२०८२ असोज २८ गते मङ्गलवार / Oct 14 , 2025 , Tuesday
२०८२ असोज २८ गते मङ्गलवार
Ads

शुक्लाफाँटामा आधुनिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

shivam cement
मध्यान्ह
२०८२ असोज २६ गते १४:२०
शुक्लाफाँटामा आधुनिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकामा आधुनिक एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । 

बजार तथा ग्रामीण क्षेत्रमा उत्सर्जन हुने फोहोरमैला संकलन गरेर केन्द्रमा ल्याइन्छ । केन्द्रमा रहेका सफाइकर्मीले कुहिने, नकुहिने र पुनःप्रयोग हुने फोहोरलाई छुट्याएर राख्छन् । केन्द्रमा संकलित फोहोरलाई वर्गीकरण गरेपछि कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गरिन्छ भने पुनःप्रयोग गर्न सकिने फोहोरलाई कबाडीमा बिक्री गरिन्छ । रु ३० करोड २५ लाख लगानीमा निर्माण भएको फोहोर व्यवस्थापन केन्द्र तीन दशमलव नौ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

करिब छ मेट्रिकटन क्षमता भएको केन्द्रमा अहिले दैनिक दुईदेखि तीन मेट्रिकटन मात्रै फोहोर संकलन भइरहेको एकीकृत फोहोर व्यवस्थापन केन्द्रका इन्जिनियर जयन्त भट्टले जानकारी दिए । “यो फोहोरमैला व्यवस्थापन मात्रै नभएर प्रशोधन केन्द्र पनि हो, बजारबाट आउने विभिन्न फोहोरलाई यहाँ वर्गीकरण गरिन्छ”, भट्टले भने, “थोरैभन्दा थोरै फोहोर सेलमा राखेर माटोले पुरिन्छ यसले वातावरणलाई असर गर्दैन ।” 

बिहान फोहोर संकलक गाडी नगरको सहरी र ग्रामीण क्षेत्रमा डुलेर फोहोर संकलन गरेर ल्याउने उनले बताए । केन्द्रमा कुहिने, नकुहिने र पुनःप्रयोग हुने फोहोरलाई छुट्याएर राखिने र कुहिने फोहोरबाट ‘कम्पोष्ट’ मल तयार गरेर बिक्री गरिने योजना रहेको इञ्जिनियर भट्टले बताए । यसले वातावरण स्वच्छ राख्न र फोहोरमैलाको उचित व्यवस्थापनमा मात्रै नभई स्थानीयमा रोजगारीको अवसर पनि सिर्जना गरेको छ । 

निर्माणको काम सम्पन्न भएपछि गत भदौदेखि फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको निर्माण कम्पन्नी रमन केएस जेभीका साइट इञ्चार्ज उद्धवसिंह साउदले जानकारी दिए । “हरेक दिन बिहान हामीले बजारबाट फोहोर संकलन गर्छौं, यहाँ ‘रिसाइकल’ हुन्छ”, उनले भने, “चाहिने फोहोर छुट्याएर राख्छौं, काम नलाग्ने फोहोर सेलमा जम्मा गरिन्छ ।” 

फोहोरमैला व्यवस्थापन केन्द्रमा १० वटा फोहोर संकलन गर्ने साधन छन् । आठ जना सरसफाइ कर्मचारी राखिएको छ । एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण भएको हो । रमन केएस जेभी धनगढीसँग २०७९ वैशाख २५ मा निर्माण सम्झौता भएको थियो । फोहोरमैला व्यवस्थापन केन्द्रको क्षमता छ मेट्रिक टन रहेको भए पनि अहिले दैनिक क्षमताको आधा मात्रै फोहोर संकलन भइरहेको छ ।

शुक्लाफाँटामा सञ्चालनमा आएको एकीकृत फोहोर व्यवस्थापन केन्द्र कञ्चनपुरको पहिलो हो । यस्तै, फोहोर व्यवस्थापन केन्द्र भीमदत्तमा पनि निर्माण गर्ने तयारी भए पनि त्यसका लागि स्थान नपाउँदा परियोजना फिर्ता भएको छ । स्थानीयले फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्दा त्यसले वातावरण प्रदूषित हुने भन्दै विरोध गरेपछि परियोजना फिर्ता भएको होे । 

फोहोरमैला व्यवस्थापन केन्द्रमा कुहिने फोहोरबाट मलखाद बनाइने र नकुहिने तर पुनःप्रयोग गर्न सकिने वस्तु प्रशोधन गरिने भएकाले यो वातावरणीय प्रदूषण न्यूनीकरण गर्न र स्थानीयस्तरमा आम्दानीको स्रोतसमेत बनेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise