–जन्मदेव जैसी
नेपाली राजनीति एक यस्तो वृत्तजस्तै बनिरहेको छ, जसको केन्द्रमा पुराना अनुहारहरू वर्षौं देखिँदै आएका छन् । सत्ताको साँचो एउटै पुस्तामा सीमित छ । जनताले दशकौँदेखि सुन्दै आएका नामहरू अझै पनि देशको भाग्यको निर्णायक बनेका छन् । यस्तो स्थितिमा नयाँ पुस्ताका नेताहरूलाई समाहित गर्ने, उनीहरूको ऊर्जा, दृष्टि र नयाँपनलाई राजनीतिक मूलधारमा ल्याउने प्रसङ्ग ओझेलमा परेको छ । पुस्तान्तरणको प्रश्न उठाउँदा अझै पनि त्यसलाई धम्कीको रूपमा लिने पुरानो पुस्ताको मानसिकता हट्न सकेको छैन । यही कारणले गर्दा नेतृत्व परिवर्तनको प्रक्रिया सहज, संस्थागत र दीर्घकालीन रूपमा देश हितमा आधारित बन्न सकेको छैन ।
राजनीतिक नेतृत्व पुस्तान्तरण भनेको केवल उमेरको आधारमा नयाँ मान्छे ल्याउने कुरा मात्र होइन, यो सोच, दृष्टिकोण र कार्यशैलीमा पनि रूपान्तरण ल्याउने प्रक्रियासँग गाँसिएको हुन्छ । तर, नेपालमा पुस्तान्तरण भन्नासाथ सत्तामा बसिरहेकाहरूको पद गुम्ने डरले प्रक्रिया सुरु नहुँदै अवरुद्ध हुन्छ । पार्टीको भित्री संरचना यति केन्द्रीकृत छ कि जहाँ केही निश्चित व्यक्ति वा समूहले मात्रै सबै निर्णयको लगाम समातेका हुन्छन् । नेतृत्वलाई हस्तान्तरण गर्नुको सट्टा आफन्त, सन्तान वा आफ्नै सर्कलभित्रको मान्छेलाई अघि बढाउने प्रवृत्ति बढ्दो छ । यसले स्वस्थ प्रतिस्पर्धा मार्फत योग्य नेतृत्व उदय हुने बाटो थुनिदिएको छ ।
नेपाली राजनीतिमा कांग्रेस, एमाले र माओवादीजस्ता ठूला दलहरूमा पुस्तान्तरणको प्रक्रिया बारम्बार छलफलमा आएको देखिन्छ, तर व्यवहारमा भने त्यो प्रतिबिम्बित हुन सकेको छैन । नेपाली कांग्रेसमा बिपी कोइरालादेखि हालसम्म नेतृत्वको अनुहारहरू थोरै मात्र फेरिएका छन् । शेरबहादुर देउवा दशकौँदेखि सत्ताको वरिपरि छन् । एमालेमा केपी शर्मा ओली, ईश्वर पोखरेलजस्ता नामहरू झन्डै चार दशकदेखि देखिँदै आएका छन् । माओवादी आन्दोलनका नाममा नयाँ आशा लिएर आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि नेतृत्वको गद्दीबाट कहिल्यै टाढा जान चाहँदैनन् । यिनै अनुहारहरूको एकाधिकारका कारण नयाँ नेतृत्वको विकास अवरुद्ध भएको छ ।
युवाहरू राजनीतिमा छिर्ने अवसर पाएका छन्, तर उनीहरूलाई निर्णय तहमा पु¥याउने ढोका अझै खुल्न सकेको छैन । कतिपय नयाँ अनुहारहरू पार्टीभित्र देखिए पनि उनीहरू पुराना नेताहरूका भरपर्दा अनुयायीको भूमिकामा सीमित छन् । उनीहरूलाई नेतृत्वको मोर्चामा अघि ल्याउने सच्चा प्रयास नै गरिएको देखिँदैन । उल्टो, कुनै युवा नेता उभिन खोजेमा ‘अपरिपक्व’, ‘अनुभवहीन’ जस्ता आरोप लगाएर दबाउने काम भइरहेको छ । यस्तो प्रवृत्तिले नेपालको राजनीतिमा नयाँपनको सम्भावनालाई नै चुनौती दिएको छ ।
