काठमाडौं : सहकारी ठगी आरोपमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अड्डासार भएको छ । शनिबार उनलाई भैरहवा कारागारबाट अड्डासार गरेर ललितपुरस्थित नख्खु कारागार ल्याइएको हो ।
पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रविलाई भैरहवाबाट बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याएर विमानस्थलबाट सिधै नख्खु कारागार लगिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपाले विगत तीन महिनादेखि रविलाई जेल सार्न अनुरोध गर्दै आएको थियो ।
उनलाई २०८१ चैत २५ गते भैरहवा कारागार चलान गरिएको थियो । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सोही आदेशअनुसार उनी जेल चलान भएका थिए ।
एक सय २६ दिन उनी रुपन्देही जिल्ला कारागार बसे । योबीचमा पार्टीका नेता कार्यकर्ताहरू पटक–पटक उनलाई भेट गर्न काठमाडौंबाट भैरहवा जाने गरेका थिए । पछिल्लो पटक राष्ट्रिय मानवअधिकार आयोगको टोलीले गत साता अनुगमन गरेको थियो । लामिछानेलाई राखिएको कारागार कोठाको अवस्था नाजुक रहेको भन्दै आयोगले प्रश्न उठाएपछि सरकारले उनको अड्डासार गरेको हो । काठमाडौं आउन पाए पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक र आफन्तसँगको भेट सजिलो हुने रविको चाहाना रहेको रास्वपाका नेताहरूले बताएका छन् । उनको अड्डासारका लागि पार्टीले कारागार प्रशासनलाई पत्र लेखेर दबाब दिँदै आए पनि सरकारले उनलाई उपत्यका ल्याउन चासो देखाएको थिएन ।
तर पछिल्लो पटक उनका बारेमा विभिन्न मिडियामा आएका टिप्पणी र राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षणपछि गृहमन्त्री रमेश लेखकले लामिछानेलाई उचित व्यवस्थापन गरेर अड्डासार गर्ने बताएका थिए । गृहमन्त्रीले भनेको २ दिनमै उनलाई नख्खु कारागार ल्याइएको हो । लामिछानेको अड्डासारपूर्व भैरहवा पुगेका रास्वपा प्रवक्ता झा र उपसभापति स्वर्णिम वाग्लेले रविलाई भेट्न प्रहरी प्रशासनलाई पटक–पटक अनुरोध गरेपनि सहजरूपमा भेट्न नपाएको बताएका छन् ।
‘एकछिन भेट्न पाइन्छ कि भनेर भैरहवा कारागारमै पुगें’, प्रवक्ता झाले भने, ‘साथमा पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले पनि हुनुहुन्थ्यो । कारागार प्रशासकले आज भेट्न मिल्दैन भनेर फर्काइदियो । विमानस्थलमा एकछिन भेट्न दिन विमानस्थलस्थित प्रहरी प्रशासनलाई अनुरोध गर्न पुग्यौं । निक्कै अनुरोध गरेपश्चात् म र पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेलाई विमानस्थल प्रतीक्षालयमा उभिएरै दुई मिनेट भेट्न दिनुभयो ।’ लामिछानेलाई विमानस्थलबाट सिधै नख्खु कारागार लगिएको प्रहरीले जनाएको छ ।
कारागार व्यवस्था विभागका महानिर्देशक लीलाप्रसाद शर्माले लामिछानेको अनुरोध र अदालतको अनुमति भएपछि नख्खु कारागारमा स्थानान्तरण गर्ने निर्णयअनुसार अड्डासार गरिएको बताए । रविले मुलुकी अपराध कार्यविधि संहिताको अर्को व्यवस्थाअन्तर्गत आफूलाई थुनामुक्त गर्न एक साताअघि निवेदन दिएका थिए । तर रूपन्देही जिल्ला अदालतले थुनामुक्त गर्न अस्वीकार गरेको थियो ।
नख्खु कारागारको गेटमा पुगेका रास्वपाका कार्यकर्ताले रविका पक्षमा नाराबाजी गरेपनि प्रशासनले कार्यकर्तालाई छलेर जेलभित्र पु¥याएको छ । उनलाई राज्यले प्रतिशोध साँधेर मुद्दा चलाएको दाबी गर्दै रास्वपाले आफ्नो मुद्दामा समर्थन खोज्दै असार ७ गतेबाट सर्वसाधारणको हस्ताक्षर संकलन र चन्दा उठाउने कार्यसमेत जारी राखेको छ ।