–चन्द्रबहादुर बस्याल
शिक्षा कुनै पनि समाज, राष्ट्र वा मानव सभ्यताको मेरुदण्ड हो । शिक्षा नै समृद्धिको पूर्वाधार हो, विकासको सम्भावना हो र राष्ट्रनिर्माणको आधार पनि । तर, आज हामी यस्तो मोडमा उभिएका छौं, जहाँ शिक्षाको अर्थ, उद्देश्य, गुणस्तर र उपलब्धता सबै प्रश्नमा छन् । सस्तो प्रमाणपत्रधारी उत्पादन गर्ने कारखानाजस्तो बनेका शिक्षालयहरूले अब मानिसलाई भविष्य निर्माण होइन, निराशा बाँड्न थालेका छन् । जब शिक्षाबाट रोजगारी टाढा रहन्छ, जब शिक्षाले दक्षता दिन सक्दैन, जब शिक्षाले मान्छेलाई आत्मनिर्भर बनाउने सट्टा परनिर्भर बनाउँछ, त्यही बेला त्यहाँबाट पलायनको ढोका खुल्छ । यही स्थितिमा छ, आजको हाम्रो शिक्षा प्रणाली ।
नेपालजस्तो देशमा शिक्षा एउटा यस्तो साधन हुनुपर्ने हो, जसले आफ्ना नागरिकहरूलाई आफ्नै देशमा काम गर्न सक्ने, सोच्न सक्ने र सिर्जना गर्न सक्ने बनाओस् । तर, हाम्रो शिक्षाको अवस्था उल्टो छ । कक्षा १०, १२, स्नातक वा स्नातकोत्तरसम्म पुगिसकेका युवाहरू पनि बेरोजगार छन् । उनीहरू काम खोजिरहेका छन्, अवसर खोजिरहेका छन् तर शिक्षाले दिएको क्षमता उनीहरूलाई प्रतिस्पर्धामा उभिनै दिन सक्दैन । उनीहरूले पढेका विषय व्यवहारमा काम लाग्दैनन् । सोच्ने क्षमताको विकास हुँदैन, केवल किताबी ज्ञान र परीक्षामै केन्द्रित प्रणालीले उत्पादन गरेका युवाहरू न त आत्मनिर्भर छन्, न त राष्ट्र निर्भर । त्यसैले उनीहरू विदेश जान्छन्, जहाँ कुनै प्रमाणपत्रको आधारमा होइन, शारीरिक श्रममा आधारित अवसर खोज्छन् । शिक्षा र श्रमबिचको यो दूरीले हाम्रो शिक्षालाई नै गम्भीर प्रश्नको घेरामा ल्याइदिएको छ ।
पछिल्ला केही वर्षमा वैदेशिक रोजगारीको आँकडाले दिएको संकेत के हो भने हामी शिक्षाबाट बाँचेका छैनौं, भागेका छौं । गाउँ–गाउँका विद्यालयहरू युवा शून्य हुँदै गएका छन् । विश्वविद्यालयहरूमा पढ्नेलाई कक्षा पुग्नेभन्दा परीक्षा फाराम भर्ने चासो हुन्छ । हजारौंको संख्यामा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरू विदेशको भाषा परीक्षा पास गर्न कलेज जान्छन् । किनभने उनीहरूलाई थाहा छ, यहाँ पढेर केही हुँदैन । जब शिक्षा स्वयं युवालाई विश्वास दिलाउन सक्दैन कि ‘तँ पढ्, देशमै केही गर्न सकिन्छ,’ तब त्यो शिक्षा संकटग्रस्त हुन्छ । यो संकट अब केवल शिक्षाको छैन, राष्ट्रको हो ।
