पश्चिम नवलपरासी : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-१, सिसहनियामा मंगलबार प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय समेरीबाट खटिएको टोलीले बिहान करिब १० बजे शंकास्पद अवस्थामा हिँडिरहेका व्यक्तिहरूलाई जाँच गर्दा ठुलो परिमाणमा लागुऔषध बरामद भएको हो ।
प्रहरीले पक्राउ गरिएका व्यक्तिहरूको झोलाबाट १३२ क्याप्सुल डाइजेपाम, १३२ एम्पुल बुप्रिनुफिन र १३२ एम्पुल प्रोमिथाजाइन फेला पारेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२९ का २१ वर्षीय रोहित सेन्चुरी, उनकी १८ वर्षीया पत्नी रोइरा सेन्चुरी (उर्फ असिदा बेगम) र ३९ वर्षीय बादल बस्याल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) बीरदत्त पन्तका अनुसार पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय समेरीमा राखी थप अनुसन्धान भइरहेको छ । लागुऔषध ओसारपसार र प्रयोगमा संलग्नताको विषयमा प्रहरीले गहिरो अनुसन्धान गरिरहेको उनले बताए ।