२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

पार्कदेखि कोर्निसका डुङ्गासम्म, कतारमा यसरी मनाए नेपालीले दसैँ

कतै पहिलो पटक, कतै आठ वर्षपछि टीका; खुसीसँगै परिवारको सम्झना

Nada
तिलु शर्मा पौडेल
२०८३ कार्तिक ६ गते २१:३९
Shares
पार्कदेखि कोर्निसका डुङ्गासम्म, कतारमा यसरी मनाए नेपालीले दसैँ

दाेहा, कतार- नेपालीहरूको महान् पर्व बडादसैँले कतारका पार्क, समुद्री किनार, कोर्निसका डुङ्गा र श्रमिक आवासलाई उल्लासमय बनाएको छ । शुक्रबारको बिदाको अवसर पारेर नेपाली सङघसंस्थाले सामूहिक टीका, जमरा र आशीर्वाद ग्रहण कार्यक्रम आयोजना गरे । अन्य नेपालीले पनि आफन्त र साथीभाइसँग मिलेर दसैँ मनाए । ठाउँ र परिस्थिति फरक भए पनि सबैको उद्देश्य एउटै थियो- परदेशमा नेपाली संस्कृति र परम्परा जोगाउनु ।

ncell

ग्रान्ड मलस्थित पार्कमा झापाकी सरिता राई परिवारका तीन सदस्यसँग टीका लगाउँदै थिइन् । कतार आएको १५ दिन मात्रै भएकी उनले पहिलो पटक परदेशमा दसैँ मनाएकी हुन् । मैले यहाँ पनि यसरी टीका लगाउन पाइन्छ भन्ने सोचेकी थिइनँ । पार्कमै भए पनि आफ्नो चाडपर्व मनाउन पाउँदा निकै खुसी लाग्यो,' उनले भनिन् ।

त्यहीँ मोरङकी अनुष्का तिमिल्सिना आफ्ना भाइहरू योगेन्द्र तिमिल्सिना र अनिल बुढाथोकीसँग टीका लगाउँदै थिइन् । कतार बसेको चार वर्षपछि यसपटक उनले भाइहरूसँग दसैँ मनाउने अवसर पाएकी हुन् । कोठामा टीका लगाउन सहज अवस्था नभएपछि उनीहरू पार्क पुगेका थिए ।

'हामी दुई भाइ र म एउटै कोठामा बसेर टीका लगाउन सक्ने अवस्था थिएन । त्यसैले पार्कमा आएर टीका लगाउनुपर्‍यो । यहाँ बसेर भए पनि दसैँ मनाउन पाउँदा रमाइलो लागेको छ,'अनुष्काले भनिन् ।

प्लाजामलमा आयोजित कार्यक्रममा भेटिएका काभ्रेका रामहरि चौलागाईंका लागि पनि यस वर्षको दसैँ विशेष बन्यो । कतारमा आठ वर्ष बिताएपछि उनले पहिलो पटक दसैँको टीका र जमरा ग्रहण गर्ने अवसर पाए । परदेशमा लामो समयसम्म टीका लगाउन नपाएका उनका लागि यसपटकको अनुभव सम्झनलायक बन्यो ।

जहाँ ठाउँ मिल्यो, त्यहीँ दसैँ

कतारको समुद्री किनारस्थित कोर्निसका डुङ्गादेखि सार्वजनिक पार्क र श्रमिकका आवाससम्म नेपालीले दसैँ मनाए । श्रमिकको बाक्लो बसोबास रहेका विभिन्न क्षेत्रमा साथीभाइले कोठाभित्रै टीका लगाएर पर्व मनाए । नेपाली सङ्घसंस्थाले पनि सामूहिक टीका, जमरा, आशीर्वाद र सांस्कृतिक कार्यक्रम आयोजना गरे ।

सरिता, अनुष्का र रामहरिका अनुभवले प्रवासमा दसैँ मनाउने नेपालीका फरक–फरक परिस्थिति उजागर गर्छन् । कसैका लागि कतारमा पहिलो दसैँ थियो भने कसैका लागि वर्षौँपछि टीका लगाउने अवसर । पर्याप्त ठाउँ र पारिवारिक वातावरणको अभाव भए पनि उनीहरूले उपलब्ध परिस्थितिमै पर्व मनाए ।

परिवार र जन्मभूमिबाट टाढा रहँदाको पीडाबीच दसैँले परदेशमा नेपालीलाई एकअर्कासँग जोड्ने काम गरेको छ । पार्क, आवास र सामूहिक कार्यक्रमस्थलमा लगाइएको टीका र जमराले नेपाली संस्कृति र आत्मीयता भौगोलिक दूरीभन्दा बलियो रहेको अनुभूति गराएका छन् ।

परदेशमा सबैको दसैँ मनाउने अवस्था समान छैन । कसैले संस्थागत कार्यक्रममा सहभागी भएर पर्व मनाए, कसैले कोठा वा पार्कलाई नै घरआँगन बनाए । तर टीका र जमरामार्फत आशीर्वाद लिने, आफन्तसँग खुसी साट्ने र नेपाली परम्परालाई निरन्तरता दिने चाहना भने सबैमा उस्तै देखियो ।

कतारमा देखिएका यी दृश्यले दसैँ चाडपर्व मनाउने अवसर मात्र नभई परदेशमा आफ्नो पहिचान, संस्कृति र सम्बन्ध जोगाउने माध्यमसमेत बनेको देखाउँछन् । भौगोलिक दूरीले परिवारलाई टाढा बनाए पनि टीका र जमरासँगै जोडिएका घरपरिवारका सम्झना नेपालीको मनमा उत्तिकै गाढा रहिरहन्छन् ।

uae

ताजा खबर

सम्बन्धित खबर