरेकोमा पछिल्लो समय दोस्रो, तेस्रो मुलुकका नागरिकले नेपाललाई लागूऔषध कारोबारको ट्रान्जिन्ट प्वाइन्ट बनाउन थालेका छन् । ब्युरोले लागूऔषध कारोबार गर्दै गरेका अवस्थामा विदेशी नागरिकहरूलाई समेत नियन्त्रणमा लिएर कारागार चलान गरेको छ ।

ब्युरोका प्रवक्ता प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मी विशेषगरी थाइल्यान्डबाट नेपाल हुँदै भारतमा गाँजा, हिरोइनजस्ता लागूऔषध कारोबार गर्ने गरेको पाइएको बताउँछन् । ‘पक्राउ परेका अधिकांश कारोबारी नै हुन्,’ उनले भने, ‘कारोबारको सञ्जाल ठुलो छ, एउटा कारोबारीलाई पक्राउ गर्दा अन्य पनि तानिएका हुन् ।’ उनका अनुसार लागू्औषधको उत्पादन र मुख्य कारोबार हुने भनेकै विदेशमा हो । ‘कारोबार गर्ने व्यक्तिले फलानो व्यक्तिलाई भेट्न भन्दै ह्वाट्सएप नं. दिएर नेपाल पठाउँछन्, कारोबारीबीच पनि ह्वाट्सएप नं. बाहेक अन्य जानकारी हुँदैन,’ उनले भने, ‘नेपालमा रिसिभ गर्ने अर्को हुन्छ, अर्कै व्यक्तिबाट अन्य देशमा जान्छ, यसरी नै कारोबार भइरहेको पाइएको छ ।’

नेपालमा धेरैजसो पूर्वी र पश्चिम एसियाबाट लागूऔषध भित्रिने गरेको प्ूर्वडिआइजी हेमन्त मल्ल बताउँछन् । ‘कोकिन साउथ अमेरिकाबाट नेपाल आएर अन्यत्र देश जाने गर्छ, कारोबार गर्ने एक–अर्काबीच चिनजान हुँदैन, उत्पादन गर्ने अन्यत्रै देश हुन्छ,’ उनले भने, ‘जुन देशमा चेकजाँच कम हुन्छ, त्यहाँ नै कारोबारीले ट्रान्जिन्ट प्वाइन्ट बनाउँछन् ।’ पहिले अन्य देश ट्रान्जिन्ट प्वाइन्ट थियो होला, अहिले नेपाल बनाएका होलान्,’ उनले भने, ‘नेपालमा धेरै कारोबारी समातिन थाले भने पुनः रुट चेन्ज गर्छन् ।’ धेरैजसो भरिया नै पक्राउ पर्ने गरेको उनी बताउँछन् । ‘संगठित अपराधको माथिल्लो तहसम्म पुग्ने सजिलो हुँदैन,’ उनले भने, ‘भरिया–भरियाबीच नै सम्पर्क र परिचयको ग्याप राखेका हुन्छन्,’ उनले भने, ‘नेपाललाई ट्रान्जिट बनाएर अन्यत्र देशमा कारोबार गर्छन् ।’

के छ सजाय ?

ब्युरोका अनुसार, गाँजा सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिबाना सजाय तोकिएको छ । ५० ग्रामसम्मको भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना । त्यस्तै ५० ग्रामदेखि पाँच सय ग्रामसम्मको भए एक महिनादेखि एक वर्षसम्म कैद र एक हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म जरिबाना हुन्छ । पाँचसय ग्रामदेखि दुई किलो ग्रामसम्मको भए पाँच महिनादेखि दुई वर्षसम्म कैद र दुई हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म जरिबाना हुन्छ । दुई किलो ग्रामदेखि १० किलो ग्रामसम्मको भए एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँचहजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिबाना । १० किलो ग्रामदेखिमाथि जतिसुकै भए पनि दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुन्छ । 

अफिम, कोका वा सोबाट बनेको लागूऔषधको सेवन गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबाना तोकिएको ब्युरोले जनाएको छ । त्यस्तै, २५ ग्रामसम्मको कारोबार गर्नेलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि २५हजार रुपैयाँसम्म जरिबाना, २५ ग्रामदेखि एक सय ग्रामसम्मको कारोबार गर्नेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिबाना, एक सय ग्रामदेखिमाथि जतिसुकै परिमाणको कारोबार गर्नेलाई १५ वर्षदेखि जन्म कैद र पाँच लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म जरिबाना तोकिएको ब्युरोले जनाएको छ ।

uae

ताजा खबर

सम्बन्धित खबर