डडेल्धुरा : जंगली जनावरको बढ्दो आतंकले डडेल्धुरा जिल्लाका किसानहरू हैरान भएका छन् । बँदेल, बाँदर र मृगजस्ता वन्यजन्तुहरू खेतबारीमा लगाइएका अन्नबाली तथा तरकारीमा क्षति पुर्याउन थालेपछि कृषकहरू चिन्तित भएका हुन् । सात पालिकामा विभाजित डडेल्धुरा जिल्लामा यस्ता जनावरको नियन्त्रणका लागि कुनै योजना नबनिएको किसानहरूको गुनासो छ ।
हाल जिल्लाका विभिन्न गाउँमा मकै र दलहन बाली लगाइएको छ । तर, दिउँसो बाँदर र राति बँदेल तथा मृगले ती बाली सखाप पार्ने गरेका छन् । भागेश्वर गाउँपालिका–४ का कृषक अशोक भट्टका अनुसार, जनावरको अत्याचारले वर्षेनी बाली नष्ट हुने गरेको छ । तर, स्थानिय सरकारको तर्फबाट नियन्त्रणका लागि कुनै ठोस पहल नभएको उनी बताउँछन् ।
खेतीप्रति घट्दो आकर्षण, बाँझो जमिनमा रूपान्तरण
करिब दुई दशक अघिसम्म भागेश्वर गाउँपालिका–४ डंगरीमा उत्पादन हुने तरकारी र भटमास डडेल्धुरासहित छिमेकी भारतसम्मको बजारमा चर्चित थिए । तर अहिले त्यहाँका किसानले यस्ता बाली न्यून मात्रामा मात्र लगाउने गरेका छन् । किसान मदन मालीका अनुसार, वन्यजन्तुको डरका कारण अधिकांशले तरकारी र दलहन खेती घरनजिक मात्र सीमित गरेका छन् ।
कृषक राज भट्ट भन्छन्, ‘जनावरको आतंकले खेती गर्नै मुस्किल भएपछि भारत जान बाध्य भएका छौं ।’ जंगली जनावरको नियन्त्रण नहुँदा गाउँका धेरै जमीनहरू बाँझो रहन थालेका छन् । खेतीयोग्य जमीन प्रयोगमा नआउँदा आत्मनिर्भरता घट्दै गएको स्थानीयको चिन्ता छ ।
तीन वर्षमा एकको मृत्यु, पाँच घाइते
डडेल्धुरामा जंगली जनावर, विशेषतः बदेलको आक्रमण दिनानुदिन बढ्दो क्रममा छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, २०७९ फागुन २१ गते अमरगढी नगरपालिका–३ का ५२ वर्षीय गणेश पल्लेको बदेलको आक्रमणबाट मृत्यु भएको थियो । पछिल्ला तीन वर्षमा बदेलको आक्रमणबाट पाँच जना घाइते भएका छन् । केवल बाली नष्ट मात्र होइन, ज्यान समेत जोखिममा पर्न थालेको स्थितिले चिन्ता बढाएको छ ।
सात पालिकामा नियन्त्रण योजना नै छैन
डडेल्धुरा जिल्लाका सातवटै स्थानीय तहमा जंगली जनावरको नियन्त्रणका लागि हालसम्म कुनै नीति वा योजना बनेको पाइँदैन । किसानको प्रमुख समस्याका रूपमा रहेको यो विषयप्रति सरकारी चासो न्यून रहेको देखिन्छ । यसको असरस्वरूप पहाडी क्षेत्रबाट बसाइँसराइ दर बढ्दो क्रममा रहेको तथा धेरै कृषक मजदुरीका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको छ ।