२०८२ असोज २८ गते मङ्गलवार / Oct 14 , 2025 , Tuesday
२०८२ असोज २८ गते मङ्गलवार
Ads

बर्सेनि डुब्छ मधेश, राहत लिएर किन पुग्दैन सरकार ?

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ असोज २५ गते ०६:२५
बर्सेनि डुब्छ मधेश, राहत लिएर किन पुग्दैन सरकार ?

रौतहट : मधेश प्रदेशका जिल्ला हरेक वर्षको वर्षायाममा बाढी र डुबानमा पर्छन । गत वर्ष असोजको ११ र १२ गतेको अविरल वर्षाले त्राहिमाम भएका नागरिकहरू यस वर्ष पनि असोज १८ गतको वर्षाले विचल्लीमा परेका छन् । उनीहरू प्राकृतिक विपद्बाट बच्ने दिगो व्यवस्थापन त खोजिरहेकै छन् । तत्कालको आवश्यकता पूर्ति गर्न पनि उत्तिकै चुनौतीपूर्ण छ ।

यस वर्षको असोज १८ गतेको वर्षा र त्यसपछि आएको बाढीले रौतहटका सदरमुकाम गौरसहित करिब आधा दर्जन नगरपालिका डुबानमा परे । राजपुर–१ राम टोल बस्ने ललिता रामको फुसको घर बाढीले बगाइदियो । उनी घरबारविहीन भए । यस्तो दुःखमा उनले सरकार भेटाउन सकिरहेका छैनन् । बकिया नदीको पानी अचानक घरमा प्रवेश गरेपछि उनले घरमा राखेको लताकपडासमेत निकाल्न सकेनन् । अनाज पनि रहेनन् । यस्तो बेला उनी बाँच्नका लागि आवश्यक न्यूनतम आवश्यकतापूर्तिकै समस्यामा छन् । 

घर बगाउनुभन्दा ज्यादा समस्या उनका लागि वैकल्पिक ठाउँमा सर्न नसक्नु रहेको छ । किनभने हरेक वर्षजसो घर बगाउँछ, ज्यान बचाएपछि अन्य केही बच्दैन । यस्तोमा डुबान नहुने ठाउँमा बस्न पाए हुने वा डुबान छेक्ने उपाय सरकारले खोजिदिए हुन्थ्यो भन्ने उनको अपेक्षा छ । 

बर्सेनि घर डुबानमा पर्दासमेत कुनै प्रकारको राहत र क्षतिपूर्ति पाउन नसकेको पीडितहरूको गुनासो छ । सरकारले बर्सेनि राहत दिने कुरा गरे तापनि एक बोरा चामल दिएर टार्ने गरेको उनीहरूको दुःखेसो छ । 

राजपुर–१ कै रुबी खातुन अहिले छिमेकीको घरमा आश्रय लिएर बसिरहेकी छन् । बाढी आएपछि घरमा बस्ने अवस्था छैन । घरमा रहेको लताकपडा तथा अन्न भिजिसकेका छन् । सुकाएर कपडा प्रयोग गर्न सकिने भए पनि अनाज सबै बिग्रेपछि तनाव छ । 

गौर नगरपालिका–२ का इन्द्रजित रामको घर पनि डुबानमा पर्‍यो ।  बाढीको पानी घरमा पसेपछि घरभित्र राखिएका लताकपडा तथा अन्न सबै भिजे । हाल उनको परिवार सेफ हाउसभित्र आश्रय लिएर बसिरहेको छ । बाढी र डुबानपछि बर्सेनि सरकारले विभिन्न राहतको प्याकेज घोषणा गरे पनि नागरिकले केही नपाएको उनको गुनासो छ । 

१५ हजार हेक्टरभन्दा धेरै धानबाली नष्ट 

यस वर्षको बाढी र डुबानले घर मात्रै डुबाएको छैन । बालीनालीमा समेत क्षति पुर्‍याएको छ । १५ हजार हेक्टरभन्दा धेरै धानबाली नष्ट भएको विवरण छ । भदैया धान खेतमै उम्रिन थालेको छ भने दाना लाग्नेबेला भएको धानमा दाना नलाग्ने जोखिम छ  । 

माधवनारायण  नगरपालिका बस्ने ६८ वर्षीय अनुठा साहलाई दशैं पछाडि ठुलो वर्षा भएको अनुभव छैन । उनी कातिकमा कहिलेकाहिँ पानी परेको भए पनि ठुलो क्षति हुने खालको वर्षा नभएको बताउँछन् । उनले वर्षा हुनुभन्दा एक दिन पहिले करिब ६ कठ्ठा धान काटेका थिए । पाकिसकेको गदर धान डुबानमा पर्‍यो, अहिले खेतमै उम्रिन थालेको छ । यसले उनी दुःखी छन् । उनले ६ कठ्ठा खेतमा अनुमान गरेको भन्दा आधा मात्रै धान भित्र्याउन सके । 

उनी भन्छन्, ‘काटेकोमध्ये केही धान बिग्रेको छ । तर मुख्य चिन्ता त अगहनुवा धानको हो । अब धानमा दाना नै लाग्दैन ।’

राजदेवी नगरपालिका–३ का राम नरेश पण्डितले आफ्नो करिब एक बिघा खेतमा अगहनुवा (मन्सुली र सरिहन) धान लगाएका छन् । तर उनको करिब १५ कठ्ठाको धान खेतमा लडेको छ । 

कृषि ज्ञान केन्द्रका प्रमुख सुरेन्द्र ्रसाद कुर्मीले करिब १५ हजार हेक्टर धानवाली पूर्णरूपमा नष्ट भएको अनुमान गरेको बताए । 

‘फूल लागेको धान डुबानमा परेपछि बाली लाग्ने सम्भावना हँुदैन’ उनी भन्छन्, ‘बाली लागिसकेको र पाकेको धानमा पनि टुसा आएको छ । यो अत्यन्त जटिल अवस्था हो ।’ 

अर्थात् किसानहरू विभिन्न कोणबाट चिन्तामा छन् । सरकार भने तथ्यांक संकलनमै छ । विपद् आएको केही दिन बितिसक्दासमेत क्षतिको यकिन तथ्यांक छैन ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise