२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

‘लैंगिक हिंसा न्यूनीकरण गर्न सबै पक्षको सक्रिय भूमिका आवश्यक’

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ मंसिर ११ गते २२:४२
Shares
‘लैंगिक हिंसा न्यूनीकरण गर्न सबै पक्षको सक्रिय भूमिका आवश्यक’

रौतहट : रौतहटको राजपुर नगरपालिकामा १६ दिने लैंगिक हिंसाविरुद्धको अभियान अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइएको छ । 

ncell

नगर प्रमुख डा. मो. राजिकको अध्यक्षतामा बिहीबार आयोजित समापन कार्यक्रममा किशोरी पदयात्रासहित सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, प्रहरी उपरीक्षक रबिन कार्की, शसस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारी लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको उपस्थिती रहेको थियो । साथै, राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर, सम्पूर्ण वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र सुरक्षाकर्मीहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो । 

नगर प्रमुख डा.राजिकले लैंगिक हिंसा कुनै पनि समाजका लागि कलंक भएको बताउँदै यसलाई न्यूनीकरण गर्न सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिए । उनले नगरपालिकाले लैंगिक समानता र महिला सशक्तिकरणका लागि विभिन्न नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले भने, ‘लैंगिक हिंसाविरुद्धको अभियानलाई १६ दिनमा मात्र सीमित नगरी वर्षभरि नै सञ्चालन गर्न आवश्यक छ । पीडितलाई न्याय दिलाउन र समाजमा सचेतना फैलाउन प्रशासन र सुरक्षा निकाय सदैव तत्पर छन् ।’

प्रहरी उपरीक्षक रबिन कार्कीले समाजमा हुने लैंगिक हिंसाका घटनालाई निर्मूल पार्न सुरक्षा निकाय थप सशक्त भएर लाग्ने बताए।  उनले कुनै पनि घटना भएमा तत्काल प्रहरीमा जानकारी गराउन नागरिकहरूलाई आग्रह गरे ।  समापन कार्यक्रमअघि राजपुर बजारमा किशोरी पदयात्रा आयोजना गरिएको थियो । किशोरीहरूले ‘लैंगिक हिंसा अन्त्य गरौँ’, ‘समानता कायम गरौँ’, ‘विभेद चाहिँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सचेतना सन्देश प्रवाह गरेका थिए । 

प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै लैंगिक हिंसामुक्त समाज निर्माणका लागि नगरपालिकाले सबै सरोकारवालासँग समन्वय गर्दै अघि बढ्ने बताए ।

uae

सम्बन्धित खबर