आजको शिक्षा कुन दिशातर्फ गइरहेको छ भनेर हेर्दा यस्तो लाग्छ, हामी केवल पाठ्यपुस्तक पढ्न, परीक्षा दिन र प्रमाणपत्र लिन मात्र शिक्षालय जान्छौं । त्यहाँ जीवनका समस्यासँग जुध्न सिकाइँदैन, न त सिप विकास गरिन्छ । व्यावसायिक शिक्षा सीमित वर्गको पहुँचमा मात्र छ । गाउँका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीले न कम्प्युटर सिक्न पाउँछन्, न त प्रविधिको प्रयोगमैत्री वातावरण । जब विद्यार्थीलाई सिर्जनशील बनाउनुको साटो रट्ने संस्कार दिइन्छ, तब त्यो शिक्षा केवल औपचारिकता मात्र बन्छ । नेपालमा शिक्षा अझै पनि अधिकतम संख्यामा ‘नोकरी खोज्ने माध्यम’का रूपमा हेरिन्छ । जब त्यही माध्यमबाट नोकरी पाइँदैन, तब विदेशतिर भाग्ने लहर देखिन्छ । यही लहरले अहिले पलायनको रूप लिएको छ ।
पलायन केवल रोजगारीका लागि भइरहेको छैन, आत्मसम्मानका लागि पनि भइरहेको छ । जब कुनै व्यक्ति देशमै सस्तो श्रमिकका रूपमा अपहेलित हुन्छ तर विदेशमा उही श्रमको केही मूल्य पाउँछ, तब ऊ विदेश जान्छ । त्यहाँ ऊ गाह्रो काम गर्छ, थकित हुन्छ तर जीवनलाई अर्थ दिन्छ । यहाँको शिक्षा प्रणालीले उसलाई त्यो आत्मसम्मान दिन सकेको छैन । हाम्रो शिक्षा त्यस्तो हुनुपथ्र्यो, जसले युवालाई केवल डिग्री दिने मात्र होइन, सोच्ने, विश्लेषण गर्ने र नेतृत्व गर्न सक्ने बनाओस् । शिक्षा भनेको किताब मात्र होइन, व्यवहार पनि हो । तर व्यावहारिक पक्षको शिक्षा आज हाम्रा पाठ्यक्रममा छैन ।
शिक्षा अहिलेको जस्तो बाँकी रहिरहने कुरा होइन, यो वर्तमानसँग पनि सँगै हिँड्न सक्नुपर्छ । आजका बालबालिकाले २० वर्षपछि कस्तो संसारमा बाँच्नुपर्नेछ भन्ने अनुमान गरेर शिक्षा दिनुपर्छ । प्रविधि, कृत्रिम बुद्धिमत्ता, डाटा साइन्स, जलवायु परिवर्तन, उद्यमशीलता, अन्तर सांस्कृतिक व्यवहार— यी विषयहरू अबका विद्यार्थीका लागि आधारभूत हुनुपर्छ । तर, हामी अझै पनि ३० वर्ष पुराना पाठ्यपुस्तकहरू पढाउँदै छौं । शैक्षिक सुधारको बहस नीतिगत तहमा मात्रै सीमित छ, कार्यान्वयनका तहमा उस्तै निष्क्रियता छ । परिणामतः शिक्षा एक यस्तो संस्था बनेको छ, जसले प्रमाणपत्र त दिन्छ, तर भविष्यको ग्यारेन्टी दिन सक्दैन ।
शिक्षाको उद्देश्य केवल ‘जान्न’ होइन, ‘बुझ्न’ पनि हो । तर बुझाइभन्दा रटाइलाई मूल्यांकन गर्ने प्रणाली अहिले पनि परिवर्तन भएको छैन । अझै पनि प्राविधिक शिक्षालाई दोस्रो दर्जामा राखिन्छ । अझै पनि उद्यम र स्वरोजगारका कुरा गर्दा तिनीहरूलाई हेपिन्छ । नेपालमा सिपमूलक शिक्षा प्राप्त गरेका युवा स्वरोजगार हुन सक्थे, तर समाजले नै स्वरोजगारलाई अपहेलित बनाइदियो । विद्यार्थीहरू सरकारी जागिरको सपनामा डिग्रीको लाइनमा लागिरहे तर सरकारले तिनको भविष्यका लागि अवसर सिर्जना गर्न सकेन । यहाँ रोजगारी सिर्जनाभन्दा पनि बेरोजगारीको तथ्याङ्क लुकाउन तल्लीनता छ । जब शिक्षाले कर्म दिने ठाउँ पाउँदैन, तब त्यो शिक्षा स्वाभाविक रूपमा पलायनतर्फ मोडिन्छ ।
