–खगेन्द्र पौडेल
पर्यटन नेपालको सम्भावना, पहिचान र प्रवर्धनको एउटा मूल आधार हो । हरेक राजनीतिक परिवर्तनपछिको सरकारको प्राथमिकतामा पर्यटन परेको पाइन्छ तर यसको स्थायी र दीर्घकालीन सोच, लगानी र कार्यान्वयन चाहिँ अझै अधुरो छ । देशका पहाड, हिमाल, नदी, संस्कृति, परम्परा र विविधताले भरिएको भूगोललाई हेर्ने हो भने नेपाल संसारकै उत्कृष्ट गन्तव्यमध्ये पर्छ । तर यसका लागि राज्यको दृढता, लगानी, योजना, पूर्वाधार विकास र स्थानीयसँगको सहकार्य जरुरी हुन्छ । आज यहीँ प्रश्न उठिरहेको छ—पर्यटनलाई पनि ध्यान दिने कि फेरि अरूजस्तै भाषणमै सीमित बनाउने ?
पर्यटन अर्थतन्त्रको एक आधार हो भन्ने कुरा तथ्यमै आधारित छ । देशले वैदेशिक मुद्रा आर्जन गर्ने, स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने, स्थानीय उत्पादन प्रवर्धन गर्ने, सांस्कृतिक आदानप्रदान बढाउने, स्वदेशी लगानीलाई प्रोत्साहन दिने, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउनेलगायत धेरै पक्षमा पर्यटनले भूमिका खेल्छ । त्यसैले पनि अबको विकास र समृद्धिको यात्रामा पर्यटनलाई उपेक्षा गर्ने छुट छैन । विगतमा कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्र बिस्तारै उठ्दै छ तर अझै त्यो उचाइमा पुगेको छैन जुन नेपालको क्षमता अनुसार सम्भव हुन्थ्यो ।
नेपाललाई ‘ओन्स इज नट इनअफ’ भन्ने नारा दिनुमा पनि गहिरो कारण छ । यहाँ एक पटक आउने पर्यटकले फेरि आउने इच्छा राख्ने गर्छन् । सगरमाथा आरोहणदेखि पदयात्रा, धार्मिक तीर्थदेखि सांस्कृतिक अवलोकन, साहसिक खेलदेखि ग्रामीण पर्यटनसम्मका विविध क्षेत्र छन् । तर आज पनि देशका पर्यटकीय क्षेत्रहरू जोड्ने सडक अधुरा छन्, हवाई सेवा अस्थिर छ, ढुवानी महँगो छ, प्रवर्धन प्रभावकारी छैन अनि सबैभन्दा ठुलो कुरा—राज्यको ध्यान अर्कैतिर केन्द्रित छ ।
नेपालको पर्यटनको मूल केन्द्र काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, सगरमाथा, अन्नपूर्ण, मुस्ताङ, रारा, इलामलगायतका गन्तव्य हुन् । यिनलाई मात्र केन्द्रमा राखेर पर्यटक भित्र्याउने सोच विगतमा देखिएको थियो । तर नेपालका थुप्रै गुमनाम ठाउँहरू, जहाँ प्राकृतिक र सांस्कृतिक सम्पदा भरपूर छन्, राज्यको योजनाबाट बाहिरै छन् । अहिले पर्यटन विस्तारको आवश्यकता छ– केन्द्रभन्दा पर, ग्रामीणतर्फ । गाउँगाउँमा होमस्टेहरू विस्तार भइरहेका छन् तर तिनको गुणस्तर सेवा र नेटवर्किङ अझै कमजोर छ ।
अर्को समस्या, नेपालले पर्यटकीय सम्भावनालाई व्यापारिक दृष्टिले मात्र हेर्दै आएको छ । पर्यटक भनेको पैसा ल्याउने माध्यम मात्र होइनन्, ती सांस्कृतिक कूटनीतिका दूत पनि हुन् । त्यसैले पर्यटकसँगको व्यवहार, सेवा, जानकारी र सरसफाइमा सुधार आवश्यक छ । देशका विमानस्थलहरू, बोर्डर नाकाहरू, होटेल सेवा, ट्रेकिङ मार्गहरूमा सहजता, सुरक्षा र सत्कार बढाउनु जरुरी छ । नेपाल आउने पर्यटकले यहाँको प्राकृतिक सुन्दरता मात्र होइन, मानवीय आत्मीयता पनि खोज्छन् ।
अहिलेको प्रविधिमैत्री युगमा डिजिटल प्रवर्धनको महत्व झनै बढेको छ । तर नेपाल पर्यटन बोर्डजस्ता संस्थाहरू अझै पनि पारम्परिक ढर्रामा छन् । युट्युब, इन्स्टाग्राम, टिकटोकजस्ता माध्यमहरूमा ‘ट्राभल इन्फ्लुएन्सर’हरूलाई सहयोग गर्न सकिन्छ, ब्रान्डिङमा निजी क्षेत्रसँग सहकार्य गर्न सकिन्छ, अनि स्थानीयलाई पर्यटनमार्फत आत्मनिर्भर बनाउने कार्यक्रम विस्तार गर्न सकिन्छ । पर्यटन शिक्षामा पनि सुधार गरी जनशक्ति उत्पादनमा जोड दिनुपर्छ ।
नेपालको पछिल्लो अवस्थाले देखाएको छ, कि कृषिपछि पर्यटन नै त्यो क्षेत्र हो जसले दिगो आर्थिक विकास गर्न सक्छ । तर राजनीतिक नेतृत्वको प्राथमिकता अझै अन्य क्षेत्रमा सीमित छ । शिक्षा, स्वास्थ्य, ऊर्जा जस्ता क्षेत्रले पनि प्रत्यक्ष–परोक्ष पर्यटनसँग सम्बन्ध राख्छन् । सडक, विमानस्थल, सञ्चार, इन्फ्रास्ट्रक्चर, कानुनी सुरक्षाको सुधार नगरी पर्यटकलाई आकर्षित गर्न सकिन्न । स्थानीय सरकारले समेत पर्यटकीय गन्तव्यहरू पहिचान गरी प्रवर्धन गर्ने नीति लिइसकेका छन् तर तिनमा प्राविधिक जनशक्ति, बजेट, दीर्घकालीन सोचको अभाव छ । हो, केही ठाउँमा सामुदायिक लगानीमा उल्लेखनीय काम भएका छन्—गण्डकी र सुदूरपश्चिमका केही स्थानमा । तर यस्ता उदाहरणहरू अपवादकै रूपमा छन् ।
अब यत्ति हो, पर्यटनलाई पनि अब ‘ध्यान दिनुपर्ने’ अवस्था पार भइसकेको छ । अब त ‘प्राथमिक ध्यान केन्द्रित गर्नुपर्ने’ बेला भएको छ । अझ ढिला गरे हामीसँग भएका स्रोत, सम्भावना, सम्पदा र पहिचान नै बिर्सिनेछौँ । र, भविष्यका पुस्ताले प्रश्न गर्नेछन्— किन ध्यान दिइएन ? आजको जवाफ यही हो— पर्यटन अब भाषणको विषय होइन, कार्यान्वयनको मुद्दा हो । पर्यटन विकास भनेको मुलुक समृद्ध बनाउने यात्राको एउटा बाटो हो— सस्तो र सुलभ बाटो । त्यसैले ध्यान दिने मात्र होइन, त्यसलाई राष्ट्रिय ऐक्यबद्धताकै विषय बनाउनुपर्ने बेला भइसकेको छ ।