२०८२ साउन २२ गते बिहिवार / Aug 07 , 2025 , Thursday
२०८२ साउन २२ गते बिहिवार
Ads

अर्थतन्त्रको विकासमा सेयर बजार

shivam cement
२०८२ साउन २२ गते ०६:०५
अर्थतन्त्रको विकासमा सेयर बजार

–जगतजंग जिसी

सेयर बजार कुनै मुलुकको आर्थिक जीवनशैलीको दर्पण हो भन्ने बुझाइ गलत होइन । कुनै पनि देशको समृद्धि र आर्थिक स्थायित्वको मापन गर्न खोज्दा त्यस देशको सेयर बजारको गति, सहभागिता र पारदर्शिताले धेरै कुरा खुलाउँछ । सेयर बजारले देशभित्र उत्पादन, सेवामूलक उद्योग, वित्तीय संस्थाहरू र लगानीकर्ताबीचको सम्बन्धलाई व्यवस्थित गर्दै आर्थिक सञ्जाल निर्माण गर्छ । आर्थिक विकास भन्नाले केवल सरकारी योजनाहरू, बजेट विनियोजन वा वैदेशिक लगानी मात्र होइन, निजी क्षेत्र, साना तथा ठुलो उद्यम, बैंक तथा वित्तीय संस्थाको पुँजीगत सुदृढीकरणमा सेयर बजारको महत्वपूर्ण योगदान हुन्छ ।

नेपालजस्तो विकासोन्मुख मुलुकमा सेयर बजार अझै प्रारम्भिक यात्रामै रहेको अनुभव हुन्छ । यद्यपि पछिल्ला केही वर्षमा आमनागरिकको चेतनास्तरमा भएको वृद्धिसँगै सेयर बजारप्रति आकर्षण बढ्दो छ । मानिसहरूले बैंकको बचत खातामा सीमित नबस्दै विभिन्न कम्पनीमा सेयर लगानी गरेर आम्दानीका विकल्प खोज्न थालेका छन् । यो प्रवृत्तिले पुँजी निर्माण, औद्योगिकीकरण, रोजगारी सिर्जना र वित्तीय सशक्तीकरणतर्फ आर्थिक गतिलाई अघि बढाउन मद्दत पुर्‍याउँछ । साथै, सेयर बजारले सरकारलाई पनि कर राजस्वमा वृद्धि, वित्तीय अनुशासनको विकास र पारदर्शिता कायम गर्न सहयोग पुर्‍याउँछ ।

सेयर बजार पुँजीको आदानप्रदान हुने माध्यम हो । यहाँ लगानीकर्ताले कम्पनीमा लगानी गर्छन् र त्यसबापत लाभांश प्राप्त गर्छन् । कुनै कम्पनीले नयाँ उद्योग खोल्न, उत्पादन बढाउन, सेवा विस्तार गर्न वा ऋण तिर्न सार्वजनिक रूपमा सेयर जारी गर्छ । जसबाट संस्थागत तथा व्यक्तिगत लगानीकर्ताले सेयर खरिद गर्छन् । जब एकपटक सार्वजनिक सेयर निष्कासन (आईपिओ) हुन्छ, त्यसपछि सेकेन्डरी बजारमा ती सेयर किनबेच हुने गर्छन् । यस प्रक्रियाभित्र लाखौंको संख्यामा आमनागरिक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुन्छन् । यही सहभागिताले एक अर्थमा अर्थतन्त्रमा जनसहभागिता सुनिश्चित गर्छ, जुन लोकतान्त्रिक अर्थतन्त्रको अभिन्न विशेषता हो ।