अब शिक्षा कस्तो हुनुपर्छ ? अबको शिक्षा परिवर्तनमुखी हुनुपर्छ । अबका पाठ्यक्रम केवल सैद्धान्तिक होइन, व्यावहारिक हुनुपर्छ । सिपमा आधारित शिक्षा अनिवार्य गरिनुपर्छ । प्राविधिक र व्यावसायिक शिक्षामा लगानी बढाउनुपर्छ । विद्यालयहरूले कृषि, सूचना प्रविधि, वातावरण, उद्यम, नेतृत्वजस्ता विषयहरू कक्षा ८ देखि नै सिकाउन थाल्नुपर्छ । गाउँका विद्यालयमा पनि कम्प्युटर, इन्टरनेट, प्रविधि र प्रयोगशालाको पहुँच सुनिश्चित गर्नुपर्छ । शिक्षालयहरू केवल रटाउने केन्द्र होइन, प्रयोग गर्ने प्रयोगशाला बनिनुपर्छ । शिक्षक प्रशिक्षणले प्रविधिमैत्री, बालमैत्री र नवीनतम विधिमा आधारित बन्नुपर्छ । विद्यार्थीहरूलाई पाठ्यक्रमभन्दा बाहिरको ज्ञानमा पनि प्रेरणा दिनुपर्छ । यस्ता शिक्षा मात्रले सम्भावना बोकेको राष्ट्र निर्माण गर्न सक्छ ।
शिक्षा अब पुस्तकमै सीमित रहने विषय होइन, यो डिजिटल प्लेटफर्म, कृत्रिम बुद्धिमत्ता, अनलाइन पाठ्यक्रम, उद्यमशील परियोजना र अन्तर्राष्ट्रिय सहकार्यमा आधारित हुनु आवश्यक छ । अब विद्यार्थीको सोच सीमित कक्षाभित्र होइन, विश्वव्यापी हुनुपर्छ । नेपालभित्रै बसेर संसारसँग जुद्ध सक्ने शिक्षा प्रणाली बनाउनु अबको आवश्यकता हो । यो सम्भव छ, यदि हामीले शिक्षा सुधारलाई केवल ‘शब्द’ होइन, ‘क्रिया’मा रूपान्तरण गर्न सक्यौं भने ।
यसो गर्दा मात्रै पलायन रोक्न सकिन्छ । जब युवा आफ्नो देशमा आफ्ना सपना पूरा गर्न सक्ने अवस्था देख्दैन, तब ऊ किन विदेश जान चाहन्छ । जब शिक्षाले दक्षता दिन्छ, तब राष्ट्रलाई समर्पण गर्न मन लाग्छ । शिक्षा परिवर्तनको मूल आधार आत्मनिर्भरता हो । आत्मनिर्भर शिक्षा भनेको केवल रोजगारी होइन, सोच, दृष्टिकोण र देश प्रेम पनि हो । शिक्षा त्यो हुनुपर्छ, जसले विद्यार्थीलाई देशमै केही गर्न सकिन्छ भन्ने भरोसा देओस् । नत्र, पढेलेखेका, दक्ष, ऊर्जावान् युवा पलायन भइरहनेछन् अनि देशमा भविष्य शून्य भइरहनेछ ।
शिक्षा सुधारको खाँचो अहिले सबैभन्दा बढी छ । हामीले शिक्षा प्रणालीलाई समयसापेक्ष बनाउन सकेनौ भने हाम्रा शिक्षालय ‘विदेश जान सक्ने जनशक्ति उत्पादन केन्द्र’ मात्र बन्नेछन् । विश्वविद्यालयका डिग्रीहरूले देश बनाउने होइन, विदेश पठाउने साधन बन्नेछन् । त्यसैले अबको शिक्षा त्यो हुनुपर्छ— जसले देश छोड्ने होइन, देश बनाउने सपना देखाओस् । जब शिक्षा आफ्नो देशप्रतिको प्रेम र सिर्जनात्मक सोचमा आधारित हुन्छ, तब मात्र राष्ट्रको उज्यालो सम्भव छ । अन्यथा, शिक्षा नामक यो लामो यात्रा केवल प्रमाणपत्र बटुल्ने कर्मकाण्डमा सीमित हुनेछ, जसको अन्तिम गन्तव्य हुनेछ– विदेश र पलायन ।