
नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाली बृहत् शब्दकोशले पिपालाई ‘भरिया वा टहलुको काम गर्ने तल्लो तहको पल्टनियाँ जागिरदार’ अथ्र्याइएको छ । सरकारी हाकिमको भारी बोक्ने, घरको काम गर्ने र निजी सहयोगीको काम गर्ने व्यक्तिलाई पिपा भनिन्छ । उतिबेला नेपाल भनेर चिनिने काठमाडौंले देशका विभिन्न भूभागमा सरकारी कर्मचारीहरू सरकारको प्रतिनिधिको रूपमा खटाइन्थ्यो । त्यसरी सरकारी हाकिमको रमाना हुँदा उसको झोला, आवश्यक भारी र सामग्रीहरू पनि बोकेर जानुपर्दथ्यो । हाकिमको घरमा सबै घरायसी कामहरू तिनै पिपाहरूले गर्ने गर्दथे । त्यहीँ भारी बोकेर जाने भरियालाई पिपा नाम दिइयो । सरकारले पिपा गोश्वारा बेग्लै स्थापना गरेको थियो । जहाँ मूलतः उपत्यका वरिपरिका तामाङहरूलाई भर्ती गराइयो । ती पिपाहरू सरकारी हाकिम तथा माथिल्लो दर्जाका कर्मचारी जहाँ जहाँ जान्छन्, त्यहाँ त्यहाँ उनीहरूका भारी बोकेर जानु पर्दथ्यो । भारी बोक्दै जाँदा उनीहरू सुदूर र विकट गाउँहरूमा पुगे । उतिबेला अहिलेको जस्तो यातायात र बाटोघाटो, पुलपुलेसोको सुविधा थिएन । महिनौँ लगाएर ती ठाउँहरूमा पुग्थे । आफ्नो थातथलोबाट हजारौँ माइल टाढा र फर्किन निकै कष्टकर भएकोले ती पिपाहरूले जहाँ गए त्यहीँ आफ्नो बेग्लै बस्ती बसाए । दैलेख (१५ वर्ष) र प्युठान(११ वर्ष) अगाडि ती दुई वटा पिपा गाउँहरूमा जाने अवसर मिलेको थियो ।
पिपा गोश्वारा कार्यालयको इतिहास
प्रा.डा. विजय मानन्धर लेख्नु हुन्छ, ‘श्री पिपा गोश्वारा कार्यालय सन् १९०३(वि.स.१९६० वैशाख १) मा श्री पिपा गोश्वारा अड्डाको नामबाट स्थापना भएको थियो । सन् १९५३ (वि.स. २०१०) मा सो नाम परिवर्तन भई श्री पिपा गोश्वारा कार्यालय हुन गएको थियो ।’ (नेपालको सैनिक इतिहास–२, पृ.१८२) तर पिपाको चलन धेरै पहिलेदेखि नै थियो । बहादुर शाहको पालामा हनुमान ध्वज सैनिक कम्पनी गठन वि.स.१८४८ मा भएको थियो । सो कम्पनीमा २० जना पिपाहरू भर्ती भएका थिए ।(नेपालको सैनिक इतिहास, पृ.१०५) यो पिपा गोश्वारामा इतिहासदेखि नै तामाङलाई भर्ती गराइन्थ्यो । तामाङलाई पिपाभन्दा माथि कतै भर्ती गरिँदैनथ्यो ।
पिपा गाउँ एक
दैलेख र कालिकोटलाई रामाघाट नदीले विभाजन गर्छ । त्यही रामाघाट नदीको माथिल्लो डाँडामा छ, त्यो पिपा गाउँ । त्यो गाउँलाई चापा नयाँ बस्ती मौजा, विशाला नाम दिइएको छ । त्यो गाउँमा त्यतिबेला पचास घरधुरीजति थियो, सबै पिपा भएर गएका तामाङहरूका । रङ्गमान तामाङ त्यहाँका सामाजिक र राजनीतिक कार्यकर्ताको रूपमा लामो समयदेखि सक्रिय चर्चित हुनु हुँदो रहेछ । उनका अनुसार, त्यहाँ उनको जिजुबाजे पुगेका थिए । उनका जिजु बाजेका नाम देवान सिंह लोप्चन, बाजेका नाम नाम सिंह लोप्चन र पिता पूर्ण सिंह लोप्चन हुन् । उनका बाजे ८४ वर्ष र पिता ७९ वर्ष बाँचे । उनले जिजुबाजे चाहीँ देख्न पाएन रे । तर उनको बारेमा आफ्ना पिता र बाजेले बताएको कथाहरू अहिले पनि उनलाई दुरुस्तै याद रहेछ । उनका बाजेहरू नेपाल खाल्डोबाट उहिले नै हिँड्दै जाँदा प्युठान, रुकुम र भेरी नदी हुँदै गएका थिए रे । उनका आफन्तहरू कहिलेकाहीँ काम्छरे, त्यसलाई गाउँघरमा देउता चढेको भन्छ । त्यस्तो बेलामा कामेर फलाक्दै जाँदा कहाँ बास बस्यो, कुन बाटो आयो र बाटामा के के भए ? यी सबै पुराना इतिहास अहिले पनि बेला बेलामा पितृ चढेको समयमा फलाक्ने गरेको उनले बताए । भेरीको किनारामा आइपुग्दा उनका पुर्खालाई औँलो लागेको समेत फलाक्ने गरेको उनले सुनाए । सो गाउँमा लोप्चन, बम्जन, योन्जन, ब्लोन, स्याङबो, पाइन (पाख्रिन) थरका तामाङहरू छन् । ‘पहिला दाजु पुगेर त्यहाँ बस्न थाले, कुटुम्ब चाहिन्छ भनेर पछि बहिनी–ज्वाइँ लिएर गए, आफ्ना अरू दाजुभाइ र इष्टमित्रहरू पनि लिएर गए ।’ त्यसरी त्यो गाउँ बसेको स्थानीयहरूले सुनाए । त्यसैले आफ्नै नातागोताको मात्रै मानिसहरू त्यहाँ थिएँ ।
देशमा गणतन्त्र स्थापना भएर प्रथम राष्ट्रपति समेत निर्वाचित भइसकेका थिए । तर, त्यो गाउँमा सञ्चारको कुनै माध्यम नै थिएन । बाहिरी दुनियाँमा के भइरहेको छ ? कुनै सूचना पनि पाउने स्रोत नै थिएन । रेडियो र एफएमहरू पनि नसमात्ने, पत्रपत्रिकाहरू पुग्ने कुरै भएन । मोबाइल फोनको टावर नआउने जस्ता अवस्था थियो । त्यहाँ सूचनाको एक मात्रै स्रोत थियो, हाँक साप्ताहिक । त्यो पत्रिका पनि पार्टी च्यानलको माध्यमबाट कैयौँ दिनपछि पुग्दो रहेछ । दैलेख सदरमुकाममा काठमाडौंमा प्रकाशित हुने राष्ट्रिय दैनिक पत्रपत्रिकाहरू छिटोमा तीन दिन, नभए एक हप्तामा पुग्दो रहेछ । गाउँमा डुल्ने, भेटघाट गर्ने र कुराकानी गर्ने क्रममा स्थानीय कतिपय मानिसहरूलाई देशमा गणतन्त्र आइसक्यो र राजाको ठाउँमा राष्ट्रपति निर्वाचित भइसक्यो समेत थाहा थिएन । सीमित राजनीतिक कार्यकर्ता, शिक्षक तथा कर्मचारीलाई मात्र त्यो कुरा थाहा थियो ।
त्यो गाउँ आफैंमा आत्मनिर्भर थियो । बाहिरबाट ल्याउनु पर्ने नुन, लत्ताकपडा, विद्यार्थीको लागि पुस्तक र कापीहरू मात्रै । अन्यथा, गाउँलाई चाहिने अन्नपात, दाल, चामल, दूध र सागपात सबै आफंैले उत्पादन गर्ने । पानीघट्टा मेरो लागि नितान्त नयाँ थियो, त्यहाँ जडान गरेको मिल । पानीघट्टाले कसरी मकै पिन्ने, धान कुट्ने र दाल पिसाउने अनि तोरी पेलेर तेल निकाल्ने यी सबै कुरा उत्सुकतापूर्वक हेरेँ । त्यहाँ बस्दा मलाई सारा संसारबाट अलग्गिएर बेग्लै दुनियाँमा बसेको जस्तो महसुस भयो । जो सामुन्ने छ, उहीसित मात्रै बोल्न पाइने । फोन नलाग्ने भएर सुरुमा त निसास्सिएको जस्तो भयो । हप्ताको एक दिन योजना बनाएर माथि देउराली चाल्ने चौतारामा मलाई रङ्गमान लोप्चनले लिएर जान्थ्यो । घरबाटै को कसलाई फोन गर्ने लामो सूची बनाएर लान्थेँ । धन्न मोबाइल चार्ज गर्न सौर्य ऊर्जा थियो । दुई घण्टा हिँडेर माथि चौतारामा गएर हप्ताभरि पुग्ने गरी आफ्ना साथीभाइ, बुवा आमा, दाइभाउजू, गाउँ छरछिमेक र पार्टीका साथीहरूलाई फोन गर्थेँ । जब त्यो चौताराबाट ओरालो झर्दै घरतिर जाँदा मलाई बाहिरी दुनियाँबाट विच्छेद हुँदै गएको अनुभूति हुन्थ्यो । लट्टाईबाट चुँडिएको चङ्गा जस्तो लाग्थ्यो । त्यसैले, जो जसलाई फोन गर्ने भनेर सूचीमा राखेको व्यक्तिहरूलाई हप्ताभरिलाई धीत मरुन्जेल फोनमा कुरा गर्थेँ ।
पिपा गाउँ दुई
प्यूठानको अर्खा गाविसमा २०७१ सालमा जाने मौका मिल्यो । सिलसिला थियो, प्यूठानकी तत्कालीन सांसद दुर्गा पौडेलको नेतृत्वमा ओखरकोट पर्यटन एवं ग्रामीण सेवा समिति प्युठान काठमाडौं, नेपाल संस्थाले ओखरकोट विश्व कोश परियोजना सञ्चालन गरेको थियो । सो परियोजनाको उद्देश्य प्यूठानको सर्वाङ्गीण अध्ययन, अनुसन्धान र पुस्तक प्रकाशन गर्ने । त्यो अध्ययनलाई प्युठान जिल्लाको विकासको लागि भरपर्दो दस्ताबेजको रूपमा उपयोग गर्ने । विभिन्न विधाका विज्ञहरू मार्फत् अध्ययन र अनुसन्धान गराएका थिए । सोही सिलसिलामा, अर्खामा रहेका पुरानो तामाङ बस्तीको इतिहास र संस्कृतिबारेमा अनुसन्धानको लागि मलाई अनुबन्धित गराएर लगेका थिए । काठमाडौंबाट हामी मोहन विक्रम सिंह, मनु वि.क., राम बहादुर बुढा, बुटवलबाट डा.गितु गिरी, दाङबाट शशिधर भण्डारी जोडिए । हामीभन्दा अगाडि एउटा बेग्लै विज्ञ समूह गएर अनुसन्धानको क्षेत्र कार्य सकिसकेको रहेछ ।
नयाँ टोलीलाई पुरानो टोलीले स्वागत गर्ने र आफ्नो अनुभव सुनाउने अनि नयाँले पुरानालाई बिदा गर्ने उद्देश्यले एउटा परिचयात्मक समारोह हीरा पोखरी, मच्छिमा आयोजना गरेको थियो । त्यस अनुसन्धान प्रतिवेदनमा तामाङको बारेमा पंक्तिकार यस्तो लेखेको थिएँ– प्यूठानको एउटै गाविस अर्खामा तामाङहरू सुदूरपश्चिमका पहाडमा बसिरहेका छन् । मूलतः चेली र माइती वा कुटुम्ब नातागोता देखिन्छन् । दोङ र बोम्जनको बिचमा विवाह वारी लिने दिने चलन देखियो । त्यसरी उनीहरू निकै नजिकको कुटुम्ब देखिन्छ । शायद, इतिहासमा उनीहरू चेली–माइती–ज्वाइँ–चेला(ससुराली)का २ परिवारका सदस्यहरू त्यहाँ पुगे । अहिलेको उनीहरूको अवस्थिति हेर्दा त्यही झलक दिन्छ । जम्माजम्मी २९१ जना तामाङहरू प्यूठानमा रहेको देखाउँछन्, तथ्यांक र बसोबासले । त्यहाँका तामाङहरू बस्ने भौगोलिक भू–बनोट निकै पहाडी एवं विकट देखिन्छ । त्यो ठाउँलाई प्यूठानीहरू जिल्लाकै विकट गाविसका रूपमा स्विकार्छन् । उनीहरूको वरिपरि मगर, गिरी, खस, ठकुरी, दलितलगायत जातजातिका मान्छेहरू बस्दछन् । त्यसा गाउँमा एउटा प्रा.वि. सञ्चालनमा छ । स्थानीय रूपमा बिहाबारीको स्थिति हेर्दा अन्तरजातीय विवाह निकै भएको पाइन्छ । अन्तरजातीय विवाह मागेर भन्दा भागेर गरिएको पाइन्छ । तामाङले मगर, गिरी, गुरुङ, खस, दलित महिला र ती समुदायले पनि तामाङ महिला आदान प्रदान गर्ने निकै पुरानो चलन रहेछ । तामाङ चेली अरूको बुहारी बनेको र अरू समुदायको चेली तामाङको बुहारी बनेको निकै उदाहरणहरू देखिन्थे । त्यसरी उनीहरूबिच अन्तरजातीय विवाहले राम्रैसित मान्यता पाएको देखिन्थ्यो । त्यसबाहेक बागलुङ, कुँडुला, रामकोटका तामाङहरूसित उनीहरूको कुटुम्ब हेरी साइनो पुरानै रहेछ । कुँडुला बासी र प्रदीप तामाङले बताए अनुसार त्यहाँ योन्जन, लोप्चन, डुम्जन र स्याङबो चार थरका तामाङहरू बस्दछन् । त्यहाँको तामाङसित प्यूठानी तामाङको चेलीबेटी लिने दिने, मरणपरणमा उपस्थिति हुने चलन पुरानै रहेछ । (ओखरकोटः लेख संग्रह, पृ.२३९–४५, २०७२)
