
परासी : उलमा फाउन्डेसन नेपालले नवलपरासी जिल्ला समिति पुनर्गठन गरेको छ। परासीस्थित जामिया फैजाने अहले बैतमा सम्पन्न बैठकले मौलाना खुशबुद्दीन उर्फ जहीरुद्दीन निजामीलाई जिल्ला अध्यक्षमा चयन गरेको हो।
फाउन्डेसनका जिल्ला इन्चार्ज मौलाना सबरे आलम अलीमीको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मजहरी तथा केन्द्रीय सदस्य एवं नेपाल उर्दू टाइम्सका प्रधान सम्पादक मौलाना अब्दुल जब्बार अलीमीको विशेष उपस्थिति थियो।
बैठकमा जिल्लामा संगठनका गतिविधि विस्तार गर्ने, उलेमा तथा धार्मिक व्यक्तित्वबीच एकता र सद्भाव कायम गर्ने, मदरसा तथा मक्तबको शैक्षिक गुणस्तर सुधार गर्ने र मुस्लिम समुदायमा धार्मिक एवं सामाजिक चेतना अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो।
बैठकलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष मजहरीले उलेमा, धार्मिक व्यक्तित्व तथा संगठनका पदाधिकारीलाई आपसी मतभेद त्यागेर एकता, इमानदारी र निष्ठाका साथ अघि बढ्न आग्रह गरे। संगठनको सफलता कुनै एक व्यक्तिको प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै उनले आपसी विश्वास, परामर्श, अनुशासन र सामूहिक जिम्मेवारीमा जोड दिए।
विगतका तिक्तता, मनमुटाव र गलतफहमी बिर्सेर धर्म, समाज तथा मुस्लिम समुदायको हितमा एकजुट भएर काम गर्नुपर्ने उनको भनाइ थियो। उलमा फाउन्डेसन नेपाल कुनै एक व्यक्तिको निजी संस्था नभई धार्मिक सेवा, सामाजिक सुधार र सामुदायिक उत्थानका लागि स्थापित साझा अभियान भएको उनले स्पष्ट पारे। संगठनमा आबद्ध सबैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थाको उद्देश्य, विधान र सामूहिक निर्णयलाई सम्मान गर्नुपर्नेमा उनले जोड दिए।
अध्यक्ष मजहरीले मुस्लिम समुदायको धार्मिक, शैक्षिक, सामाजिक तथा नैतिक अवस्था सुधार गर्न उलेमाहरूले साझा कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताए।
मदरसा तथा मक्तबको शैक्षिक गुणस्तर वृद्धि, धार्मिक शिक्षासँगै समसामयिक ज्ञानको विकास, बालबालिकाको नैतिक प्रशिक्षण, विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग र सामाजिक विकृति न्यूनीकरणका लागि योजनाबद्ध प्रयास आवश्यक रहेको उनले उल्लेख गरे। उलेमाहरूको जिम्मेवारी धार्मिक प्रवचनमा मात्र सीमित नरहेको बताउँदै उनले युवा पुस्ताको मार्गदर्शन, राष्ट्रिय एकता, अन्तरधार्मिक सद्भाव, शान्ति, सहिष्णुता र मानव सेवामा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।
बैठकमा उपस्थित उलेमा तथा जिम्मेवार व्यक्तिहरूबीचको परामर्शपछि पुनर्गठन गरिएको जिल्ला समितिको इन्चार्जमा मौलाना सबरे आलम अलीमी चयन भएका छन्।
त्यस्तै, अध्यक्षमा मौलाना खुशबुद्दीन उर्फ जहीरुद्दीन निजामी, वरिष्ठ उपाध्यक्षमा मौलाना रहीमुद्दीन सिराजी तथा उपाध्यक्षमा मौलाना सैयद सद्दाम हुसैन मजहरी र मुफ्ती अरशद रजा चयन भएका छन्। समितिको सचिवमा मौलाना नूर आलम, सहसचिवमा मौलाना शहादत हुसैन र मौलवी गेयासुद्दीन, कोषाध्यक्षमा हाफिज तसव्वुर हुसैन, सहकोषाध्यक्षमा मौलाना शमशाद नूरी तथा संगठन सचिवमा मौलाना अब्दुल कुद्दुस चयन भएका छन्। त्यसैगरी, सदस्यमा कारी शोएब, सैयद कुतुबुद्दीन, मौलाना अली रजा, मौलाना मुख्तार, हाफिज मुसाफिर, हाफिज अली हुसैन, मौलाना मुबारक, मौलाना अशरफ र हजरत मौलाना इरशाद चयन भएका छन्।
बैठकमा हजरत मुहद्दिसे कबिरको शीघ्र स्वास्थ्यलाभ, पूर्ण स्वास्थ्य र दीर्घायुको कामना गर्दै विशेष दुआ गरिएको थियो। उपस्थित उलेमा तथा जिम्मेवार व्यक्तित्वहरूले उहाँको ज्ञान, मार्गदर्शन र सेवाबाट सम्पूर्ण उम्मत लाभान्वित भइरहोस् भनी प्रार्थना गरेका थिए।
पुनर्गठित जिल्ला समितिले जिल्लाका गाउँबस्ती तथा स्थानीय तहसम्म संगठनको पहुँच विस्तार गर्ने, उलेमाहरूबीच समन्वय र सहकार्य बढाउने तथा धार्मिक एवं सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्ने अपेक्षा गरिएको छ।
बैठकले आपसी एकता, धार्मिक शिक्षा, सामाजिक सुधार र सामुदायिक उत्थानलाई प्राथमिकतामा राख्दै जिल्लामा संगठनलाई थप सक्रिय र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।