२०८२ असोज २८ गते मङ्गलवार / Oct 14 , 2025 , Tuesday
२०८२ असोज २८ गते मङ्गलवार
Ads

रुकुमपूर्वको भूमे गाउँपालिकामा निःशुल्क आँखा स्वास्थ्य शिविर सुरु

shivam cement
बालाराम शेर्पाली
२०८२ असोज २६ गते १७:४५
रुकुमपूर्वको भूमे गाउँपालिकामा निःशुल्क आँखा स्वास्थ्य शिविर सुरु

रुकुमपूर्व : भूमे गाउँपालिकामा आइतबारदेखि निःशुल्क आँखा स्वास्थ्य शिविर सुरु भएको छ । कात्तिक २६ देखि १७ गतेसम्म सञ्चालन हुने यो शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले रिबन काटेर गरे । गाउँपालिकाले आँखा स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै गाउँ–गाउँमा सेवा पुर्‍याउने लक्ष्यसहित यो अभियान सञ्चालन गरेको हो ।

गाउँपालिकाको आयोजना र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान तथा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र लिवाङ (रोल्पा) को सहआयोजनामा शिविर सञ्चालन भइरहेको छ । नेपाल रेडक्रस सोसाइटी, रोल्पाले समन्वय गरेको यो शिविरमा गाउँपालिकाका सबै ९ वटै वडामा निःशुल्क आँखा परीक्षण, मोतियाबिन्दु रोग पहिचान, औषधि वितरण, चस्मा जाँच र आँखा सम्बन्धी सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गरिनेछ ।

उद्घाटन समारोहमा अध्यक्ष श्रेष्ठले आँखा स्वास्थ्य संवेदनशील भएको र समयमै परीक्षण नहुँदा साना समस्या गम्भीर बन्न सक्ने बताए । “स्वास्थ्य सेवा प्रत्येक नागरिकको मौलिक हक हो । गाउँपालिकाले यो शिविरमार्फत गाउँमै सेवा पुर्‍याएर आँखा रोगका कारण अन्धकारमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्नेछ,” उनले भने । उनले सबै वडामा शिविर पुग्ने र भविष्यमा यस्ता स्वास्थ्य सेवालाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबिलाल बिकले ग्रामीण क्षेत्रमा आँखा परीक्षणको पहुँच सीमित भएकोले गाउँमै सेवा पुर्‍याउने व्यवस्था गरिएको बताउनुभयो । “हाम्रो लक्ष्य नागरिकलाई स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने बाध्यता हटाएर घरआँगनमै सेवा प्रदान गर्नु हो,” उनले भने ।

शिविर वडा नं. १ लुगुमबाट सुरु भएको छ र क्रमशः अन्य वडाहरूमा तालिकाअनुसार सञ्चालन हुनेछ । मोतियाबिन्दु रोगीको शल्यक्रिया कात्तिक १९ र २० गते रोल्पाको थवाङमा गरिनेछ । गाउँपालिकाले बिरामीलाई यातायात, औषधि र उपचारमा सहयोग गर्ने जनाएको छ ।

स्थानीय बासिन्दाले गाउँमै शिविर सञ्चालन भएकोमा खुसी व्यक्त गरेका छन् । वडाध्यक्ष मनकाजी पुन, स्वास्थ्य शाखाका सन्जिप खड्का, समाजसेवी चन्द्र रसाइली, राजनीतिक दल, समुदायका अगुवा, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको सहभागितामा शिविर प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ ।

यो शिविरले स्थानीयलाई समयमै आँखा परीक्षण, उपचार र आवश्यक शल्यक्रियाको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise