
काठमाडौं : अवेक नेपालद्वारा सञ्चालन गरिएको ‘प्रोजेक्ट पवित्र’ अन्तर्गत आइतबार कोटेश्वर महादेव स्थान वरपर सरसफाइ अभियान सञ्चालन गरिएको छ । अभियानमा २५ भन्दा बढी स्वयंसेवीको सक्रिय सहभागिता थियो । उनीहरूले संयुक्त रूपमा १५ बोरा फोहर संकलन गरेको आयोजकले जनाएको छ ।
यसै पहलअन्तर्गत भरतपुर चितवनमा पनि तीनवटा सफाइ अभियान सफलतापूर्वक सम्पन्न भइसकेका छन् । प्रोजेक्ट पवित्रलाई दीर्घकालीन वातावरणीय अभियानका रूपमा अघि बढाइँदै आएको संस्थाले यसलाई निरन्तरता दिने बताएको छ ।
अब अभियान सिंगो नेपालभरि विस्तार गरिने तयारी गरिएको छ । देशका प्रमुख धार्मिक स्थल, सांस्कृतिक तथा ऐतिहासिक स्थान, नदी–पोखरी र सामुदायिक सार्वजनिक स्थलहरूलाई सफा, सुरक्षित र व्यवस्थित बनाउने लक्ष्यसहित देशव्यापी रूपमा गतिविधि सञ्चालन गर्ने अवेक नेपालले जनाएको छ ।