काठमाडौँ : आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले जापानसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र जापान एक खेलअगावै सुपर सिक्समा प्रवेश गरेका छन्। बिहीबार सम्पन्न समूह बीको खेलमा जापानले कुवेतलाई ५ विकेटले पराजित गरेसँगै जापान र नेपाल एक खेल अगावै अघिल्लो चरणमा प्रवेश गरेका हुन्।
लगातार दोस्रो हारसँगै कुवेत प्रतियोगिताबाट बाहिरिएको छ। आफ्नो पहिलो खेलमा कुवेत नेपालसँग ५८ रनले पराजित भएको थियो।
अब आज हुने नेपाल र जापानबीचको खेल पछि समूह बीको विजेता र उपविजेताको टुङ्गो लाग्ने छ। समूह बीमा दुवै टोलीको समान २–२ अंक रहे पनि नेपाल नेट रन रेटमा अघि भएकाले शीर्ष स्थानमा छ।
यसैगरी विश्वकप छनोटका तीन खेल आजै हुँदैछ । आइसीसी पुरुष टी-२० विश्वकप छनोटमा आज तीन खेल हुँदैछन् ।
आज पहिलो खेलमा बिहान पौने १२ बजे मलेसिया र संयुक्त अरब इमिरेट्स, दोस्रो खेलमा दिउँसो ४:१५ बजे नेपाल र जापान तथा तेस्रो खेलमा राति ८: ४५ बजे ओमान र पपुवा न्यूगिनी खेल्नेछन् ।