काठमाडौं : ‘लालीगुराँसको साटो रक्तरञ्जित भो वन, द्यौराली अनि पाखामा लासको टाकुरा किन ?’ यो पंक्ति केवल गीत होइन, हाम्रो इतिहासको घाउ बोलेको कविता जस्तो लाग्छ । महाकाव्यकार खेमनाथ दाहालले २०६० सालमै लेखेको काव्य ‘योद्धा’भित्रको यो श्लोक फेरि संगीतसहित पुनर्जीवित भएको छ ।
गीतमाथि कार्यक्रमस्थलमा व्यक्त भएका धारणा सुन्दा लाग्थ्यो, साहित्य र संगीतबीचको पुल बलियो हुँदै गएको छ । दाहालको कलमबाट बगेका शब्दहरू र सन्तोषको स्वरबाट घन्किएको धूनले उपस्थितलाई गीत मात्र होइन, एक ऐतिहासिक सन्देश सुनाइरहेको थियो ।
मंगलबार राजधानीमा मिलापको आयोजनामा गरिएको विशेष समारोहमा गीतको भिडियो सार्वजनिक हुँदै गर्दा सभाहल केवल विमोचन स्थल बनेन, बरु साहित्य, संगीत र इतिहासको संगम स्थलमा रूपान्तरित भयो ।
समारोहमा प्रमुख अतिथि प्रा.डा. शैलेन्दुप्रकाश नेपालले गीतको भिडियो सार्वजनिक गरेका थिए । उनले दाहाललाई पुरानै परिचयका साथ सम्झिँदै भन्नुभयो, ‘खेमनाथमा विविधताको संगम छ, उहाँका सिर्जनाले त्यो पुष्टि गरेको छ ।’
प्रमुख अतिथि नेपालले भाषा, साहित्य, कला र संस्कृतिका बारेमा आफ्ना धारणा राख्दै संगीतकार सन्तोष र महाकाव्यकार खेमनाथको सहकार्यमा कालजयी गीत आएको धारणा राखे । उनले धेरै पहिला लेखिएको गीत भए पनि अहिले पनि त्यतिकै सान्दर्भिक रहेको चर्चा गरे ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले महाकाव्यकार दाहालका सिर्जनाहरूको चर्चा गर्दै दाहालले देश तथा विदेशमा थुप्रै सम्मान प्राप्त गरेका जानकारी दिए । उनले भने, ‘गीत जस्तो उत्कृष्ट बनेको छ, भिडियो पनि त्यति नै प्रभावकारी छ ।’
गीतमा संगीत र स्वर दिएका विश्वकीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले आफ्नो अनुभव बाँड्दै भने, ‘काव्यका गहिरा श्लोकलाई गीतमा ढाल्नु सजिलो छैन तर यही कठिनाइले मलाई फेरिफेरि यस्तो कामतर्फ तानेको छ ।’ उनले महाकव्यकार दाहालको ‘श्वेतपत्र’ महाकाव्यका श्लोकबाट पहिलो गीत बनाएको बताउँदै यो ‘योद्धा’ काव्यका श्लोक लिएर गीत तयार पारिएको जानकारी दिए ।
यस्तै, 'नेपाली गजल गायनको स्वर्ण दशक, वि. सं. २०८०-२०९०'अभियन्ता तथा गजलकार घनेन्द्र ओझाले कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठ र आफूले सहकार्य गरेर नेपाली गजल गायनको स्वर्ण दशक मनाइरहेको बताउँदै सन्तोष नयाँनयाँ र फरक कार्य गर्न रुचाउने व्यक्तित्व भएको भनाइ राखे ।
ओझाले सन्तोष र दाहालको सहकार्यले अझ धेरै कालजयी गीत सिर्जना हुने आफूले आशा राखेको बताए । उनले भने, ‘सन्तोष नयाँ प्रयोग खोज्ने सर्जक हुनुहुन्छ, दाहालसँगको सहकार्यले अझ धेरै कालजयी सिर्जना ल्याउने छ ।’
गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले महाकाव्यकार दाहाल गीतकारका रूपमा पनि सशक्त प्रस्तुत हुनु आफैँमा गौरवमय भएको जिकिर गरे । उनले महाकाव्यकार दाहालको गीतकारका रूपमा पनि ख्याति बढ्ने धारणा राखे ।
महाकाव्यकार दाहालले आफूले २०६० सालमा प्रकाशन गरेको काव्य ‘योद्धा’बाट सन्तोषले गायनका रूपमा प्रस्तुत गरेकामा खुसी व्यक्त गर्दै गीत र भिडियोमा संलग्न सबैमा धन्यवाद ज्ञापन गरे ।
मिलापका सम्पादक कृष्ण भुसालले सहजीकरण गरेको कार्यक्रम वरिष्ठ संगीतकार राजु सिंहको सभापतित्वमा सम्पन्न भएको थियो ।
संगीतकार सिंहले नेपाली सांगीतिक फाँटमा एउटा कालजयी सिर्जना आएकामा खुसी व्यक्त गरे । कार्यक्रममा मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् ।
योद्धा काव्यबाट साभार यस गीतमा राजु कार्कीको संगीत संयोजन, राजाबाबु थारू, दिल समर्पण र एस. बी. मुस्कानको संगीत सञ्चयन छ । अकोस्टिक नेपालमा संगीत सञ्चयन रहेको गीतमा प्रकाश मिश्रको संगीत सम्पादन छ ।
कृष्ण भुसालको निर्देशन एवं राजन खरेलको छायांकन तथा दृश्य सम्पादन रहेको गीतको भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ, रमेश दाहाल कृष्ण भुसाल, गीता अधिकारी र मेनका खड्काको अभिनय छ ।