
डोल्पा : डोल्पाको त्रिपुरासुन्दरीमा बजार अनुगमन गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिकाको मुख्य बजारसमेत रहेको त्रिपुराकोट बगर बजार क्षेत्रमा अनुगमन गरिएको हो ।
हिउँद समय नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी, महंगी र अखाद्य वस्तुको बिक्री वितरण रोक्न जिल्ला प्रशासन कार्यालय डोल्पा र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आयोजनामा संयुक्त रूपमा बुधबार बजार अनुगमन गरिएको हो ।
संयुक्त बजार अनुगमन टोलीले बगर बजारभित्र सञ्चालित किराना पसल, खुद्रा पसल, होटललगायत व्यवसायीहरुमा अनुगमनको क्रममा २६ हजार ४ सय ३२ बराबरको लेबल नभएका र म्याद नाघेका सामान समेत बरामद गरी नष्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय डोल्पाका प्रमुख खिम प्रकाश शाहले जानकारी दिए ।

उनका अनुसार विभिन्न किराना, तरकारी, मदिरा पसल तथा होटेलमा गरिएको अनुगमनमा लेबल नभएका र म्याद नाघेका मैदा, दालमोट, चिजबल, जुस, सस, कुखुराको दाना, चामललगायतका सामान बरामद गरी नष्ट गरिएको हो ।
कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले बजार अनुगमन गरिएको उनको भनाइ छ ।
अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसूची टाँस नगरिएको, होर्डिङ बोर्ड नराखेको, म्याद नाघेका सामग्री बिक्री गरेको भेटिएको अनुगमनमा सहभागी जिल्ला प्रशासन कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेलले जानकारी दिए । ‘गुणस्तरहीन तथा म्याद गुज्रिएका सामग्री बरामद गरेर नष्ट गरिएको छ,’ उनले भने ।
मूल्यसूची नराखेका पसलमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, होर्डिङ बोर्ड नराखेका पसलहरुमा तत्काल राख्न अनुरोध गरिएको पौडेलले बताए । अर्को पटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारबाहीसमेत गरिने उनले जानकारी दिए ।

व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख शाहले बताए ।
जिल्ला प्रशासन कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षक कार्यालय, त्रिपुराकोट प्रहरी चौकीका प्रहरीलगायतको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो ।