
काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुुर देउवाले निवासमै बोलाएर आफूूनिकट नेताहरूसँग छलफल गरिरहेका छन् । विशेष महाधिवेशन र नियमित महाधिवेशनको बहस चर्किँदै जाँदा संस्थापन पक्ष चुनावअघि कुनै पनि महाधिवेशन गर्न नहुनेमा अडिग छ ।
संस्थापन इतरपक्षका नेता डा.शेखर कोइराला नियमित महाधिवेशनको पक्षमा उभिँदै आएका छन् भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनका पक्षमा छन् ।
शेखर विशेष महाधिवेशनका हस्ताक्षरकर्ताहरूलाई समेत बोलाइएर नियमित महाधिवेशनका पक्षमा दबाब दिन प्रयत्न गरिरहेका छन् । उनले विशेष महाधिवेशन नै गर्नुपरे केन्द्रीय समितिको निर्णयअनुसार गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का भने कुनै हालतमा विशेष महाधिवेशन हुन नदिन पुस मसान्तभित्र कार्यतालिका ल्याउनुपर्ने पक्षमा छन् । तर संस्थापन पक्षले चुनाव वा महाधिवेशनमध्ये एक मात्र विकल्प रहेको भन्दै विशेष महाधिवेशनका लागि दबाब बढे पार्टी फुटसम्मको सम्भावना भएको बताइरहेको छ ।
सभापति देउवाले चुनावअघि महाधिवेशन गरिएमा आन्तरिक द्वन्द्व बढेर पार्टीलाई चुनावमा क्षति पुग्ने भन्दै सावधानी अपनाउनु पर्ने धारणा राख्दै आएका छन् । तथापि नेतृत्वले निर्णय गरेमा आफू त्यसविपरीत नजाने संकेत पनि दिएका छन् ।