नेपालगन्ज : मंसिर ६ गते हुने धारा नेपालगन्ज म्याराथनको ११औं संस्करणका लागि विश्वप्रसिद्ध केन्याली धावक जोन केलाई र मिस नेपाल वर्ल्ड २०२३ श्रृच्छा प्रधानलाई सद्भावना दूत नियुक्त गरिएको छ । सोमबार नेपालगन्जको होटल डायमन्ड प्यालेसमा आयोजित विशेष समारोहमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले दुवैलाई कदरपत्र प्रदान गरे ।
मेयर विष्टले धारा नेपालगन्ज म्याराथनले छोटो समयमै अन्तर्राष्ट्रिय ख्याति कमाएको बताए । उनले भने, “यो म्याराथन केवल खेलकुदमात्र होइन, शान्ति, सद्भाव र एकताको सशक्त मञ्च बनेको छ । हामी सबै मिलेर मंसिर ६ लाई एकता र मेलमिलापको विशेष दिन बनाउनेछौं ।” उनले उपमहानगरपालिका सधैं यस्ता आयोजनमा सहकार्य गर्न तयार रहेको पनि उल्लेख गरे ।
टाइटल प्रायोजक केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेडले म्याराथनको सफलताबाट आफूहरू प्रभावित भएको बताए । उनले आयोजनको प्रभाव र पहुँच अझ विस्तार गर्न आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।
कमनवेल्थ गेम्स २०१० मा स्वर्णपदक जितेका जोनले नेपालको प्राकृतिक सौन्दर्यले विश्वभरका पर्यटकलाई आकर्षित गर्ने बताए । उनले म्याराथनले नेपालमा अन्तर्राष्ट्रिय धावकहरूलाई आकर्षित गर्ने सम्भावना बढाएको उल्लेख गर्दै आफूले अन्य धावकहरूलाई नेपाल ल्याउन पहल गर्ने बताए ।
यस्तै, मिस नेपाल श्रृच्छा प्रधानले पर्यावरण संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताइन् । उनले म्याराथनजस्ता कार्यक्रमले पर्यावरण जोगाउन महत्वपूर्ण भूमिका खेल्ने र आफूलाई सद्भावना दूतका रूपमा छनोट गरिएकोमा खुसी व्यक्त गरिन् ।
कार्यक्रममा गौघाट ग्रीन रनको टिसर्ट पनि सार्वजनिक गरियो । म्याराथनका लागि दर्ता प्रक्रिया सुरु भइसकेको आयोजकले जनाएको छ । यो म्याराथन मंसिर ६ गते शनिबार नेपालगन्जमा आयोजना हुनेछ ।