
काठमाडौँ : गणेशप्रसाद खतिवडाद्वारा लिखित यात्रा संस्मरण कृति 'नुनको जोहो' सार्वजनिक गरिएको छ । शनिबार एक समारोहबीच काठमाडौंमा उक्त कृति विमोचन गरिएको हो ।
पुस्तकमाथि चर्चा गर्दै हेरम्बराज बाँस्तोलाले पुरानो समयदेखि अहिलेको तीव्र परिवर्तनसमेत देखेको पुस्तालाई छक्क पुस्ता नामाकरण गर्दै 'नुनको जोहो' छक्क पुस्ताले सिर्जना गरेको राम्रो कृति रहेको बताए । अर्का समीक्षक प्रतीक ढकालले कृति खासगरी पहाडी जीवन झेलेकाहरूका लागि आफ्नै भोगाइ रहेको भान पर्नेगरी लेखिएको धारणा राखे ।
ढकालले कृतिको आकार सानो भए पनि यसले पहाडी जीवन, संस्कृति, लोकभाका, भूगोल, संघर्षका कथा, नेपाली छन्द परम्परालगायत विविध विधा समेटेको हुनाले साथै लेखकले इमान्दार बनेर कुनै कुरा नढाँटी लेख्नाले पनि कृति सफल रहेको चर्चा गरे ।
शुभकामना मन्तव्य दिने क्रममा साहित्यकार डा. रेणुका थापा 'सोलु'ले आफूले भोगेको जीवन नै पुस्तकमा आएको र आफूले उक्त कुरा लेख्न नसकेकामा पछुतो भएको कुरा उल्लेख गर्दै पाठकलाई यस्तो लाग्नु नै लेखकको सफलता भएको कुरा उल्लेख गरिन् ।
शान्ति शर्माले 'नुनको जोहो' पुस्तक आफ्नै पुस्तक जस्तो लागेको बताउँदै छिटै अर्को पुस्तक ल्याउन लेखकलाई अनुरोध गरिन् ।
साझा प्रकाशनबाट प्रकाशित उक्त पुस्तकको सार्वजनिकीकरण कार्यक्रमका प्रमुख अतिथि आख्यानकार महेशविक्रम शाहले आफूले आफ्नो जीवनमा नुन बोकेर नहिँडेको भए पनि नुन बोक्नेहरूसँग हिँडेको प्रसंग उल्लेख गर्दै पुस्तक आफूलाई मनपरेको र यसलाई उपन्यासको रूपमा पुनर्लेखन गर्नसके अझ राम्रो हुने सुझाव दिए ।
नियात्रा समाज नेपालको व्यानरमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष मोहन चापागाईंले सभापतित्व ग्रहण गरेका थिए भने समाजकी महासचिव कवि तथा नियात्राकार भवानी खतिवडाले अत्यन्त आकर्षक ढंगले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।