२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

रौतहटमा नसालु पदार्थ सेवन र होहल्ला गर्नेलाई ५१ हजारसम्म जरिवाना

Nada
कृष्ण तिवारी
२०८३ कार्तिक ३ गते १८:२५
Shares
रौतहटमा नसालु पदार्थ सेवन र होहल्ला गर्नेलाई ५१ हजारसम्म जरिवाना

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिका–१ बैरगनिया र घुसुकपुरमा नसालु पदार्थ सेवन, होहल्ला तथा झैझगडा नियन्त्रण गर्न विभिन्न जरिवाना तोकिएको छ।

ncell

स्थानीय जनप्रतिनिधि, समाजसेवी, भद्रभलादमी तथा स्थानीयवासीको बैठकले वडाभित्र गाँजा, चरेस, वाटर गनलगायतका नसालु पदार्थ सेवन गर्नेलाई ५ हजार १०० रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो।

त्यसैगरी, बैरगनिया चोकमा सञ्चालन भइरहेको दुर्गा मेलालाई शान्तिपूर्ण र मर्यादित बनाउन मेला अवधिमा मदिरा, गाँजा, चरेस, वाटर गनलगायतका नसालु पदार्थ सेवन गरी होहल्ला गर्ने तथा झैझगडा गर्नेलाई ५१ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको छ।

मेलामा बिक्रीका लागि गाँजा, चरेसलगायतका नसालु पदार्थ उपलब्ध गराउने विक्रेतालाई २१ हजार रुपैयाँ जरिवाना गरिने निर्णयसमेत बैठकले गरेको छ। वडाध्यक्ष विजय यादवका अनुसार विवाह तथा अन्य सामाजिक समारोहमा नसालु पदार्थ सेवन गरी होहल्ला र झैझगडा गर्ने व्यक्तिलाई पनि दण्ड तथा जरिवाना गरिनेछ।

स्थानीयस्तरमा सामाजिक सद्भाव कायम राख्न, शान्ति सुरक्षा सुनिश्चित गर्न तथा मेला व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको जनाइएको छ। निर्णय प्रभावकारी रूपमा कार्यान्वयन भए गाउँमा हुने झैझगडा, होहल्ला तथा सामाजिक विकृति नियन्त्रणमा सहयोग पुग्ने स्थानीयवासीले अपेक्षा गरेका छन्।

uae

सम्बन्धित खबर