२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

खरानीको कविता

Nada
हरि तिमिल्सिना
२०८२ पुष ६ गते १५:४९
Shares
खरानीको कविता

हाम्रो पौरख पोखिई विगतमा टिस्टा र राबी पुग्यो,
पुर्खा वीर थिए सुगन्ध सुकिलो संसारमै फैलियो,
जे जेले हिमदेशबाट गतमा विश्वै पर्यो मूर्च्छना,
थाम्नै आज सकेन ती विगतका गाथा र ती गर्जना।

ncell

हामी हौं अभिमन्यु चक्रव्युहमा देशै नराम्रो फस्यो,
आई दुस्मन देशमा विष छर्यो कोब्रा बनेरै डस्यो,
कैल्यै सोच्न सकिन्न यो किसिमको विध्वंश होला भनी,
यस्तो दुर्दिन भोग्नलाई नपरोस् फर्केर कैल्यै पनि।

छर्राबाट छियाछिया तन भए खोलोज बग्यो रक्तको,
ज्वाला दन्दन दन्कियो मुलुकको गर्लम्म केन्द्रै ढल्यो,
के पायौ तिमीले धरोहरहरू आगो लगाईकन,
कालो यो इतिहास सक्छ कसले बिर्सूँ भनी बिर्सन।

हाम्रो मस्तकमा हिमालय थियो छातीभरी गौरव,
ऐले आपसमैं लडीकन भयौँ ती पाण्डवैकौरव,
 बेच्नैलाई खरानी मात्र छ यहाँ बेच्यौ सबै सौरभ,
 जोजोले जसरी सक्यौ मुलुक यो जाऊ सबै रौरव।

नौला सन्ततिका निमित्त जसले नासो खरानी दियौ,
रेट्यौ गर्दन ती सिपाहीहरूको जल्लाद जस्तै भयौ,
हाम्रो उच्च हिमाल झैं शिर झुक्यो उठ्दै नउठ्ने गरी,
बोकौं भष्म त्यही र अमृत छरौं जागौंं उठौं क्यै गरी।

uae

सम्बन्धित खबर