काठमाडौं : जापानलाई पाँच विकेटले पराजित गर्दै नेपालले टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको ‘समूह बी’को विजेताको रूपमा सुपर सिक्स चरणमा प्रवेश गरेको छ ।
जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमै पूरा गर्दै दुई खेलमै लगातार जित निकालेको हो । समूह ‘बी’मा नेपालले यसअघि कुवेतलाई ५८ रनले हराएको थियो । त्यसैगरी जापानले बिहीबार कुवेतलाई पराजित गरेपछि दुबै टोली दोस्रो चरणमा पुगेका थिए ।
समूह विजेताको रूपमा सुपर सिक्समा पुगेकाले नेपालसँग अब अतिरिक्त दुई अंक हुनेछ । सुपर सिक्सको शीर्ष तीन टोलीले २०२४ फेब्रुअरी–मार्चमा भारतमा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।
शुक्रबारको खेलमा नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखले ५ ओभरमा ३६ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाए । पाँचौं ओभरको अन्तिम बलमा जापानी बलर शोमा स्लेटरको बलमा भुर्तेल २१ रनमा आउट भए । उनले तीन चौका हिर्काए ।
आसिफले आक्रामक ब्याटिङ गर्दै २१ बलमा चार छक्का र एक चौकासहित ३८ रन बनाए । तेस्रो नम्बरमा आएका सन्दीप जोरा पाँच रनमा पेभेलियन फर्किए भने कुशल मल्ल पनि ४ रनमा आउट भए ।
कप्तान रोहित पौडेलले १९ बलमा १८ रन बनाए । अन्त्यतिर गुलशन झा र दीपेन्द्रसिंह ऐरीले शान्त तर स्थिर साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याए । गुलशनले अविजित २८ रन बनाए । उनले २० बल खेल्दै दुई छक्का र एक चौका प्रहार गरे । दीपेन्द्र १४ रनमा नटआउट रहे ।
जापानका शोमा स्लेटरले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २२ रन खर्चेर दुई विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३१ रन बनायो । सुरुवाती अवस्थामा नेपाली फिल्डर र बलरले जापानी ब्याट्सम्यानलाई नियन्त्रणमा राखेका थिए ।
दीपेन्द्रसिंह ऐरीको सटीक थ्रोमा चौथो ओभरमा अभिषेक आनन्द रनआउट हुँदा जापानले ११ रनमै पहिलो विकेट गुमायो । त्यसपछि केन्डल काडोवाकी–फ्लेमिङ र एसएम रहमानले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गर्दै जापानलाई बलियो स्थिति बनाएका थिए ।
तेस्रो विकेटको रूपमा सोमपाल कामीले रहमानलाई २५ बलमा ३१ रनमा आउट गर्दै साझेदारी तोडे। रहमानले एक चौका र दुई छक्का प्रहार गरेका थिए । अर्को ओभरमै गुलशन झाले फ्लेमिङलाई आउट गरेपछि जापान पुनः दबाबमा पर्यो ।
फ्लेमिङले ४६ बलमा पाँच चौका र तीन छक्का हिर्काउँदै ६० रन बनाए। त्यसपछि जापानका अन्य ब्याट्सम्यान लामो समय टिक्न सकेनन् ।
गुलशन झाले इब्राहिम ताकाहासीलाई ४ रनमा बोल्ड गरे । सन्दीप लामिछानेले सबाओरिस, रवीचन्दन र डेक्लन सुजुकीलाई एक–एक रनमा आउट गरे । रेओ साकुरानो थोमस ३ रनमा रनआउट भए भने बेन्जामिन इटो डेभिस १७ रनमा आउट भए ।
नेपालका तर्फबाट गुलशन झा र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए । गुलशनले ४ ओभरमा २० रन खर्चे भने सन्दीपले २५ रन खर्चे । सोमपाल कामी र नन्दन यादवले पनि एक–एक विकेट हात पारे ।
ओमानमा जारी यस एसिया–प्यासिफिक छनोटमा नौ टोली सहभागी छन्, जसलाई तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शीर्ष दुई टोली सुपर सिक्समा प्रवेश गर्छन् ।
सुपर सिक्समा प्रत्येक टोलीले चार खेल खेल्नेछ, तर एउटै समूहका दुई टोली आपसमा नखेल्ने नियम लागू हुनेछ । त्यसैले नेपाल र जापानबीच पुनः भिडन्त हुने छैन ।
सुपर सिक्समा नेपालले अब समूह ‘ए’ र समूह ‘सी’ का शीर्ष दुई टोलीहरूसँग प्रतिस्पर्धा गर्नेछ । यी चरणका खेलपछि अंक तालिकामा शीर्ष तीन स्थानमा पर्ने टोली आगामी टी–२० विश्वकपका लागि छनोट हुने छ ।