
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयबाट हटाइएका तीन सदस्यले आफूहरूलाई नातावाद र कृपावादविरुद्ध आवाज उठाएको प्रतिफलस्वरूप निकालिएको दाबी गरेका छन् । बुधबारदेखि युवा तथा सामाजिक विज्ञ प्रदीप ज्ञवाली, सूचना–प्रविधि विज्ञ अरुण कटुवाल र शाखा अधिकृत आकृति घिमिरेलाई सचिवालयबाट हटाइएको हो ।
तीनैजना मिलेर जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफ्नी श्रीमती र अन्य नातेदारलाई सचिवालयमा गरेको भर्तीकै विषयमा हामीले उठाएको प्रश्नका कारण ‘प्रतिशोध’ स्वरूप पदबाट हटाइएको हो ।'
हटाइएका सदस्यहरूका अनुसार, प्रधानमन्त्रीको सचिवालयले भदौ २३ पछि जारी जेनजी आन्दोलनले उठाएको सुशासनको मर्मअनुसार काम गर्नुपर्नेमा उल्टै नातावादलाई प्रश्रय दिएको देखिएपछि उनीहरूले आपत्ति जनाएका थिए । तर त्यसपछि प्रमुख स्वकीय सचिवले ‘घेराबन्दी गर्दै’ नियुक्ति खारेजीको निर्णय गराएको आरोप छ ।
ज्ञवालीले भने, 'हामी कुनै रोजगारी खोजेर गएका थिएनौं । देशलाई सहयोेग होस् भनेर टीममा सहभागी भएका थियौं । तर नातावादको विरोध गर्ने बित्तिकै बर्खास्त गरियो ।'
कटुवाल र घिमिरेले पनि आफूहरूको भूमिकालाई अवमूल्यन गर्दै सरकारले ‘काम गर्ने समूह’ नै हटाइदिएको प्रतिक्रिया दिएका छन् ।
प्रधानमन्त्री कार्कीले सचिवालयको संरचना सानो बनाउने निर्णय गरेसँगै अहिले सचिवालयमा मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) तथा अवैतनिक जनस्वास्थ्य विज्ञ गरी जम्मा ६ जना मात्र बाँकी छन् । यापूर्व सचिवालयमा २० जना कार्यरत थिए ।
प्रमुख स्वकीय सचिव श्रेष्ठले आफ्नी श्रीमती संगीता श्रेष्ठलाई सचिवालयमै नियुक्ति गरेको विषय सार्वजनिक भएपछि विवाद चुलिएको थियो ।
आकृति घिमिरे भन्छिन्, 'सचिवालयको गरिमा पहिले नै कमजोर थियो । फेरि नातावाद दोहोरिएपछि हामीले त्यसविरुद्ध स्पष्ट रूपमा बोलेका थियौं । त्यही कारण हटाइयो ।'
उनका अनुसार सचिवालयमै बसेर मतदाता नामावलीलाई राष्ट्रिय परिचयपत्रसँग जोड्ने, अन्तरजिल्ला मतदानका प्रक्रिया, विदेशस्थित नेपालीका लागि मतदान प्रणाली लगायतका काममा उनीहरू निरन्तर सक्रिय थिए ।
कटुवालले सचिवालयभित्र ‘काम नगर्नेहरूभन्दा काम गर्नेहरू हटाइएका’ टिप्पणी गर्दै भने, “हामी तीनैजना दिनहुँ काममा समर्पित थियौं । तर अहिले सचिवालयमा रहेका धेरैलाई न बालुवाटारमा देखिन्थ्यो, न सिंहदरबारमा ।”
ज्ञवाली, कटुवाल र घिमिरेले प्रधानमन्त्री कार्कीलाई कुनै विशेष समूहको प्रभावबाट बाहिर निस्केर राष्ट्रहितमा निर्णय लिन आग्रह गरेका छन् । साथै उनीहरूले प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई हटाउनुपर्ने माग दोहोर्याएका छन् ।