पुस्तान्तरणको समस्या केवल व्यक्तिमा मात्र सीमित छैन, यसले संस्थागत संरचनामा समेत गहिरो प्रभाव पारेको छ । पार्टीहरू आन्तरिक लोकतन्त्रविहीन भएका छन् । नेतृत्व परिवर्तनका लागि तय गरिएका नियम, समय सीमा र कार्यशैली व्यवहारमा लागू हुन सकेका छैनन् । पार्टीको महाधिवेशन बारम्बार पछाडि धकेलिने, वा नेतृत्व चयनमा अस्वाभाविक हस्तक्षेप हुने गरेका उदाहरण प्रशस्त छन् । यस्ता अभ्यासले राजनीतिमा योग्य र समर्पित कार्यकर्तालाई निरुत्साहित तुल्याउने काम मात्र गर्दैन, जनताको विश्वास पनि कमजोर बनाउँछ ।
नेपाली राजनीतिमा पुस्तान्तरण नहुनुको अर्को कारण हो, नेतृत्वदायी पदलाई शक्ति, सुविधा र व्यापारिक फाइदाको स्रोत ठान्ने प्रवृत्ति । जब नेतृत्व सत्तासँग मात्र जोडिन्छ, तब त्यसलाई नछाड्ने मानसिकता विकास हुन्छ । यस्तो सोचले पदमा टाँसिने संस्कार जन्माउँछ । जबकि लोकतान्त्रिक राजनीतिक संस्कारमा नेतृत्व समयसापेक्ष परिवर्तन हुनुपर्छ, नयाँ विचार, नीति र कार्यशैलीको ठाउँ दिनुपर्छ । पुराना पुस्ताले आफ्नो अनुभव सन्देशको रूपमा दिई नयाँ पुस्तालाई जिम्मेवारी सुम्पन सक्नुपर्छ । तर नेपालमा यो संस्कार स्थापित हुन सकेको छैन ।
नेपालका प्रमुख दलहरूले बेलाबेलामा ‘युवालाई अवसर दिनुपर्छ’, ‘नेतृत्व परिवर्तनको समय आएको छ’ भन्ने भाषण गर्छन् । तर, यस्ता कुराहरू भाषणमै सीमित हुन्छन् । व्यावहारिक कदम चालिएको देखिँदैन । उदाहरणका लागि, कुनै युवा नेता लोकप्रिय बन्दै गयो भने त्यसलाई रोक्न षड्यन्त्र गरिन्छ, अवसर कटौती गरिन्छ । कतिपय अवस्थामा त पार्टीभित्रका युवा नेताले विद्रोह गर्नुपरेको छ । यस्तो असहज वातावरणमा योग्य र सक्षम युवाहरू राजनीतिमा टिक्न नसक्ने अवस्था आउँछ । उनीहरू या त निराश भएर पन्छिन्छन्, या त पुरानै शैलीमा समाहित हुन बाध्य हुन्छन् ।
पुस्तान्तरणको अभावले राजनीतिमा केवल व्यक्ति होइन, नीति र सोच पनि पुरानै अवस्थामा स्थिर रहन्छ । समाजमा भएका नयाँ चुनौती, प्रविधिको विकास, अन्तर्राष्ट्रिय सम्बन्ध, जलवायु परिवर्तन, श्रम पलायन, युवाको आकांक्षा आदि विषयलाई समेट्ने दृष्टिकोण नेतृत्वमा हुन्न भने देश पछाडि पर्छ । पुराना नेताहरूले वर्षौंदेखि एउटै भाषाशैली, नाराजस्तै लाग्ने प्रतिबद्धता र आलोचना–प्रधान राजनीतिमा मात्रै ध्यान दिएका छन् । समस्याको गहिरो विश्लेषण, दीर्घकालीन योजना र नवीन सोचको अभावले गर्दा राजनीति जनताको जीवनसँग प्रत्यक्ष रूपमा जोडिन सकेको छैन ।