सेयर बजारले सानो पुँजी भएका व्यक्तिलाई पनि कुनै कम्पनीको मालिक बन्ने अवसर दिन्छ । यसले पुँजी सुदृढीकरणको प्रक्रिया मात्र नभई, स्वामित्वमा आमनागरिकको सहभागितालाई सम्भव बनाउँछ । यसको प्रत्यक्ष असर उद्यमशीलतामा देखिन्छ । कम्पनीहरूले बजारबाट सजिलै पुँजी जुटाएर उत्पादन वा सेवा विस्तार गर्न सक्छन् । यति मात्र नभई, सेयर बजारले लगानीको विकल्प बढाउँछ । बैंक ब्याजदरले मात्र सन्तोष नमान्ने, जोखिम लिन इच्छुक नागरिक सेयर खरिदमा लाग्न सक्छन् । यसले पुँजीको गतिशीलता बढाउँछ र समग्र अर्थतन्त्रमा सक्रियता ल्याउँछ ।

अर्को पक्ष भनेको पारदर्शिता हो । सेयर बजारले कम्पनीहरूलाई नियमित रूपमा वित्तीय विवरण सार्वजनिक गर्न बाध्य बनाउँछ । लगानीकर्ताले कुन कम्पनीमा लगानी गर्न लाभदायक छ भनेर तथ्य र सूचनाका आधारमा निर्णय लिन्छन् । यसले झुटो सूचना, कर छल, वित्तीय अनियमितता र भ्रष्ट आचरण नियन्त्रण गर्न ठुलोे भूमिका खेल्छ । कम्पनीहरूले लगानीकर्ता गुमाउन नपरोस् भनेर पारदर्शी र उत्तरदायी बन्नुपर्ने बाध्यता महसुस गर्छन् । त्यसैले सेयर बजार विकास हुनु भनेको आर्थिक प्रणालीलाई पारदर्शी, प्रतिस्पर्धी र उत्तरदायी बनाउनु हो ।

नेपालको सन्दर्भमा सेयर बजारले पछिल्लो समयमा केही उत्साहजनक संकेत दिएको छ । विभिन्न बैंक, बीमा कम्पनी, हाइड्रोपावर कम्पनी, लघुवित्त संस्था, उत्पादनमूलक र होल्डिङ कम्पनीहरूको सेयर जनताबीच लोकप्रिय भएको छ । धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र अन्य नियामक संस्थाहरूले बजारलाई व्यवस्थित गर्न विविध उपायहरू अपनाइरहेका छन् । यद्यपि, अझैसम्म पनि सशक्त प्राविधिक संरचना, लगानीकर्ताको वित्तीय शिक्षा, पारदर्शिता र संस्थागत लगानीकर्ताको सहभागिता अभाव देखिन्छ । 

नेपालमा सेयर बजारले खासगरी सहर केन्द्रित र मध्यम वर्गमाथि आधारित स्वरूप लिएको छ । ग्रामीण भेगका सर्वसाधारण नागरिक अझै पनि सेयर बजारको पहुँचमा पुग्न सकेका छैनन् । यसका पछाडि वित्तीय साक्षरता, पहुँचको अभाव र प्रविधिमैत्री संरचनाको कमी जिम्मेवार छन् । यदि डिजिटल पहुँचलाई व्यापक बनाउन सकियो भने गाउँका किसानदेखि मजदुरसम्मले पनि आफ्नो थोरै रकमलाई सेयर बजारमार्फत समृद्धिको यात्रामा लगानी गर्न सक्ने अवस्था बन्नेछ । यसले साना बचतकर्तालाई पनि पुँजी निर्माण प्रक्रियामा जोड्नेछ ।

सेयर बजार केवल लगानी र नाफा लिने माध्यम मात्र होइन, यसले अर्थतन्त्रमा स्थायित्व ल्याउने, आर्थिक परिसंचार बढाउने र वित्तीय अनुशासन कायम गर्ने दीर्घकालीन भूमिकासमेत निर्वाह गर्छ । उदाहरणका लागि, कुनै कम्पनीमा आम लगानीकर्ताको सहभागिता भएपछि सो कम्पनीले कुनैपनि निर्णय गर्दा त्यसको प्रभाव हजारौं नागरिकमा पर्छ । त्यसैले निर्णय प्रक्रियामा गम्भीरता, सार्वजनिक प्रतिबद्धता र उत्तरदायित्व बढ्छ । यसले दीर्घकालीनरूपमा राम्रो व्यवस्थापनलाई प्रोत्साहन गर्छ र कमजोर प्रवृत्तिलाई हटाउँछ ।

