 
    
    
        
        
  
 
                  
जेनजी आन्दोलनले प्रधानमन्त्रीबाट बिस्थापित नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ठिक एक महिनापछि भक्तपुरको गुन्डुमा कार्यकर्ता भेटघाटमार्फत धारणा सार्वजनिक गरेका छन् । पार्टीभित्र र बाहिरबाट नेतृत्व हस्तान्तरणका लागि दबाब आइरहेको पृष्ठभूमिमा सार्वजनिक सभामा देखिएका ओलीले प्रत्यक्ष त्यसबारे मुख नखोले पनि पर्याप्त सन्देश भने दिएका छन् । आफू अल्पमतमा परेको पार्टी सचिवालय बैठक बस्नु अघिल्लो दिन आएको ओली सम्बोधनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
एमाले अध्यक्ष ओली सुरुमा जेनजी आन्दोलन (२३–२४ भदौं)मा आफूमाथि उठेका प्रश्नको प्रष्टीकरण दिनेगरी प्रस्तुत भए । सामाजिक सञ्जाल निस्क्रिय पार्नुको कारण बताए । लगत्तै, उनी अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालमाथि खनिएका थिए । आफ्नो मन्तव्यमार्फत ओलीले मुख्यतः पाँच राजनीतिक सन्देश दिएका छन् । पहिलो, उनले सरकारको बैधानिकतामाथि नै प्रश्न उठाएका छन् । जबकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीलाई नियुक्ति गर्न कामचलाउ प्रधानमन्त्रीको हैसियतमा ओलीको समेत सिफारिस रहेको राष्ट्रपति कार्यालयले नियुक्तिपत्रमै उल्लेख गरेको छ । तर, ओलीले बलमिच्याइँबाट बनेको सरकारका कारण देशको देशको परिस्थिति असाधारण, असामान्य बनेको बताए । न्यायाधीश, प्रधानन्यायाधीश भएको व्यक्ति कुनै पनि सरकारी पदमा बस्न नमिल्ने संवैधानिक व्यवस्था भए पनि बेवास्ता गरिएको उनको तर्क छ ।
लोकतन्त्रको जग भत्काउने सर्तमा कार्की प्रधानमन्त्री भएको उनको आरोप छ । २१ फागुनको निर्वाचन पनि प्रधानमन्त्रीभन्दा राष्ट्रपतिले तोकिदिएको म्यान्डेट भएको दाबी गर्दै उनले भने, ‘यो सरकार कसैको प्रतिनिधि होइन । नेपालीको चाहिँ होइन ।’
ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको पासपोर्ट रोक्का र काठमाडौं छाड्न नपाइने आयोगको सिफारिसप्रति पनि उनले आक्रोश पोखे । ‘सुशीला कार्कीको डरले केपी ओली भाग्छ ? गृहमन्त्री बाबुलाई धेरै नउत्ताउलिन र नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु’ ओलीको टिप्पणी थियो ।
कार्की प्रधानमन्त्री हुनकै लागि भदौं २४ गते दिउँसो सडकमा उत्रिएको आरोपसमेत ओलीले लगाएका छन् । ‘विगतमा संविधानको के के व्याख्या गर्नुभयो छाडिदिउँ । तर, नेपालको संविधानले प्रष्ट भन्छ, पूर्व न्यायाधीश, प्रधानन्यायाधीश भएको व्यक्ति कुनै पनि सरकारी पदमा बस्नै सक्दैन, प्रधानमन्त्रीमा त कुरै छाडिदिउ’ ओलीको भनाइ छ, ‘तर, उहाँ सुरिनुभयो । त्यो सुरिनका लागि उहाँ २३ गते जेनजी भनेर सडकमा उत्रिनुभयो । २४ गते सडकमा उत्रनुभयो र के कामका लागि उत्रनुभयो ?’
