
रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा जारी सामाचककेवा सन्तपुर मेला जुवाको अखडामा रूपान्तरण भएको आरोप स्थानीयले लगाएका छन् । कात्तिक १९ गतेदेखि सञ्चालनमा आएको सातदिने मेलामा लङ्गुर–बुर्जा, डाइसलगायतका जुवाका खेलहरू खुलेआम चलिरहेका छन् ।
स्थानीयका अनुसार मेलास्थलमा दर्जनौं ठाउँमा रातभर जुवाका स्टल सञ्चालनमा रहँदा वातावरण बिग्रिएको छ । राति अबेरसम्म हारजितका खेल चल्दा झगडा र विवाद बढ्न थालेको उनीहरूको गुनासो छ ।
प्रहरी उपस्थिति देखिए पनि नियन्त्रणका उपाय नअपनाएको भन्दै स्थानीयले प्रहरी प्रशासनप्रति असन्तोष व्यक्त गरेका छन् । “प्रहरीकै मिलोमतोमा जुवा चल्छ, पैसा उठ्छ, र उनीहरू हेरेर हिँड्छन्,” एक स्थानीयले आक्रोश पोखे ।
स्थानीयका अनुसार मेलामा खटिएका केही प्रहरी स्वयंले कमिसन लिएर जुवालाई संरक्षण दिएको शंका गरिएको छ । यस्तै, जुवाका कारण चोरी, मादक पदार्थ सेवन, भिडभाड र सुरक्षा जोखिम बढ्दै गएको बताइन्छ ।

यस विषयमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जुवाजन्य गतिविधि रोक्ने प्रतिबद्धता जनाउँदै भनिन्, “कुनै पनि जुवाको क्रियाकलाप सह्य हुँदैन, नियन्त्रण गरिनेछ ।”
तर स्थानीयले भने प्रहरीको प्रतिबद्धता र व्यवहारमा फरक रहेको आरोप लगाएका छन् । मेला सुरु भएको तीन दिन बितिसक्दा पनि कुनै ठोस कारबाही नभएको उनीहरूको भनाइ छ ।
सुरक्षा व्यवस्थामा कमजोरीका कारण बालबालिका, महिला र परिवारका लागि मनोरञ्जनको वातावरण कमजोर बन्दै गएको मेला हेर्न आएका एक शिक्षकले बताए ।
जुवाजस्ता अवैध गतिविधिले मेलाको सांस्कृतिक र सामाजिक महत्व छायामा परेको भन्दै स्थानीयले तत्काल नियन्त्रणका लागि जिल्ला प्रशासन र उच्च प्रहरी अधिकारीको ध्यानाकर्षण गराएका छन् ।