अहिलेको विश्व राजनीतिको प्रवृत्ति हेर्ने हो भने धेरै मुलुकमा युवा नेतृत्व अघि बढिरहेको छ । क्यानडामा जस्टिन ट्रुडोले नेतृत्व गरे भने फ्रान्समा इम्यानुएल माक्रों आए, फिनल्यान्डमा सान्ना म्यरिनजस्ता नेताहरू अगाडि देखिए । उनीहरूका निर्णय, अभिव्यक्ति र कार्यशैलीले नयाँ पुस्ताको प्रतिनिधित्व गरेको पाइन्छ । यस्ता नेतृत्वले समाजमा नयाँ ऊर्जा थप्छ, नयाँ विश्वास निर्माण गर्छ । नेपालमा पनि यस्ता उदाहरणहरू आउन सक्थे, यदि पुराना नेताहरूले मार्ग प्रशस्त गरिदिएको भए । तर नेपालमा त्यसको ठिक उल्टो हुँदै छ, जहाँ नयाँको उदयलाई अवसर नभई चुनौतीका रूपमा लिने गरिन्छ ।
नेतृत्व पुस्तान्तरणको अभावले युवामा राजनीति प्रतिको मोहभंग बढाएको छ । युवा पुस्ता राजनीतिलाई परिवर्तनको माध्यम होइन, व्यर्थको झगडाको खेल मान्न थालेका छन् । यो स्थितिले भविष्यका लागि गम्भीर संकट निम्त्याउँछ । जब राजनीति गुणवान्, इमानदार र विचारवान् युवाले त्याग्छन्, तब त्यो ठाउँ भ्रष्ट, स्वार्थी र अवसरवादीहरूले ओगट्छन् । यसले लोकतन्त्रलाई कमजोर बनाउने खतरा उत्पन्न गर्छ ।
पुस्तान्तरणलाई सहज बनाउन दलहरूले केही आधारभूत सुधार गर्नुपर्छ । पहिलो, आन्तरिक लोकतन्त्रलाई मजबुत बनाइनुपर्छ । पार्टीको नेतृत्व तय गर्ने प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाइनुपर्छ । दोस्रो, पदावधिको सीमा तोक्नुपर्छ, जसले नेतृत्वलाई समयमै हस्तान्तरण गर्न बाध्य बनाओस् । तेस्रो, युवालाई निर्णय तहमा पु¥याउने कोटा वा विशेष नीति ल्याइनुपर्छ । केवल भ्रातृ संगठनमा सीमित राखेर युवा नेताको विकास हुँदैन । चौथो, पुराना नेताहरूले अनुभवलाई साझा गर्दै मार्गदर्शकको भूमिकामा जान तयार हुनुपर्छ । सत्तासँग चिप्लिएको मनोवृत्तिले पुस्तान्तरण सम्भव छैन ।
नेतृत्व पुस्तान्तरण केवल दलको आन्तरिक प्रश्न होइन, यो मुलुकको समग्र भविष्यसँग जोडिएको विषय हो । बिडम्बना नै मान्नुपर्छ, पञ्चायती व्यवस्था होस् वा बहुदलीय व्यवस्था होस्, सत्ताको नजिक रहेका नेताहरु अझै पनि सत्ताकै नजिक छन् । व्यवस्था परिवर्तन भएपनि उनीहरु सत्ताबाट धेरै पर पुगेका छैनन् । अब तिनै नेताहरूबाट आशा गर्नु भन्दा उनीहरूले नयाँ पुस्तालाई खुला र स्वतन्त्र वातावरणमा नेतृत्व दिनुपर्छ । किनभने लोकतन्त्र टिकाउ बनाउने, समाजसँग राजनीति जोड्ने, र राज्यका संस्थालाई विश्वसनीय बनाउने बाटो पुस्तान्तरणबाटै सुरु हुन्छ ।
नेपालको राजनीतिक यात्राले धेरै मोड पार गरेको छ– पञ्चायती शासन, प्रजातन्त्र, गणतन्त्र, संघीयता । तर, नेतृत्वको अनुहारमा विविधता आउन सकेको छैन । गणतन्त्रको नाममा वंशवाद झनै संस्थागत हुन थालेको छ । यो विरोधाभासको अन्त्यका लागि अब नेतृत्वमा रूपान्तरण अपरिहार्य छ । जनताले आश गर्ने नयाँ पुस्ता तयार छ, तर ढोका खुलाउनुपर्ने जिम्मेवारी अझै पनि पुराना पुस्ताकै काँधमा छ । उनीहरूले त्यो जिम्मेवारी इमानदारीपूर्वक पुरा गर्न सके मात्र नेपालको राजनीति साँच्चिकै परिवर्तनको दिशामा अघि बढ्न सक्छ । यही नै समयको माग हो ।