
रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० मा एक युवा मृत फेला परेका छन् । सोही वडाको गारवाङस्थित भानुभक्त माविको पुरानो भवनको कक्षा कोठामा झुन्डिएको अवस्थामा एक व्यक्ति मृत फेला परेका प्रहरीले जनाएको छ । मृतक व्यक्ति सोही वडा निवासी २१ वर्षीय राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।
नेपाली आफैंले लगाएको कपडा प्रयोग गरेर कक्षा कोठाको झ्यालमा झुन्डिएको अवस्थामा फेला परेको पुनले बताए । नेपालीले मदिरा सेवन गर्ने गरेको र मानसिक तनावका कारण आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृतक नेपालीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पुर्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।