२०८२ मंसिर ११ गते बिहिवार / Nov 27 , 2025 , Thursday
२०८२ मंसिर ११ गते बिहिवार
Ads

स्वदेशमै स्टार्टअपको चाहना : कर्जाका लागि १० हजार आवेदन

shivam cement
छबि सापकोटा
२०८२ मंसिर ११ गते ०६:३५
Shares
स्वदेशमै स्टार्टअपको चाहना : कर्जाका लागि १० हजार आवेदन

काठमाडौं : देशमा रोजगारी भएन भन्दै बिदेसिनेको संख्या बर्सेनि बढिरहेका बेला स्वदेशमै नयाँ सम्भावना खोजेर स्टार्टअप गर्ने बढिरहेका छन् । थोरै लगानी गरेर नवीन व्यवसाय थालनी गर्नेहरूको संख्या सहरी क्षेत्रमा बढेको छ । 

स्टार्टअप उद्यमीलाई प्रोत्साहित गर्न औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले तीन वर्षदेखि सुरु गरेको स्टार्टअप कर्जाका लागि आवेदनको उत्तिकै ओइरो छ । चालु आर्थिक वर्षमा अहिलेसम्म स्टार्टअप कर्जाका लागि १० हजार २ सय ४४ उद्यमीका आवेदन परेका छन् । प्रतिष्ठानबाट ३ प्रतिशत ब्याजदरमा बिनाधितो ऋण प्राप्त गर्न सकिने भएपछि स्टार्टअप कर्जाको माग बढेको हो । 

प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ता स्टार्टअप कर्जाका लागि आवेदन दिनेको संख्या ठुलो रहेको बताउँछन् । उनका अनुसार १० हजारभन्दा बढी आवेदन आएकोमा ८ हजार २ सय ३ अनलाइनबाट आएका हुन् । आवेदन सोचेभन्दा धेरै आउनुले युवाहरू स्टार्टअपमा आकर्षित भएर कर्जा खोजिरहेको बुझाउने गुप्ता बताउँछन् । ‘उद्यमशिलताका लागि यो निकै सकारात्मक संकेत हो,’ उनले भने । 

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप उद्यम कर्जा कार्यक्रमका लागि ७३ करोड रुपैयाँ बजेट छुट्याएको छ । स्टार्टअप कर्जाको आवेदन धेरै परेकाले फागुनको पहिलो सातासम्म कर्जा उपलब्ध लक्ष्य राखिएको छ । यो वर्ष गत वर्षभन्दा बजेट कम हुँदा ४ सय जनालाई उक्त कर्जा उपलब्ध गराउने लक्ष्य लिइएको प्रतिष्ठानले जनाएको छ । 

गत वर्ष स्टार्टअप कर्जाका लागि ५ हजार १ सय ५८ को आवेदन परेकोमा ६ सय ६१ जनाले कर्जा प्राप्त गरेका थिए । त्यसका लागि गत वर्ष बजेटमा १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो । गत वर्ष धेरैले स्टार्टअप कर्जा प्राप्त गरेपछि यो वर्ष आवेदन बढेको देखिन्छ । 

‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८२’ अनुसार न्यूनतम ५ लाख र अधिकतम २० लाख रुपैयाँसम्मको कर्जाको प्रावधान तोकिएको छ । गत वर्ष कर्जाको सीमा २५ लाखसम्म थियो । यस्तै, कर्जाका लागि व्यवसाय दर्ता भएको १० वर्ष ननाघेको र वार्षिक कारोबार १५ करोड रुपैयाँभन्दा बढी नभएको हुनुपर्ने सर्त छ । स्टार्टअप उद्यमको क्षेत्रमा सबैभन्दा धेरै आवेदन कृषि तथा उत्पादनमूलक क्षेत्र परेको छ । यस्तै, सूचना प्रविधि तथा डिजिटल क्षेत्र र पर्यटन उद्यमीले कर्जाका लागि आवेदन दिएका छन् । 

स्टार्टअप उद्यम कर्जाका लागि तीन जना मूल्यांकन समितिले प्राप्त आवेदनमध्ये सर्टलिस्ट तयार गर्नेछ । जसमा प्रतिष्ठानको निर्देशक वा अधिकृतस्तरको कर्मचारी राष्ट्रिय वाणिज्य वैंकका अधिकृतस्तरको प्रतिनिधि, प्रतिष्ठानले तोकेको सम्बन्धित विषय क्षेत्रको विज्ञले प्राप्त आवेदनबाट सर्टलिस्ट माघ महिनाभित्र तयार गर्ने कार्ययोजना रहेको छ । स्टार्टअप उद्यमका लागि कर्जा प्राप्त गर्न व्यवसायले उत्पादन गर्ने वस्तु वा सेवाको उत्पादनमा नवीन एवं सिर्जनशील सोच र प्रविधिको उपयोग गरी उद्यम व्यवसाय गरेका लागि प्राथमिकतामा राखिने प्रतिष्ठानले जनाएको छ । 

ADV

सम्बन्धित खबर