झापा : यहाँको कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले ‘सरहे कार्यक्रम’ सुरु गरेको छ । चालु आर्थिक वर्ष देखि सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
मृत्यु संस्कार मानव जीवनको सबैभन्दा पीडामा गरिने संस्कार भएकाले सरहे कार्यक्रम सुरु गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए। “नगरपालिका नगरवासीको अभिभावक संस्था हो”, नगरप्रमुख पोखरेलले भन्नुभयो, “परम्परादेखि चलिआएको सरहे प्रथालाई मृत्यु संस्कारमा गरिनुपर्ने कर्मका निमित्त सहज बनाउने उद्देश्यले यो कार्यक्रम सुरु गरेका हौँ ।”
दुःख र पीडा परेका बेलामा परिवारसँग प्रत्यक्ष भेटेर समवेदना तथा सरहे उपलब्ध गराउँदा दुःखमा थोरै भए पनि सहानुभूति हुने नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले विश्वास व्यक्त गरे । कार्यक्रमअन्तर्गत समवेदनपत्रसहित नगद रु पाँच हजार आर्थिक सहयोग प्रदान गरिने उनले जानकारी दिए।
नगरपालिकाको यही साउन ११ गते बसेको कार्यपालिका बैठकले ‘मृत्यु संस्कार व्यवस्थापन कार्यविधि–२०८२’ स्वीकृत गरेको थियो ।
त्यसैगरी नगरपालिकाले निर्माण गर्न लागेको कृषि विकास तथा प्रवर्द्धन अनुदानसम्बन्धी कानुनको मस्यौदा–२०८२, कृषि र पशुपंक्षी तथा मत्स्य विकासका कार्यक्रम सञ्चालनसम्बन्धी कानुनको मस्यौदा–२०८२, कृषि अनुदानसम्बन्धी कानुनको मस्यौदा–२०८२, सुरक्षित आप्रवासन आपत्कालीन कोष व्यवस्थापनसम्बन्धी कानुनको मस्यौदा–२०८२ र सुरक्षित आप्रवासन एवं जीविकोपार्जन उत्थानसम्बन्धी कानुनको मस्यौदा–२०८२ लाई छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।