दोस्रो, प्रधानमन्त्री कार्कीले सपथ गरेलगत्तै संसद् भंग गरेकोप्रति आपत्ति जनाउँदै ओलीले एमाले र लोकतान्त्रिक शक्ति अब संसद् पुनर्स्थापनाको पक्षमा उभिने सन्देश दिएका छन् । उनले लोकतन्त्रको पुनर्बहाली गर्नलाई प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने दाबी गरेका छन् । ‘समयमा कदम चाल्न सकिएन भने पछि ढिला भएछ भनेर पछुतो मान्नुपर्ने हुन्छ । कतिपय मानिसहरू भन्छन् फागुन २१ गते चुनाव भएन भने त्यसपछि संसद् पुनर्स्थापनाको माग गरौंला’, उनले भने, ‘संसद् विघटन असंवैधानिक छ, गलत छ, गैरकानूनी छ, अलोकतान्त्रिक छ । फागुन २१ गते पर्खनु परेको छैन ।’
दलहरुलाई पन्छाएर वार्ता गर्ने, सरकार बनाउनेदेखि संसद् भंग गर्ने काम गरिएको उल्लेख गर्दै ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको एजेण्डामा कांग्रेसको पनि साथ रहने विश्वास व्यक्त गरे ।
तेस्रो, २३ भदौंको राज्य दमन र २४ भदौंको विश्वंशको छानबिनका लागि सरकारले बनाएको उच्चस्तरीय जाँचबुझ आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै एमालेका लागि अमान्य रहेको बताएका छन् । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले पहिल्यै धारणा सार्वजनिक गरिसकेकाले उनको प्रतिवेदन स्वीकार्न नसकिने उनको जिकिर छ । ‘पहिले नै केपी ओली समात्नुपर्छ, थुन्नुपर्छ भन्ने मान्छेहरुको आयोग बनाएर छानबिन गरेर प्रतिवेदन दिएको नाटक गर्ने अनि त्यो प्रतिवेदनको आधारमा अगाडि बढेँ भन्ने नाटक गर्ने ? यस्ता नाटक नेकपा एमालेलाई मञ्जुर छैन । स्वीकार्य छैन’, ओलीले भनेका छन् ।
त्यसभन्दा एक कदम अघि बढेर ओलीले कार्की आयोगलाई नक्कली भनेका छन् । ‘तर तपाईंहरुले बुझ्नु, नेकपा एमालेलाई यो नक्कली आयोग मञ्जुर छैन । किनकि आयोगमा राखिनु, बस्नुभन्दा अगाडिको प्रश्न उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिनु पर्दैनथ्यो ? एउटा मान्छे अहिलेको अहिल्यै विरोधीबाट निष्पक्ष हुन सम्भव छ ?’ उनको भनाई थियो । 
त्यस्तै, सरकारले राज्य आतंक सिर्जना गरेको ओलीको आरोप छ । चुनावको नाटक गरेर नेताहरूलाई जेल हालेर, मुद्दा लगाएर, अपमान गरेर, बुथ कब्जा गरेर, चुनाव लड्न नदिएर, आफूमात्रै चुनाव लडेर दिग्विजय घोषणा गर्ने सपना नदेख्न आग्रह गर्दै उनले भने,‘ती दिवासपना हुन् । जसको टाउकामा चिसो पानी खन्याइन्छ ।’ 
चुनाव गर्नुपर्नेछ तर सरकारले राजनीतिक दलसँग संवाद नगरेकोप्रति पनि उनले असन्तोष पोखे । ‘राजनीतिक दलहरूसँग पौँठेजोरी खेलेर, दललाई बाइपास गरेर, दललाई दमन गर्छु भनेर चुनाव हुन्छ ?’ ओलीको प्रश्न थियो ।
अर्को, दलहरुबीच सहकार्यमा ओलीको जोड छ । लोकतन्त्रको पुनर्बहाली यतिबेलाको मुख्य कुरा भएको उल्लेख गर्दै उनले भने, ‘त्यसका लागि लोकतान्त्रिक शक्तिहरू एक ठाउँ हुनुपर्ने मुख्य हो । यसका लागि अगाडि बढौं ।’
गुन्डुसभाको पाँचौ सन्देश पार्टीभित्र ओलीको विकल्प खोज्नेहरुबिरुद्ध केन्द्रीत थियो । ओली स्वयम्ले केही नबोले पनि पार्टी बैठकको अघिल्लो दिन आफ्नो अडान र प्रतिबद्धता सार्वजनिक गरेर पार्टी पङ्तिलाई आश्वस्त पार्ने कोशिस उनले गरेका छन् । स्थायी कमिटी सदस्य भानुभक्त ढकालले दुस्मनले आक्रमण गरेको र घेरेका बेला पार्टीभित्रैबाट बिरोध गर्नेहरु विदेशीका एजेन्ट भएको टिप्पणी गरे भने महासचिव शंकर पोखरेलले नेतृत्वका लागि योग्य छु भन्नेहरुले महाधिवेशनमा प्रतिस्पर्धा गर्न चुनौती दिए ।