२०८२ मंसिर ११ गते बिहिवार / Nov 27 , 2025 , Thursday
२०८२ मंसिर ११ गते बिहिवार
Ads

ध्रुवीकरणमा दलहरू : आश र त्रासले जोडिँदै नेताहरू

shivam cement
दिवाकर अधिकारी
२०८२ मंसिर ११ गते ०६:४०
Shares
ध्रुवीकरणमा दलहरू : आश र त्रासले जोडिँदै नेताहरू

काठमाडौं : उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच एउटै चिन्हमा चुनाव लड्ने भएका छन् । यी दुवै दल जेनजी आन्दोलनपछि जन्मिएका दल हुन् । उज्यालो नेपाल पार्टी सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको समर्थनमा बनेको पार्टी हो । हाम्रो नेपाल पार्टी अभियन्ता खगेन्द्र सुनारको नेतृत्वमा छ । सुनारले छुट्टै दल दर्ता गरिसकेका थिए । तर अन्तिममा उज्यालो नेपाल पार्टीसँग सहकार्य गर्न तयार भएर उज्यालो नेपाल पार्टीको चुनाव चिह्न चिममै चुनाव लड्ने निर्णय लिए । 

संयुक्त चुनाव चिह्नमा चुनाव लड्ने निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको थियो । जसलाई सम्बोधन गर्दै हाम्रो पार्टी नेपालका अध्यक्ष सुनारले लामो समयदेखि पछाडि परेका समुदायले संघर्ष गर्दै आएको बताए । सुशासनको पक्षमा र समृद्धिको पक्षमा उभिन सहकार्य आवश्यक रहेको उनले बताए । 

उनी भन्छन्, ‘सहकार्यमा थारु आउँदै छन्, मधेशी आउँदै छन् । पूर्वका जनजाति र पहिचानका आन्दोलनका अगुवाहरू आउँदै छन् । उत्पिडनका विभिन्न आन्दोलनमा आवाज उठाएकाहरू एकीकृत हुँदै छौं ।’ 

बुधबार नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा एकताका लागि तयार भएका छन् । रास्वपा वैकल्पिक राजनीतिको नेतृत्व गर्दै आएको दाबी गर्ने पार्टी हो । यो पार्टी अघिल्लो चुनावबाट उदाएको नयाँ दल हो । ७ असार २०७९ मा पार्टी घोषणा गरेर ४ मंसिर २०७९ को चुनाव लडेको रास्वपा विघटित प्रतिनिधि सभामा चौथो दल बनेको थियो । 

विवेकशील साझा नेपालमा वैकल्पिक राजनीतिका लागि प्रयासरत दल हो । दुवैले एकीकरण गरेर आगामी २१ फागुनको चुनाव लड्ने निधो गरेका हुन् । 

विवेकशील साझाकी महासचिव रन्जु दर्शना वैकल्पिक राजनीतिलाई स्थापित गर्न बिनाकुनै बार्गेनिङ रास्वपासँग एकताका लागि तयार भएको बताउँछिन् । जेनजी आन्दोलनपछि गत असोजमै वैकल्पिक शक्तिबीच एकताका लागि विवेकशील साझा जुनसुकै त्याग गर्न तयार घोषणा गरिएको स्मरण गर्दै उनले भनिन्, ‘यो कुनै बार्गेनिङको बेला होइन । कुनै पद नमागेर बिनासर्त दुई कदम पछि हटेर भए पनि आफ्नो एजेन्डाका लागि तयार भएका हौं ।’ आइतबार राष्ट्रिय सभागृहमा दुई दलबीच एकताको औपचारिक घोषणा हुने दर्शना बताउँछिन् । 

यसबाहेक पुराना शक्तिसमेत मोर्चाबन्दीमा लागिसकेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १२ वटा कम्युनिस्ट पार्टी र समूह मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । यो पुराना राजनीतिक दलहरू अस्तित्व रक्षाका लागि एकीकृत भएको ज्वलन्त उदाहरण हो । 

यसबाहेक पनि दल ध्रुवीकरणमा छन् । संघीय लोकतान्त्रिक मोर्चामा रहेका मधेश केन्द्रित दलहरू निर्वाचनमा तालमेलको प्रयासमा छन् । 

यो मोर्चामा तराई–मधेश केन्द्रित दलहरू डा. सिके राउत नेतृत्वको जनमत पार्टी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रहेका छन् । 

अर्थात्, चुनावको मिति नजिकिएसँगै राजनीतिक दलहरूमा ध्रुवीकरण बढ्दो छ । जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा मतदाताले मत परिवर्तन गर्न सक्ने त्रासमा पुराना राजनीतिक दल एकीकृत हुँदै छन् । नयाँ शक्तिहरू छरिए फेरि पुरानै शक्तिले चुनाव जित्न सक्ने त्रासमा नयाँ शक्ति छन् । यसकारण जेनजी आन्दोलनपछि जन्मिएका दलहरू पनि ध्रुवीकरणमा लागेका हुन् । 

राजनीतिक दलहरूमा चलिरहेको ध्रुवीकरणले निर्वाचन कार्यक्रमसमेत प्रभावित भएको छ । मंसिर एक गतेदेखि १० दिन निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थियो । 

निर्वाचन आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार ‘सरोकारवालाहरूको माग र केही दल दर्ता प्रक्रियामै रहेकाले’ निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय चार दिन थपिएको हो । 

अब प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि मंसिर १४ गतेसम्म दल दर्ता सक्नेछन् । बुधबारसम्म भने निर्वाचन आयोगमा १ सय ६ वटा दल दर्ता भएका छन् । 

ADV

सम्बन्धित खबर