
पश्चिम नवलपरासी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ स्थित कृष्ण मन्दिर अगाडिको सडकखण्डमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय सुनवलका अनुसार बिहीबार बिहान लु ३१ प ७५३१ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार गरी दुई जना घाइते भएका थिए । घटनापछि प्रहरी निरीक्षक लक्ष्मण देवकोटाको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूलाई उद्धार गरी जिल्ला अस्पताल परासी पुर्याएको थियो ।
उपचारका क्रममा सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीमा काम गर्ने १८ वर्षीय दुर्योधन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल चालक पर्साको उपहरा गाउँपालिका–४ का २१ वर्षीय रमानन्द महरा चमारको अवस्था सामान्य रहेको छ ।
दुर्घटनापछि फरार सवारीको खोजी विस्तार गर्दै जाँदा घटनास्थलमा भेटिएका प्रमाण र सिसिटिभी फुटेजका आधारमा प्रहरी टोलीले दिउँसो २ बजे सुनवल–१ स्थित बी एन्ड बी ग्यारेजबाट लु २ ख ३५४२ नम्बरको टिपर बरामद गरेको छ । टिपर चालक सुनवल–१ का २५ वर्षीय ध्रुव सुनारलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बीर दत्त पन्तले जानकारी दिए ।