
काठमाडौं : नेकपा एमालेभित्र कुनैबेला सबैभन्दा निकट रहेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच यतिबेला बोलचाल बन्द छ । २०८१ साल वैशाखमै पार्टी सदस्यता नवीकरण गरेर पार्टीको सक्रिय राजनीतिमा फर्किने साइत कुरेर बसेकी भण्डारीको चाहना ओलीकै उत्तराधिकारी हुने थियो । तर तेस्रो कार्यकाल पनि नेतृत्वमा रहने ओलीको इच्छालाई भण्डारीले नबुझिदिएपछि ओलीले भण्डारीको सदस्यता नवीकरण गरिदिएनन् ।
राष्ट्रपति भइसकेको व्यक्तिलाई पार्टीमा ल्याउन नहुने तर्क स्थापित गरेर पार्टीको बहुमतबाट भण्डारीको संगठित सदस्यता रोकियो । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीकै डिजाइनमा पार्टी केन्द्रीय समितिले निर्णय गरेर भण्डारीको सदस्यता ‘होल्ड’ गरेपछि केपी–विद्याबीच पानी बाराबारको स्थिति बनेकोे छ । पार्टी अध्यक्ष हुने महत्वकांक्षा पूरा नभएपछि वैकल्पिक नेतृत्वको खोजीमा भण्डारीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अघि बढाएकी छन् ।
यही अवस्थामा ११औं महाधिवेशनमा भाग लिनसमेत नपाउने भएकी विद्याले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई आफ्नो उम्मेदवार बनाएर अघि बढेकी हुन् । विद्याको साथ पाउँदा पोखरेलले मंसिर २७–२९ का लागि तय भएको महाधिवेशनमा अध्यक्षको उम्मेदवारबाट पछि नहट्ने दृढता व्यक्त गरेका छन् । उनी मंगलबार आधिकारिक रूपमै पार्टी अध्यक्षको उम्मेदवारी घोषणा गरेरै अघि बढेका छन् ।
नवौं र १०औंं महाधिवेशनदेखि निरन्तर अध्यक्ष बनेका ओलीले आफ्नै लागि पार्टीको विधानमा भएको नेतृत्वका लागि ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था उल्ट्याएका छन् । यस विषयमा पार्टीभित्र पाखरेलसहितका शीर्ष नेताहरूले ओलीलाई साथ नदिए पनि केन्द्रीय समितिको बहुमतबाट पारित भइसकेको छ । ११औं महाधिवेशनमा ओलीलाई रोक्न सक्ने कसैको ताकत नहुुने नेता महेश बस्नेत बताउँछन् । पार्टी र नेतृत्वमाथि चौतर्फी हमला भइरहेका बेला यसपटक देखाउनकै लागि पनि ओलीलाई अध्यक्ष बनाएरै छाड्ने घोषणा गरेर उनी प्रदेशस्तरीय भेलामा भाषण गर्दै हिँडेका छन् ।
नवौं महाधिवेशनमा ओलीकै टिमबाट उपाध्यक्ष निर्वाचित भएका पोखरेललाई उनैले १०औंं महाधिवेशनमा विशेष पद सिर्जना गरेर सर्वसम्मत वरिष्ठ उपाध्यक्ष बनाए । बितेको एक दशकमा ओलीको पक्षमा निरन्तर उभिएका पोखरेल अहिले पूर्वउपाध्यक्ष भण्डारीको बलियो समर्थनमा ओलीमाथि नै चुनौती बनेका हुन् ।