त्यो गाउँ पनि उतिबेला सरकारका हाकिमहरूको भारी बोक्दै पुगेका तामाङहरूका बस्ती रहेछ । पहिला प्यूठानको खलङ्गा, विजयनगर हुँदै त्यहाँ पुगेको बताउँथे । करिब पचास घरधुरी जति थिए । त्यहाँ बुढापाकासित अन्तरवार्ता लिँदा उनीहरूका पुर्खा त्यहाँ आएका बताउँथे । करिब दुई सय वर्षको वरपर पुगेको बताउँथे । त्यहाँ रहँदा कुँडुलाबाट आएको जन्ती र बिहेवारि प्रत्यक्ष हेर्न र अवलोकन गर्न पाएँ । विवाहको विभिन्न रीतहरू र प्रक्रिया रोचक लाग्दो थियो । विविध सगुनहरू थिए, ताम्बाले गज्जबले सजीव वर्णन गर्दै कुटुम्बलाई रीत बुझायो । छोरीलाई हुर्काएर विवाहयोग्य बनाउन परिवार, आफन्त र छरछिमेकको योगदानलाई कदर गर्दै बेहुला पक्षले नाता अनुसार रीत बुझाउनु पर्दो रहेछ । आमाले नौ महिना कोखमा राखेर अनि दशधारा दूध ख्वाएर हुर्काएकोले गर्दा आमालाई विशेष सगुन दियो, त्यसैगरी बुवालाई । फुपू, दिदीबहिनी, दाजुभाइ, मामा र इष्टमित्रलाई पनि फरक फरक सगुन बुझाए । विवाहका ती दृश्यहरू अवलोकन गर्न पाएँ ।
निष्कर्ष
माथिको दुई वटा पिपा गाउँहरूको आधारमा नेपालका विभिन्न कुना कुनामा यसरी पिपा भएर गएका थुप्रै तामाङ गाउँहरू हुनु पर्दछ । दैलेख पिपा गाउँका रङ्गमान तामाङले सुनाए अनुसार पश्चिम डोटीतिर पनि यस्तै पिपा गाउँ छ रे ! यी दुई वटा पिपा गाउँको मुख्य विशेषता नै आफ्नो भाषा र संस्कृतिको अझैसम्म जगेर्ना र संरक्षण देखियो । वरिपरि अरू भाषाले घेरिएर रहेको भए तापनि आफ्नो भाषा बोल्न नछोड्नुको अवस्थालाई भाषिक टापुको संज्ञा दिइन्छ । यसलाई अझ फराकिलो शब्दमा भाषिक र सांस्कृतिक टापु भन्नु पर्छ । आफ्नो पुर्खौली भूमिबाट टाढा भए पनि त्यसप्रति मायामोह देखाउनु र पुनः थातथलोसित जोडिने प्रयत्न हुनुलाई जराको खोजी भनिन्छ । रङ्गमान तामाङले पुर्खौली भूमि रसुवाको बुहारी लिएर गएपछि उनले थातथलोसित पुनः जोडिएको अनुभूति गरेका छन् ।
दैलेख जाँदा संगठनको इन्चार्ज भएर गएको थिएँ । जतिबेला म स्नातक सकाएर बसेको थिएँ । २३ वर्षको उमेरमा देश बनाउने र बदल्ने हुटहुटीले मलाई त्यहाँ सम्म पुर्यायो । दैलेखका डाँडाकाँडा हिँड्दा मेरो जुत्ता फाटियो तर देश बुझ्ने मौका पाएँ । ओखरकोटमा बन्दै गरेको मोहनविक्रम सिंहको घर देखेँ । यतिका वर्षमा ती गाउँहरू कति परिवर्तन भए होलान् ! के के परिवर्तनहरू भए होलान् ? गाउँको स्वरूप कस्तो भयो होला ? यी कौतुहलताका ज्वारभाटा मनमा उठिरहन्छ । पुनः ती पिपा गाउँहरू घुम्ने रहर जागेको छ ।
(लेखक, नेपाल खुल्ला विश्वविद्यालयमा ‘तामाङ इतिहास’ विषय प्राध्यापन गर्दछन् ।)