सेयर बजारले साना व्यवसायहरूलाई ठुलोे व्यवसायमा रूपान्तरण गर्ने पुलको काम गर्छ । कुनै नयाँ स्टार्टअपले जब प्रारम्भिक सफलता प्राप्त गर्छ, उसले बजारबाट पुँजी संकलन गरेर आफ्नो विस्तार गर्न सक्छ । यो प्रक्रिया बैंक ऋणभन्दा सरल र लचकदार हुन्छ । खासगरी इनोभेटिभ वा प्राविधिक स्टार्टअपहरूलाई पुँजी आवश्यक पर्दा सेयर बजार उपयोगी विकल्प हुनसक्छ । नेपालमा हालसम्म यस्तो प्रवृत्ति न्यून भए पनि भविष्यमा सम्भावना उच्च देखिन्छ । बजारमा उत्पन्न हुने उतारचढावले लगानीकर्तालाई जोखिम बहन गर्न सिकाउँछ । यसले सानोतिनो लाभमा बेचबिखन गर्नेभन्दा पनि दीर्घकालीन लगानीमा केन्द्रित सोच विकास गर्न मद्दत गर्छ । यस्तो सोचले पुँजी सुदृढीकरण, कम्पनीहरूको दीर्घकालीन योजना निर्माण र लगानीकर्ताको परिपक्वता बढाउँछ । आर्थिक स्थायित्वको लागि यस्ता मूल्यहरू अनिवार्य मानिन्छन् ।

सेयर बजार विकासको अर्को महत्वपूर्ण पाटो भनेको सरकारको नीतिगत स्पष्टता हो । सरकारको नीति स्थिर, पारदर्शी र लगानीमैत्री भएमा मात्र सेयर बजारमा विश्वास पैदा हुन्छ । कर प्रणाली, लाभांश वितरणमा हुने नीति, कम्पनी ऐन र वित्तीय नियमनमा हुने अनिश्चितता बजारको स्थायित्वमा प्रभाव पार्छ । त्यसैले सरकारले सेयर बजारलाई अर्थतन्त्रको एक अंगका रूपमा व्यवहार गर्दै यथोचित सुधारका कार्यक्रम सञ्चालन गर्नु जरुरी छ ।

सेयर बजार केवल एक वित्तीय माध्यम मात्र होइन, यो राष्ट्रको आर्थिक मेरुदण्ड हो । यसले पुँजी निर्माण, उद्यमशीलता प्रवर्धन, पारदर्शिता, जनसहभागिता र आर्थिक स्थायित्वमा योगदान पुर्‍याउँछ । नेपालजस्तो मुलुक, जहाँ बैंकिङ पहुँच सीमित छ, औद्योगिक विकास प्रारम्भिक चरणमा छ र वैदेशिक ऋणको भरमा विकासको सपना देखिन्छ, यस्तो अवस्थामा सेयर बजारले दीर्घकालीन आर्थिक स्वतन्त्रता हासिल गर्न मार्ग खोल्न सक्छ । त्यसैले अबको आवश्यक दिशा भनेको सेयर बजारलाई व्यापक, समावेशी, सुरक्षित र पारदर्शी बनाउँदै आर्थिक विकासको मेरुदण्डमा रूपान्तरण गर्नु हो । जनताको विश्वास, सरकारको नीति र कम्पनीहरूको उत्तरदायित्वले नै सेयर बजारको भविष्य निर्धारण गर्नेछ, जसले नेपालको समृद्धिको आधार तय गर्नेछ ।

(लेखक जिसी, साधारण लगानीकर्ता संघका अध्यक्ष हुन् ।)

ADV

सम्बन्धित खबर

Advertise