
बर्दिया : बर्दियामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि बालिकालाई एचपिभी खोप लगाउने अभियान सुरु हुँदैछ । स्वास्थ्य कार्यालय बर्दियाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा अभियान माघ २५ गतेदेखि सुरु हुने जानकारी दिइएको छ ।
नेपालमा दैनिक ४ जनाको मृत्यु पाठेघरको मुखको क्यान्सरका कारण हुने गरेको बताइन्छ । यस रोगको रोकथामका लागि सरकारले निःशुल्क खोप कार्यक्रम संचालन गरिरहेको छ ।
स्वास्थ्य कार्यालय बर्दियाका खोप अभियानका फोकल पर्सन राजु खड्काका अनुसार, यस वर्ष जिल्लाभर ४ हजार ७ सय किशोरीहरूलाई खोप लगाउने योजना रहेको छ । अघिल्लो आर्थिक वर्षमा कक्षा ६ र समुदायमा रहेका १०–१४ वर्षका किशोरीहरूलाई खोप दिइएको थियो ।
गत वर्ष २०८१/०८२ मा २०हजार ४ सय बालिकालाई कक्षा ६ देखि १० सम्म पढ्ने छात्रा लक्षित गरेर एचपिभी खोप दिइएको थियो । चालु वर्षमा अघिल्लो वर्ष छुटेका कक्षा ६ का किशोरीहरू र कक्षा ७ देखि १० का छुटेका किशोरीहरूलाई पनि खोप दिइनेछ । फोकल पर्सन खड्काका अनुसार, यो नियमित खोप अभियान हो । यस्तै जिल्लाभरका सबै कक्षा ६ देखि सुरु हुने विद्यालयहरूमा खोप लगाइने खड्काले बताए ।