महाधिवेशनको पूर्वसन्ध्यामा एमालेले देशभरबाट महाधिवेशन प्रतिनिधि छनोटको तयारी गरिरहेको छ । प्रतिनिधि छनोटदेखि नै आफ्नो पक्ष हावी गराउने संस्थापनको रणनीति देखिन्छ । तर पोखरेलका पक्षमा देखिएका नेताहरू पनि कमजोर छैनन् । यद्यपि महाधिवेशनमा नेताहरू बलिया देखिए पनि गुटगत हिसाबबाट प्रतिनिधिको संख्यात्मक अवस्थाले नेतृत्वको निर्धारण गर्ने नेताहरूले बताएका छन् । ‘देशभरका महाधिवेशन प्रतिनिधिले रुचाएको व्यक्ति नै नेतृत्वमा पुग्ने हो,’ एमाले सचिव गोकर्ण विष्टले भने, ‘हामी पहिले त महाधिवेशन प्रतिनिधि छनोटको काम टुंग्याउन लागेका छौं । त्यसपछि उम्मेदवारीका विषयमा छलफल हुन्छ ।’ महाधिवेशन प्रतिनिधिले विवेकपूर्ण ढंगबाट नेतृत्व चयन गर्ने र त्यो पार्टीमा रूपान्तरणको आवश्यकता पूरा गर्नेगरी हुने उनी बताउँछन् ।
एमालेले मंसिर १३ गते देशभर तथा प्रवासमा एकसाथ महाधिवेशन प्रतिनिधि चयन गर्दै छ । प्रतिनिधि छनोटमा उच्च विवेकको प्रयोग, स्वस्थ, मर्यादित र निर्भयताका साथ सक्रिय सहभागी हुन वरिष्ठ उपाध्यक्ष पोखरेलले आह्वान गरेका छन् । पोखरेलले भनेका छन, ‘पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ । पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न म प्रतिबद्ध छु ।’
गत हप्ता बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले पार्टीमाथि चौतर्फी हमला भइरहेको अवस्थामा आफ्नै नेतृत्वमा सर्वसम्मत निर्णय गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताएका थिए । तर पोखरेलले त्यसको काउन्टरमा कार्यकारी भूमिकाबाट बिदा हुन सुझाव दिएका थिए । जवाफमा ओलीले प्रतिस्पर्धालाई स्वीकार गर्ने तर चुनाव हारेपछि माधव नेपाल र भीम रावलले जस्तो पार्टी नछाड्न भनेका थिए । त्यसलाई ओलीको चेतावनीका रूपमा अथ्र्याउँदै सचिवालयका एक सदस्यले मध्यान्हसँग भने, ‘अध्यक्षले ईश्वर कमरेडलाई प्रतिस्पर्धाबाट पछि हट्न संकेत गर्दै माधव र भीम रावलको अवस्थामा पुग्ने चेतावनी दिइसक्नुभएको छ ।’ ओलीसँग नवौं महाधिवेशनमा माधव नेपाल र १०औंमा भीम रावलले प्रतिस्पर्धा गरेका थिए । यी दुवै नेता एमाले छाडेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा पुगेका छन् ।
एमाले उपमहासचिव प्रदीप ज्ञवाली एकताबद्ध भएर अगाडि बढ्ने कुरामै पार्टी, नेता र कार्यकर्ता सबैको कल्याण हुने बताउँछन् । उनले भने, ‘अहिलेको आवश्यकता पार्टीलाई एकताबद्ध बनाएर लैजाने हो तर कोही कसैले महाधिवेशनमा प्रतिस्पर्धा गर्छु भन्छ या गर्छ भने त्यस्तो प्रतिस्पर्धा गर्न पनि सकिन्छ भन्ने कुरामा एमाले खुला छ ।’
ओलीलाई सर्वसहमतिमा अध्यक्ष हुन नदिने घोषणा गरेका पोखरेलले महाधिवेशन प्रतिनिधि छनोटपछि प्यानल घोषणा गर्ने तयारी गरेका छन् । उनलाई उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य कर्णबहादुर थापालगायत नेताहरूले साथ दिने भएका छन् । ओलीका पक्षमा महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिवत्रय पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल, सचिवहरू पद्मा अर्याल र छविलाल विश्वकर्मा, महेश बस्नेत, रामकुमारी झाँक्रीलगायत नेताहरू खुलेर लागेका छन् ।